६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

राजधानी हभानानजिकै दुर्घटनामा परेको बोइङ ७३७ विमानको भग्नावशेष। तस्बिर : बिबिसी

हभाना – क्युबाको राजधानी हभानास्थित मुख्य विमानस्थल नजिकै भएको बोइङ ७३७ विमान दुर्घटनामा परी सयभन्दा बढीको मृत्यु भएको छ।

क्युबामा दशकौंपछि भएको ठूलो हवाई दुर्घटनामा परेकामध्ये तीन महिलालाई जिउँदै उद्धार गरिए पनि उनीहरुको अवस्था भने अत्यन्तै चिन्ताजनक रहेको बिबिसीले उल्लेख गरेको छ । लगभग ४० वर्ष पुरानो उक्त विमानले चालक दलका छ सदस्य र एक सय चार जना यात्रु बोकेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन क्युबाली प्रशासनले अनुसन्धान सुरु गरेको छ र देशमा दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

देशको राजधानी हभानाबाट पूर्वी क्षेत्र हल्गुइनतर्फ आन्तरिक उडान भरेको केही मिनेटमै बोइङ ७३७–२०१ विमान स्थानीय समयअनुसार शुक्रबार १२ बजेर आठ मिनेटमा दुर्घटनामा परेको बिबिसीले उल्लेख गरेको छ।

विमानमा रहेका सबै छ जना चालक दलका सदस्य मेक्सिकोका नागरिक भएको बताइएको छ । त्यसैगरी विमानमा यात्रा गरिरहेका यात्रुमा भने अधिकांश क्युबाली नागरिक रहेको र हालसम्म पाँच जना विदेशी पनि रहेको विवरण पत्ता लागेको बिबिसीले उल्लेख गरेको छ।

‘दुर्भाग्यपूर्ण विमान ददुर्घटना भएको छ । समाचार दुखद् छ र हताहती हुनेको संख्या सयभन्दा बढी छ,’ विमान दुर्घटना भएको क्षेत्रको भ्रमणपछि क्युबाली राष्ट्रपति मिगल ड्यिाज–कनेलले बताए।

विमान दुर्घटनाको वास्तविक कारण भने अझै बाहिरिएको छैन र क्युबाली सरकारले अनुसन्धान थालेको जानकारी गराए पनि प्रत्यक्षदर्शीका अनुसार हभाना मुख्य विमानस्थल नजिकै रहेको जंगलमा दुर्घटना हुनुभन्दा अघि विमानमा आगो लागेको थियो।

‘मैले विमान खसिरहेको देखें,’ सुपरमार्केटका कामदार जोस लुइसलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘त्यत्तिकैमा विमानले आफ्नो दिशा परिवर्तन ग¥यो र भुइँतर्फ गयो । हामी सबै चकित भयौं,’ उनले बताए । ‘हामीले विस्फोटनको ठूलो आवाज सुन्यौं र त्यसपछि धुवाँको ठूलो बादल लागेको देख्यौं,’ विमान दुर्घटनास्थल नजिकै रेस्टुरेन्ट सञ्चालन गरिरहेका गिल्बेर्टो मेनेन्डेजलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘विमान उड्ने बेलामा नै समस्या देखिएका कारण जमीनमा धस्सिएको थियो,’ मेक्सिकोको यातायात विभागले आफ्नो वेबसाइटमा जनाएको छ । दुर्घटनामा परेको बोइङ कम्पनीले आवश्यक परे क्युबामा प्राविधिक टिम पठाउन तयार रहेको बताएको छ । अमेरिकी कानुन र अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड र क्युबाली प्रशासनले स्वीकृति दिएमा प्राविधिक सहयोगका लागि टिम पठाउन तयार रहेको बोइङले जनाएको छ । अमेरिकाले क्युबालाई कैयौं दशकदेखि व्यापार प्रतिबन्ध लगाइरहेको छ।

‘विमान दुर्घटना भएलगत्तै पुगेको उद्धार टोलीले विमानभित्र रहेका चार जनालाई जिवितै उद्धार गरेको भए पनि अस्पताल लाँदै गर्दा एक जनाको मृत्यु भएको थियो,’ हभानास्थित कालिक्स्टो गारिरिया अस्पतालका निर्देशक कार्लोस अबलेर्टो मार्टिनेजलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । बाँचका तीनै जना महिला भएको क्युबेली कम्युनिस्ट पार्टीको पत्रिका ‘ग्रानामा’ले जनाएको छ । बाँचेका महिलामध्ये एक जना १८ देखि २५ वर्ष उमेर समूहकी भएको, एक जना ३० वर्षजत्तिको र अर्की महिलाको उमेर ३९ वर्ष रहेको उक्त पत्रिकालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App