६ वैशाख २०८१ बिहीबार
खेल

वेंगर दुबिधामा

लन्डन – आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले विश्वकपअघि नै आफ्नो आगामी गन्तव्यका बारेमा निर्णय लिने बताएका छन्।

यसै सिजनको अन्त्यसँगै आर्सनलसँगको २२ वर्षे बसाइ टुङ्ग्याएका वेंगरले रूसमा जुन १४ बाट हुने विश्वकप फुटबल हुनुपूर्व नै गन्तव्यबारे निर्णय लिने बताएका हुन्।

‘छिट्टै कुनै क्लबसँग आबद्ध हुनेछुु,’ वेंगरले भने, ‘विश्वकप फुटबल सुरु हुनुपूर्व निर्णय लिने समय छ । प्रशिक्षक वा अन्य कुनै जिम्मेवारी लिने वा नलिने भन्दा पनि म कामलाई निरन्तरता दिने सोचमा छु ।’ यद्यपि आगामी गन्तव्य उमेरका कारण पनि दुबिधामा रहेको बताएका छन्।

२२ वर्षको आर्सनल बसाइमा वेंगरले आर्सनललाई तीन पटक इङ्लिस प्रिमियर लिगकोे उपाधि जिताएका छन् । तीन पटक इङ्लिस प्रिमियर लिगको उपाधि जित्दा वेंगरको टोलीले २००३–४ को सिजन अपराजित रहँदै लिगको अन्त्य गरेको थियो । साथै, वेंगरको टोली आर्सनलले सात पटक एफए कपको उपाधि उचाल्न सफल भएको छ।

‘मैले मेरो जीवनको स्वर्ण काल फुटबल र फुटबल प्रशिक्षणमा बिताएँ,’ वेंगरले भने, ‘आर्सनल प्रशिक्षणबाट बाहिरिन लागे पनि फुटबल गतिविधिबाट बाहिर आउन सक्दिनँ । यसको मतलब म प्रशिक्षक नै बन्छु भन्ने पनि कुनै निश्चित छैन । फुटबल गतिविधिसँग नै आबद्ध हुनेछु।’

यसै सिजन क्लबबाट बिदाइ भएका वेंगरले पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने चर्चा चलिरहँदा उनको भूमिकाबारे भने कुनै छलफल नभएको बताए । ‘पिएसजीमा लगानी गरेको मेरो मिल्ने साथी छ । उसले प्रस्ताव गरेको छ । तर मेरो भूमिकाबारे केही छलफल भएको छैन,’ वेंगरले थपे, ‘राम्रो गर्नु छ, त्यसका लागि चुनौतीपूर्ण जिम्मेवारी मेरा लागि आवश्यक छ।

धेरै वर्ष फुटबलमा बिताएँ । फुटबल मेरो नशा नै बनिसकेको छ । त्यसैले फुटबलबिनाको अर्को काम मैले कल्पना पनि गर्न सक्दिनँ।’

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App