८ वैशाख २०८१ शनिबार
अन्य

वडा छुट्याउन माग

ललितपुर–महालक्ष्मी नगरपालिका–८ का स्थानीयले वडा छुट्याउन माग राखेका छन् । नगरपालिकाको दक्षिणी क्षेत्रका वासिन्दाले भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा आफूहरुलाई मर्का परेको भन्दै आइतबार ज्ञापनपत्रसहित यस्तो माग राखेका हुन्।

ज्ञापनपत्रमार्फत उनीहरुले वडा ८ लाई छुट्याउनुपर्ने स्पष्ट माग राखेका छन् । उनीहरुले नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए । अलग वडा रहेको उक्त क्षेत्रमा स्थानीय निकाय पुर्नसंरचनाका क्रममा लुभुसँग गाभिएपछि स्थानीय असन्तुष्ट रहँदै आएका छन् । उनीहरुले जस्तोसुकै हालतमा पनि आफ्नो  मर्का समाधान हुनुपर्ने माग गरेका छन् । १० हजारभन्दा माथि जनसंख्या रहेको लुभु, शंखादेवी, चसिडोल लगायतको क्षेत्र एउटामात्र वडा रहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् हुन्।

‘हामीलाई सरकारले अन्याय गरेको छ, एउटै वडामा ठूलो क्षेत्रलाई गाभ्दा सारै दुःख पाउनुपरेको छ’ स्थानीय मुकेशवहादुर कार्कीले भने, ‘भुगोल र जनसंख्या बढी भएकोले नै वडा कार्यालयमा भिड लाग्छ, त्यसैले हाम्रो माग नगरपालिकाले सुनिदियोस् ।’ उनले आफूले धेरैपल्ट यस विषयमा नगरपालिलाई जानकारी गराउँदै आएपनि नगरपालिकाका कर्मचारी र मेयरले चासो नदिएको गुनासो गरे । ‘भौगोलिक क्षेत्र ठूलो भएकोले हामीलाई वडासम्म पुग्न निकै कठिन हुने गरेको छ,’ उनले थपे, ‘त्यसकारण हाम्रो समस्या समाधान हुनुपर्छ।’

वडा छुट्याउने पहल गर्न गठित कमिटीका संयोजक विवेककुमार कार्कीले जनसंख्या र भौगोलिक आधारमा पनि वडा ठूलो भएको र टाढा–टाढाबाट सेवा लिन आउनुपर्ने बाध्यता भएको बताए । ‘भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा वडा नम्बर ८ सबैभन्दा ठूलो क्षेत्रफलसहितको बढी जनसंख्या र मतदाता रहेको क्षेत्र भएको छ,’ उनले भने, ‘वडा नम्बर ८ को दक्षिणी क्षेत्रले वडाको कुल भूभागको ५५ प्रतिशत र जनसंख्याको झन्डै ४० प्रतिशत ओगटेको छ, त्यस्तो क्षेत्रमा वडा छुट्याउँदा अन्याय भयो ।’ उनका अनुसार गत चुनावमा उक्त क्षेत्रमा २ हजार मतदाता रहेकोमा १३ सय मत खसेको थियो । वडा नम्बर ८ मा मात्र झन्डै ५ हजार मत खसेको थियो।

ज्ञापनपत्र बुझ्दै मेयर श्रेष्ठले जनताका जायज माग सम्बोधनका लागि विधि र नियमअनुसार आफू अगाडि बढ्ने जनाएका थिए । उनले अलग वडा रहेको उक्त क्षेत्र स्थानीय निकाय पुर्नसंरचनाका क्रममा लुभुसँग गाभिएपछि स्थानीय असन्तुष्ट रहेकोले उक्त समस्या हल गर्न आफू लागिपर्ने बताए । ‘हामीले यसलाई मिलाउँछौं, यो समस्या पहिलेदेखि कै हो’ भने, ‘धेरैजसो स्थानीयले आजभोली यही समस्या बोकेर नगरपालिका आउनुहुन्छ, यसलाई हामीले समाधान गर्छोैं।’

 असन्तुलित वडा विभाजनले लुभु दक्षिणतर्फको शंखादेवी र बिसनडोल क्षेत्रका जनता मर्कामा परेका संयोजक कार्कीले बताए । ‘जनसंख्या धेरै वडा एउटै हुँदा निकै सास्ति हुने गरेको छ,’ उनले भने, ‘त्यसैले हामीले यस्तो माग राखेका हौं ।’ महालक्ष्मी नगरपालिकाभित्र एक हजार र तीन हजारभन्दा कम जनसंख्या रहेका क्षेत्र अलग वडा रहेकाले वडा छुट्ययाउने जनताको मागलाई कदर गर्नुपर्ने स्थानीयको माग छ । उनीहरुले यसअघि पनि नगरपालिका समक्ष मागपत्र पेस गरेका थिए ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App