६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन सुरु

दोलखा- जिल्लास्थित तामाकोसी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रशासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै संरक्षणमा फेरि बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।पुनर्निमाणका बेला बालुवा, गिटी अभावको फाइदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभाबी तामाकोसी नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

तर फेरि केही दिनयतादेखि तामाकोसी नदीको भांगे खोलामा स्काभेटर राखेर रातभरि बालुवा, गिटीलगायत नदीनज्य पदार्थ ओसार्ने काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । तामाकोसी बजारका एक स्थानियका अनुसार रात परेपछि तामाकोसी बजारयता भागें खोला नजिकबाट बालुवा, ढुंगा, ग्राभेल ओसारपसार भइरहेको छ । ‘प्रशासनले एक महिनाअघि बन्द गरेको भनिएको बालुवा उत्खनन् हाम्रो ठाउँमा केही दिनदेखि रातको समयमा सुरु भएको छ,’ तामाकोसी बजारका ती स्थानीयले नागरिकसँग टेलिफोनमा भने ।

नदीभरि खाल्डैखाल्डा पारेर हिन्दु संस्कारअनुसार दाहसंस्कारका लागि प्रयोग हुने घाट नै मासिने गरी बालुवा उत्खनन बढेपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले यसमा रोक लगाएको थियो । तर महिना दिन हुन नपाउँदै किरातीछाप प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिने प्रहरीहरूकै आडमा राति–राति बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।भांगे खोलाबाट बालुवा तस्करी हुन थालेपछि तामाकोसी नदी आसपास यसअघि बालुवा तस्कर गर्नेहरूसमेत सल्बलाउन थालेका छन् । तामाकोसी नदी नजिकको भांगे खोलाबाहेक वरपरसमेत अवैध बालुवा खानी चलाउँदै आएकाहरूले फेरि स्काभेटर र डोजर तामाकोसी नदीमा धमाधम झार्न थालेको एक स्थानीयले बताए ।

किरातीछाप प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिने प्रहरीहरूकै आडमा तामाकोसीबाट राति–राति बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।

दोलखा जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले भने प्रहरीको संरक्षणमा बालुवा तस्करी सुरु भएको भन्ने आरोप अस्वीका गरे । ‘तामाकोसीमा अवैध रूपले चलेका बालुवा खानीहरू यसअघि नै हामीले बन्द गराइसकेका छौं,’ उनले भने, ‘प्रहरीको आँखा छलेर कसैंले गरेको रहेछ भने खोजबिन गरेर कारबाही गछाैं।’उनले तामाकोसी नदी आसपास बालुवा तस्करी रोक्न प्रहरीको नियमित गस्ती परिचालन भइरहेको बताउँदै उनले तस्करी नभएको दाबी गरे । प्रहरी प्रमुख कार्कीको अन्यत्र सरुवा भइसकेको छ भने उनको स्थानमा डिएसपी वासुदेव पाठक ल्याइएको छ । तर पाठक अहिलेसम्म जिल्ला आइपुगेका छैनन भने कार्की पनि सरुवा भएको स्थानमा गएका छैनन् ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App