७ वैशाख २०८१ शुक्रबार
अर्थ

काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन सुझाव

काठमाडौं – सरकारले गठन गरेको एक प्राविधिक अध्ययन सुझाव समूहले काभ्रेको बनेपा नगरपालिकास्थित नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन पेस गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेका बनेपा नगरपालिकाको नागिडाँडा तथा धुलिखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरमध्ये एकमा विमानस्थल निर्माण गर्न अवकास प्राप्त सिभिल इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा गत वैशाख १८ मा ६ सदस्यीय प्राविधिक अध्ययन सुझाव समूह गठन गरेको थियो।

यो समूहले बिहीबार पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन पेस गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरणको सबैभन्दा उपयुक्त विकल्प नागिडाँडा हुने सुझाव दिएको हो । ‘बनेपाको नागिडाँडा अन्य दुई ठाउँभन्दा तुलनात्मक रूपमा उत्कृष्ट छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यहाँ आन्तरिक विमानस्थल निर्माण गर्न सके त्रिभुवन विमानस्थलको ३१ प्रतिशत हवाई चाप घटाउन सकिने छ।’

अध्ययन सुझाव टोलीका अनुसार नागिडाँडामा विमानस्थल निर्माण गर्न अनुमानित आठ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने छ । टोलीले नागिडाँडामा एक हजार दुई सय मिटर लामो धावनमार्ग सहितको आन्तरिक विमानस्थल निर्माण गर्न सकिने सुझाव दिएको छ । आठ सय मिटर लामो धावनमार्गका लागि पाँच अर्ब ५० करोड र एक हजार दुई सय मिटर धावनमार्गका लागि आठ अर्ब ५० करोड लाग्ने टोलीको अनुमान छ।

– साढे ८ अर्बमा १२ सय मिटरको धावनमार्गसहितको विमानस्थल

– त्रिभुवन विमानस्थलको ३१ प्रतिशत हवाई चाप घट्ने

विमानस्थल निर्माण गर्ने औपचारिक घोषणा भएको एक वर्षपछि मात्र नागिडाँडामा निर्माणको काम सुरु हुने सुझाव टोलीका एक सदस्यले बताए । ‘निर्माण सुरु भएको चारदेखि पाँच वर्षभित्र विमानस्थल पूर्णरूपमा तयार हुने छ,’ उनले बिहीबार नागरिकसँग भने, ‘धावनमार्ग उत्तरबाट दक्षिण अवतरण गर्न मिल्ने किसिमको हुने छ।’

उनका अनुसार नागिडाँडामा बन्ने विमानस्थल त्रिभुवन विमानस्थलबाट साढे २४ किलोमिटर पूर्वमा पर्छ । हवाई दुरी भने ८.६२ नटिकल माइल छ । पर्यटन मन्त्रालयले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी गठन गरेको उक्त सुझाव टोलीका सदस्यमा उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदाश भोछिभोय र बाबुराम पौडेल, उपनिर्देशक सुवर्ण उपाध्याय र सीताराम भण्डारी तथा सदस्य सचिवमा इन्जिनियर नलविक्रम थापा थिए।

पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलको आन्तरिक उडान–अवतरणको विकल्पका रूपमा काभ्रेमा विमानस्थल निर्माण गर्ने तयारी तीव्र गतिमा अगाडि बढाए पनि निजी क्षेत्रका आन्तरिक वायुसेवा सञ्चालकहरूले भने यसलाई ‘अव्यावहारिक निर्णय’ भन्दै आएका छन् । त्रिभुवन विमानस्थलको विद्यमान हवाई ट्राफिक चाप कम गर्ने उद्देश्य लिएर काभ्रेमा आन्तरिक उडानका जहाज व्यवस्थापन गर्न विमानस्थल निर्माण गर्न अगाडि बढेको पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताउँदै आएका छन्।

पर्यटन मन्त्रालय र प्राधिकरणले त्रिभुवन विमानस्थल भइरहेको हवाई चापबाट जहाज उडान–अवतरणमा लामो समय ‘होल्ड’ गर्नुपर्ने, उडान ढिलो हुने, डाइभर्टदेखि रद्दसम्मको अवस्था बढ्न थालेपछि आन्तरिक विमानस्थलको विकल्प स्वरूप बनेपाको नागिडाँडामा विमानस्थल निर्माण गर्ने तयारी अगाडि बढाएका हुन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App