८ वैशाख २०८१ शनिबार
समाज

रञ्जना लिपि जगेर्ना गर्न कार्यशाला

रञ्जना लिपिमा लेखिएका नाम देखाउँदै कार्यशालाका सहभागीहरु। तस्बिर : नागरिक

भक्तपुर – भक्तपुरको मध्यपुर थिमिबासीले शनिबार नेवारी भाषाको लिपि लेख्न सिेका पाएका छन् । नेपाल लिपि गुथी थिमि शाखा भक्तपुरले मध्यपुर थिमि नगरपालिका ४ बालकुमारीमा गरेको एक दिने रञ्जना लिपि कार्यशाला तथा क्यालिग्राफीमा स्थानीयले रञ्जना लिपि सिक्ने अवसर पाएका हुन्।

नेपाल भाषामा रञ्जना र प्रचलित गरी गरी दुई लिपि छन् । आयोजक नेपाल लिपि गुथी थिमिका सचिव प्रदीप श्रेष्ठले नेपाल लिपि गुठी केन्द्रिय समितिको सहयोगमा लिपि प्रशिक्षण दिइएको जनाए । ‘एकदिने प्रशिक्षणबाट कमसेकम आफनो नाम लेख्न सिकेका छन्,’ श्रेष्ठले नागरिकसँग भने, ‘रञ्जना लिपिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेका हौं ।’ श्रेष्ठका अनुसार कार्यक्रममा सयभन्दा बढी मध्यपुर थिमिबासीले आफनो नाम लेख्न सिकेका छन् । सहभागीहरुलाई सुनिता डंगोल र आनन्द महर्जनले लिपि प्रशिक्षण दिएका थिए।

रञ्जना लिपिमा आफ्नो नाम लेख्न सकेकामा स्थानीय प्रविण जोशीले खुशी व्यक्त गरे । ‘कम्तीमा आफूले बोल्ने भाषाकै लिपिमा नाम त लेख्न जानियो,’ उनले भने । अर्का सहभागी मेलिना भाषिमाले लिपि कार्यशालामा सहभागी भएर आफनै भाषामा आफनै नाम लेख्न अवसर पाउनुलाई सांस्कृति जगेर्नाको एक अंश मानिन्।

कार्यशालामा इच्छुकहरुलाई रञ्जना लिपिका वर्णमाला पुस्तक पनि उपलब्ध गराइएको थियो । नेपाल लिपि गुठी केन्द्रिय समितिका अध्यक्ष निरञ्जन ताम्राकारका अनुसार यस्ता कार्यक्रम यसअघि काठमाडौंको विभिन्न स्थानमा सम्पन्न भएका थिए । मध्यपुर थिमिमा गरिएका यो चौथौ कार्यशाला भएको उनले बताए । आगामी दिनमा काभ्रेको बनेपा, ललितपुरको मंगलबजार र काठमाडौंको जनबहाल र बौद्धमा पनि गरिने उनले जनाए।

प्रत्येक दुई हप्तामा यस्तो कार्यक्रम हुँदै आएको उनले बताए । समितिले एकमहिने रञ्जना लिपि पनि सिकाउँंदै आएको छ । हाल मध्यपुर थिमि र काठमाडौंको ज्याठामा लिपि प्रशिक्षण जारी छ । निकट भविष्यमा काभ्रेको बनेपा, भक्तपुर र ललितपुरमा पनि लिपि कक्षा चलाइले योजना रहेको ताम्राकारले बताए । संयुक्त राष्ट्रसंघमा नेपालको आधिकारिक लिपिको रूपमा दर्ता भएको लिपिको संरक्षणका लागि रञ्जना लिपिको जर्गेना गर्न कार्यशाला गरिएको जनाइएको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ००:३८ आइतबार

रञ्जना लिपि जगेर्ना गर्न कार्यशाला