coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लाङटाङ म्याराथनको उपाधि सेनालाई

काठमाडौं – लाङटाङलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले हात परेको छ । म्याराथनमा आर्मी क्लबका खगेन्द्र भाट पहिलो, भरत खत्री दोस्रो र सुवास कार्की तेस्रो भए।

भाटले क्याङजिङ गुम्बादेखि स्याफ्रुबेसीसम्म (४२.१९ किलोमिटर) तीन घन्टा ४९ मिनेट २७ सकेन्ड पार गरेका थिए । दोस्रो हुने खत्रीले चार घन्टा ७ मिनेट १८ सेकेन्डमा र तेस्रो कार्कीले चार घन्टा ७ मिनेट २८ सकेन्डमा उक्त दुरी पार गरेको आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले जनाएको छ।

महिलातर्फ निरकला कुलुङ राईले चार घन्टा ५७ मिनेट १३ सेकेन्डमा उक्त दुरी पार गरी पहिलो भइन् । पूर्णमाया राईले पाँच घन्टा २७ मिनेट १९ सेकेन्डमा सो दुरी पार गरिन् । महिलातर्फ सरिता वंशी तेस्रो भइन्।

शनिबार विहान क्याङजिङ गुम्बाबाट सुरु भएको लाङटाङ म्याराथन घोडा तबेला, शेर्पा गाउँ, खाम्जिङ हुँदै स्याफ्रुबेसी पुगेर टुंगिएको थियो । टानले साहसिक खेलको माध्यमबाट लाङटाङलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन गर्दै आएको छ।  

रसुवाको प्रतिनिधिसभा सदस्य मोहन आचार्यले म्याराथनका विजेतालाई नगद पुरस्कार वितरण गर्दै लाङटाङ क्षेत्रको प्रवद्र्धनका लागि म्याराथनले विश्व बजारमा सकारात्मक सन्देश दिने बताए । ‘भूकम्पले थलिएको लाङटाङ उठिसकेकाले आम पर्यटन व्यवसायीले यस क्षेत्रको प्रवद्र्धनमा सहकार्य गर्नुपर्छ,’ सांसद आचार्यले भने, ‘आगामी दिनमा लाङटाङ म्याराथन सभ्य र भव्य बनाउन थप सहयोग गर्नेछु।’

म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैलाई जनही एक लाख पाँच हजार, दोस्रो हुने हुनेलाई जनही ७८ हजार सात सय ५० र तेस्रो हुनेलाई जनही ५२ हजार पाँच सय रुपैयाँसहित पदक र प्रमाणपत्र वितरण दिइएको थियो ।
टानका अध्यक्ष नवराज दाहालले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय धावक सहभागी भएको बताए।

‘रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र गोसाइकुण्ड गाउँपालिकासँग म्याराथनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भव्य बनाउन त्रिकोणात्मक समन्वय गरेका थियौं । लाङटाङ आफैंमा प्रसिद्ध भए पनि पदमार्गको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन हुन सकेको छैन,’ अध्यक्ष दाहालले भने, ‘भूकम्पपछि यस क्षेत्रको पुनः निर्माण अन्तिम चरणमा पुगिसकेकाले लाङटाङलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन यो अभियान चलाएका हौं।’

उनका अनुसार म्याराथनलाई व्यवस्थित बनाउन टानले विभिन्न समिति बनाएर काम गरेको थियो । टानको कार्यसमिति सदस्य ऋतु गोम्देनको संयोजकत्वमा लाङटाङ म्याराथन २०७५ भएको हो।

टानका कार्यसमिति सदस्य गोपाल श्रेष्ठले लाङटाङ म्याराथनलाई विश्व पर्यटन बजारमा प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियासँग समन्वय समेत गरिएको बताए।

म्याराथनमा भाग लिने नेपाली धावकले नाम दर्ताका लागि २५ सय, विदेशी धावकले ७५ डलर शुल्क बुझाएका थिए । म्यारथान सफल बनाउन रसुवा उद्योग वाणिज्य संघ, गाउँपालिका, नुवाकोट–रसुवा धादिङ पर्यटन समाजसँग टानले समन्वय गरेको संयोजक गोम्देनले जानकारी दिए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App