६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

आफ्ना नागरिक फिर्ता गर्न दक्षिणलाई उत्तर कोरियाको आग्रह

अप्रिल २७ मा भएको शिखर वार्तापछि उत्तर कोरियाली नेता किम जोङ–उन (बायाँ) र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन । फाइल तस्बिर : एजेन्सी

प्योङयाङ– दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न उत्तर कोरियाले माग गरेको छ ।करिब दुई वर्षअघि आफ्नो देशका नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीले अपहरण गरेर लगेको उत्तर कोरियाले बताउँदै आएको छ ।

ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया सरकारले माग गरेको उत्तर कोरियास्थित रेडक्रस सोसाइटीका प्रमुखलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचर समिति केसिएनएले जनाएको छ । ती महिलालाई दक्षिण कोरिया विरोधी क्रियाकलापमा लागेको भनेर अपहरण गरिएको थियो । उनीहरुलाई उत्तर कोरियाबाट नभएर उनीहरु कार्यरत रहेको अर्कै देशबाट अपहरण गरेर त्यहाँ ल्याइएको थियो । उक्त अपहरणको उत्तर कोरियाले सोही समयमै विरोध गरेको थियो । उनीहरुलाई तुरुन्त रिहा गरेर पछिल्लो समय दुई देशबीच विकसित शान्ति र सौहार्दपूर्ण वातावरणको सम्मान गर्न उत्तरले दक्षिणसँग आग्रह गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सैन्य अभ्यास रोक्न पुनः आग्रह
यसैबीच उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न फेरि पनि आग्रह गरेको छ । अमेरिकासँगको संयुक्त सैन्य अभ्यास सोलमा जारी रहेको भन्दै उत्तर र दक्षिण कोरियाकाबीचको उच्चस्तरीय अधिकारीको गत बुधबार बस्ने भनिएको बैठकसमेत उत्तर कोरियाले रोकेको थियो । सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । उक्त सैन्य अभ्यास रोक्न यसअघि उत्तर कोरियाले बिहीबार पनि आग्रह गरेको थियो।

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाले गर्दै आइरहेको छ । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचारपछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको हो।

सो सैनिक अभ्यासले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको शान्ति सम्झौताको पनि उल्लंङ्घन गरेको उत्तर कोरियाली भनाइ छ ।गत बिहीबार गरेको आग्रहमा उत्तर कोरियाले उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुने तय भएको छ । अमेरिका र उत्तर कोरिया दुवैले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुने वार्ताको तयारी भइरहेको बताइरहेका छन् । शान्ति सम्झौताको पालना गर्न माग

उत्तर कोरियाले दक्षिण कोरियासँग केही साताअघि भएको समझदारी र शान्ति सम्झौताको पालना गर्न आग्रह गरेको छ । गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो ।उक्त शान्ति सम्झौताको कार्यान्वयनका लागि आपूmले त्यसै बमोजिमको काम गरिरहेको भए पनि दक्षिण कोरियाका तर्फबाट भने त्यसको पालना हुननसकेको उसको आरोप रहेको छ । उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुवात गरिसकेको जनाएको छ । उत्तरले आपूmले आणविक अस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ । सोलमा जारी रहेको सैन्य अभ्यासको विषयलाई लिएर उत्तर कोरियाले दक्षिणलाई गम्भीर प्रश्न गरिरहेको छ ।

आफूहरुले आणविक परीक्षणस्थल भत्काउने, आणविक अस्त्रको उत्पादन रोक्ने तथा आफ्नो जेलमा रहेका अमेरिकी र दक्षिण कोरियाली अधिकारीलाई पनि रिहा गरिरहेको तर दक्षिणले भने केही नगरेको उत्तरको आरोप उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । उत्तर कोरियाले दक्षिणले सोलमा जारी राखेको सो सैन्य अभ्यासबाट गएको अप्रिल २७ मा दुई कोरियाबीच भएको सम्झौताको उल्लङ्घन भएको जनाएको छ ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App