काठमाडौं - सरकारले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो।
उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सिफारिस मागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडांैले उनीलगायत केही कैदीहरूको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाएको छ भने विभागले एकदुई दिनभित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि मिनाह गर्न नमिल्ने फैसला गरेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले सो फैसला गरेको हो । कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुटाउने गरी कारगार व्यवस्थापन विभागले तयारी गरिरहेको छ ।‘नियमसंगत प्रकृया पुगेका कैदीलाई गणतन्त्र दिवसका दिन सरकारले कैद मिनाह गर्ने परम्पराअनुसार कसकसलाई कैद मिनाह गर्न मिल्छ वा कस्लाई मिल्दैन त्यो हेरिरहेका छाै,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले भने ।
सरकारले कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई गणतन्त्र दिवसको दिन जेठ १५ गते छाड्न लागिएको स्रोतले जनाएको छ । तर सर्वोच्च अदालतले गरेको फैसलाअनुसार अदालतबाट दोषी ठहरिएका ढुंगेलले सर्वोच्चको फैसलाअनुसार आत्मसमर्पण नगरेको अवस्थामा ढुंगेललाई माफी दिन नसकिने जनाएको थियो । कानूनले निर्धारण गनेको माफी मिनाहको प्रक्रियासमेत अवलम्बन नभएको भन्दै सर्वोच्चले यसअघिको सरकारले माफी मिनाहको सिफारिसलाई बदर गरेको थियो ।सर्वाेच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो ।
ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका कारण कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकाले ४० प्रतिशत कैद भुक्तान भैसकेकपछि कैदीको असल चालचलनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौले उनको नामसहित अन्य कैदीको नामसमेत माफी मिनाहका लागि पठाइसकेको स्रोतले दावी गरेको छ । ‘कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान भएका कैदीलाई आचरण सुधारको आधारमा मिनाह गर्न मिल्छ तर त्यस प्रक्रियामा ढुंगेलको नाम छ कि छैन त्यो भने हेरिएको छैन,’ महानिर्देशक मैनालीले भने । २०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो ।
सो फैसलालाई पुनरावेदन अदालतबाट सफाइ पाए पनि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । डा. बाबुराम भट्र्टराइले उनलाई आममाफीका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गरेपछि सर्वोच्च अदालतमा आममाफी विरुद्ध रिट परेको थियो । सोही रिटमा उनलाई माफी मिनाह नगर्न सवैधानिक इजलासले आदेश दिएको थियो ।नयाँ सरकार बनेसँगै गृहमन्त्री रामबहादुर थापाले नेता ढुंगेललाई डिल्लीबजार जेलमै गएर भेटेका थिए । भेटमा उनलाई जुलमुक्त गराउने आश्वासन समेत दिएका थिए । सोही आश्वसन कार्यान्वयनका लागि पनि सरकारले उनलाई कैद मिनाह गर्न लागको हो ।
प्रकाशित: ७ जेष्ठ २०७५ ०२:०८ सोमबार