८ वैशाख २०८१ शनिबार
अर्थ

ब्रोकरबाटै सेयर धितोमा ऋण

काठमाडौं – सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने कार्यविधि धितोपत्र बोर्डले पारित गरेपछि लगानीकर्ता बैंकसम्म पुग्नु नपर्ने भएको हो।

बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्यविधि पारित गरेको छ । बोर्डले कार्यविधि कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । उक्त कार्यविधि तुरुन्तै कार्यान्वयनमा ल्याइने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नागरिकलाई बताए । ‘ब्रोकरले मार्जिन कारोबारका लागि नेप्सेमा निवेदन दिनुपर्छ,’ उनले भने, ‘त्यसरी दिइएको निवेदनलाई नेप्सेले स्वीकृति दिएपछि मार्जिन कारोबार गर्न सक्ने छन् ।’ नेप्सेले पनि कुन कुन कम्पनीको सेयर धितो राख्न पाउने र कुनको नदिने भन्नेबारेमा कम्पनीको सूची तयार पार्नुपर्ने उनले प्रस्ट पारे।

अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सोही निर्देशनको व्यवस्था वमोजिम बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि बनाउन पत्राचार गरेको थियो।

सोही बमोजिम नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि बनाई बोर्डमा पेस गरेको थियो । तर, बोर्डले उक्त कार्यविधिमा आवश्यक सुधार गरी पेस गर्न नेप्सेलाई पुनः पत्राचार गरेको थियो । सोही बमोजिम नेप्सेबाट गत वैशाख १९ गते सुधार सहित उक्त कार्यविधि बोर्डमा पठाएको थियो । उक्त कार्यविधि कार्यान्वनमा ल्याउन बोर्डको गत बिहीबारको निर्णय बमोजिम निर्देशन दिइएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘बोर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘दक्षिण एसियाका कतिपय मुलुकमा कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिवृद्धि हुने, लगानीकर्तालाई सेयर खरिद–बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुन गई धितोपत्र कारोबार बढी गतिशील हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ।’

यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आए सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर ऋण लिन जान पाउने व्यवस्थाको अन्त्य हुने एक स्टक ब्रोकरले बताए। 

‘प्रारम्भिक चरणमा लगानीकर्ता बैंंक जानुपर्ने अवस्थाको अन्त्य नभए पनि विस्तारै यसको अन्त्य हुन्छ,’ उनले भने, ‘ग्राहकलाई सानोतिनो ऋण लिन बैंक तथा वित्तीय संस्थामा जानुपर्ने व्यवस्था भने अन्त्य हुनेछ।’

यसरी मार्जिन ट्रेडिङ अन्तर्गत किनिएको सेयर सम्बन्धित व्यक्तिको नाममा नै हुन्छ । तर, यस्तो सेयर खरिद गर्नेले बिक्री गरेर पैसा लान भने पाउँदैन । मार्जिन ट्रेडिङमा किनिएको सेयर ब्रोकरकोमा धितो राखिएको हुन्छ । ब्रोकरले त्यही सेयर धितो राखेर बैंकबाट कर्जा लिएको हुन्छ । र, त्यही कर्जाको रकम सेयरधनीले प्रयोग गर्नेछ।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । तर, अहिले कुल ५० ब्रोकर कम्पनीमध्ये ८–१० वटाको मात्रै खुद सम्पत्ति पाँच करोड रुपैयाँ भएको ब्रोकरहरु बताउँछन्।

कम्तीमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक भई पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App