coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरुवाले पुनर्निर्माण प्राधिकरणमा तरंग

काठमाडौं – सरकारले पुराना कर्मचारीको धमाधम सरुवा गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा तरंग फैलिएको छ ।
सरकार परिवर्तनसँगै नेतृत्व फेरिँदा पुनर्निर्माण कार्यले अपेक्षित गति लिन नसकिरहेको बेला प्राधिकरणका अनुभवी कर्मचारीको भटाभट सरुवा हुन थालेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो पटक प्राधिकरणमा कार्यरत चारजना (दुई सहसचिव र दुई उपसचिव) अनुभवी कर्मचारी सरुवा गरेको छ।

प्राधिकरणको योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव यमलाल भुसाललाई प्रधामन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी प्राधिकरणमा लामो समयदेखि कार्यरत थिए । पुनर्निर्माणसँग सम्बन्धित अधिकांश विषयमा जानकार र अनुभवी कर्मचारीमा भुसाल पर्छन् । भुसालको सरुवालाई प्राधिकरणका अधिकारीहरुले अनपेक्षित भएको बताएका छन् । सोही शाखाका उपसचिव विपिन आचार्य पनि सरुवामा परेका छन् । उनलाई ६ महिनाअघि मात्र प्राधिकरण ल्याइएको थियो । बजेटबारे जानकार भइसकेका आचार्यको सरुवा पनि अनपेक्षित भएको ती अधिकारीले बताए।

पुनर्निर्माणमा अनुभवी पुराना कर्मचारी सरुवा गरेपछि पुनर्निर्माण कार्यको गति मन्द हुने जानकार बताउँछन्।

अर्का सहसचिव नेत्र सुवेदी र उपसचिव विजय रानालाई पनि सरुवा गरिएको छ । नीति, अनुगमन, समन्वय तथा सामाजिक विकास महाशाखा प्रमुख सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएर सरुवा गरिएको छ । प्रशासनतर्फका उपसचिव राना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।

प्राधिकरणको सुरुवातबाटै कार्यरत उपसचिव भीष्मकुमार भुसाल हालै सहसचिवमा बढुवा भएपछि प्राधिकरणमा रहने नरहने निश्चित छैन । उनले हालसम्म नियुक्ति पाइसकेका छैनन् । प्राधिकरण स्रोतका अनुसार उनलाई प्राधिकरणमै नियुक्ति दिने सम्भावना न्यून छ।

प्राधिकरणको नीति निर्माणदेखि सबै प्रक्रियामा जिम्मेवारी लिएर काम गरेकाले उनलाई पुनर्निर्माणमा सबैभन्दा बढी जानकार मानिन्छ । ‘प्राधिकरणको ‘इन्स्टिच्युसनल मेमोरी’ उनीसँग जति छ अरु कोहीसँग छैन । उनी यहाँबाट बाहिरिए भने अधिकांश काम प्रभावित हुनेछ,’ स्रोतले भन्यो । वैदेशिक सहायता समन्वयको जिम्मेवारीसमेत भुसालले सम्हाल्दै आएका छन् । उनी प्राधिकरणमा नरहने स्थितिले दातासँग समन्वयका लागिसमेत समस्या हुने स्रोतको भनाइ छ।

पुनर्निर्माणसम्बन्धी अनुभवी कर्मचारी सरुवाले पुनर्निर्माण कार्यको गति प्रभावित हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् । नयाँ आउने कर्मचारीलाई पुनर्निर्माणको समग्र प्रक्रिया बुझ्नै समय लाग्ने गर्छ । ‘पुनर्निर्माणमा सबै विषय बुझिसकेका कर्मचारीलाई सरुवा गर्नु अव्यावहारिक हो । पुनर्निर्माण कार्य बल्ल सही ट्र्याकमा आउन थालेको बेला अनुभवी कर्मचारी सरुवाले पुनः प्रभावित पार्न सक्छ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘नयाँ कर्मचारी आएपछि अर्को तीन चार महिना बुझ्नै समय लाग्छ । उनीहरुलाई बुझाउन नपाउँदै सरकारले फेरि सरुवा गरिदिन्छ । यसले समग्र पुनर्निर्माणको प्रक्रियालाई ढिलो गराइरहेको छ।’

सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा दिने घोषणा गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको ती अधिकारीको भनाइ छ । ‘अबको साढे दुई वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्छ । त्यसका लागि अनुभवी कर्मचारीलाई यही राखेर प्राधिकरणको कामलाई प्रभावकारी बनाउनुपथ्र्यो । तर, सरकारले ठिक विपरीत निर्णय गरेको छ,’ उनले भने । प्राधिकरणमा काम गर्न आफैं इच्छुक भएर आएका कर्मचारीलाई बाहिर पठाउन लागेको उनले बताए । बाध्यात्मक अवस्था सिर्जना गरेर ल्याएका कर्मचारीले प्रभावकारी काम गर्न नसक्ने उनको भनाइ छ।

यसैबीच, प्राधिकरणसँग समन्वय नगरी कर्मचारी सरुवा गरेको भन्दै शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको ध्यानाकर्षण गराएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले मन्त्री पण्डितलाई भेटी प्राधिकरणसँग समन्वय गरेर मात्र कर्मचारी सरुवा गर्न आग्राह गरेका थिए।

जवाफमा मन्त्री पण्डितले आवश्यक समन्वयका लागि प्रशासनलाई निर्देशन दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो । मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले यस विषयमा जानकारी नभएको बताए । उनले कर्मचारी सरुवा नियमित प्रक्रिया भएको बताए । सरकारले आवश्यकताको आधारमा जुनसुकै कर्मचारीलाई सरुवा गर्न सक्ने उनको भनाइ छ।

पाँचपटक फेरिए सचिव
प्राधिकरण गठन भएपछि साढे दुई वर्षको अवधिमै प्राधिकरणमा पाँचपटक सचिव फेरिएका छन् । पहिलो सचिव मधुसूदन अधिकारीले २०७२ पुस १२ देखि ०७३ कात्तिक १२ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । उनी ०७३ वैशाख २३ गतेसम्म भने कामु सचिव थिए ।

अधिकारीपछि प्राधिकरणमा सञ्जय शर्मा आएका थिए । उनले ०७३ कात्तिक २२ देखि चैत ३१ गतेसम्म सचिवको जिम्मेवारी सम्हाले । त्यसपछि ०७४ वैशाख २० मा आएका सचिव सर्वजीत महतो कात्तिक २६ गतेसम्म प्राधिकरणमा रहे । त्यसपछि पुनः मधुसूदन अधिकारी आएका थिए । दोस्रोपटक प्राधिकरणमा आएका उनले ०७४ कात्तिक २७ देखि चैत २६ सम्म काम गर्न पाए । वर्तमान सचिव अर्जुनकुमार कार्की प्राधिकरणमा पाँचौं सचिवका रुपमा कार्यरत छन् । उनी गत चैत २७ बाट प्राधिकरणमा आएका हुन्।

सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको द्रुत गतिमा पुनर्निर्माण गर्ने उद्देश्यका साथ प्राधिकरण गठन गरेको थियो । तर, सरकार परिवर्तनसँगै प्राधिकरणमा सिइओ, सचिव र कर्मचारी परिवर्तन मात्र भइरह्यो । प्राधिकरणमा भएको यही चलखेलले पुनर्निर्माण कार्य सही ट्र्याकमा अगाडि बढ्न नसकेको जानकारहरु बताउँछन्।

पछिल्लो समय पुनर्निर्माणमा केही प्रगति देखिएको अवस्थामा पुनः कर्मचारी सरुवाले असर पर्न सक्ने उनीहरुको भनाइ छ । अनावश्यक रुपमा कर्मचारी सरुवा गर्नुभन्दा पुनर्निर्माणमा अनुभवी भइसकेका कर्मचारीलाई पुनर्निर्माण कार्यको गति बढाउन थप सक्रिय गराउनुपर्ने प्राधिकरणका एक उच्च अधिकारी बताउँछन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App