coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ठमेलका सडक हिँड्नै सास्ती

ठमेल प्रवेश गर्ने मुख्य सडक ।

काठमाडौं– नेपाल आउनेमध्ये ८५ प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । यो वसन्तकालीन पर्यटकीय समय हो । यतिबेला ठमेलतिर पर्यटकको उपस्थिति बाक्लो देख्न सकिन्छ ।ठमेल पुग्ने पर्यटकले भने सास्ती खेपिरहेका छन् । ठमेलभित्रका अस्तव्यस्त सडकका कारण पर्यटकले सास्ती खेपिरहेका हुन् । यहाँ घाम लागेको दिन धुलो उड्ने भएकाले मास्कले मुख थुन्दै हिँड्नुपर्छ भने पानी परेको दिन हिलोमाथि हिँड्नुपर्ने बाध्यता छ।

बिहीबार बिहान ११ बजे अस्कल क्याम्पसबाट ठमेलतिर प्रवेश गर्दै गरेका जर्मनका पर्यटक भिक्टोरो भिच भन्दै थिए, ‘सडकको अवस्था देख्दा त अचम्म लाग्यो ।’लैनचौरबाट अस्कल क्याम्पसको किनाराबाट ठमेल प्रवेश गर्ने सडकको एकातिर माटो थुपारेर राखिएको थियो । बाँकी रहेको भाग असारमा धान रोप्न तयार गरेको खेतजस्तो देखिन्थ्यो । हिलो छ्याप्दै सवारीसाधन गुडिरहेका थिए । पैदलयात्रीलाई हिँड्न भने सकस भइरहेको देखिन्थ्यो ।

ठमेलमा देखिएको यो दृश्य नयाँ भने होइन, स्थानीयका अनुसार तीन वर्षयता ठमेलका सडक हिँडिसक्नु छैनन् । विभिन्न बहानामा सडक भत्काउनु तर नबनाउनु प्रवृत्ति नै बनेको छ । यसले स्थानीयले त सास्ती पाएकै छन्, पर्यटकले समेत सकस भोग्न बाध्य छन् । ठमेलका सडकका कारण पर्यटन क्षेत्रमै असर पर्ने पर्यटन व्यवसायी खुमबहादुर सुवेदी बताउँछन्।

‘धुलाम्मे, हिलाम्मे सडक देख्दा पर्यटन बेखुसी हुन्छन्,’ उनले भने, ‘आफ्नो देश फर्केर पनि यहाँको सडक अवस्थाबारे बताउन सक्छन्, यसको असर पर्यटन क्षेत्रमै पर्ने देखिन्छ ।’ वर्षौंदेखि सडकको अवस्था खराब भएपछि स्थानीयले पटक–पटक सम्बिन्धित निकायलाई पनि ध्यानाकर्षण गराए । अघिल्लो वर्षको बर्खायाममा त स्थानीयले सडकमै धान रोपेर सरकारको ध्यानाकर्षण गराएका थिए । सडकको अवस्था भने उस्तै छ ।

विदेशी आएर ठमेलका सडकको बेहाल क्यामेरामा कैद गर्न बाध्य छन् । दैनिक ५० भन्दा बढी पर्यटकले यो सडक किन यस्तो अलपत्र पारेको भनेर प्रश्न गर्ने गरेको ठमेलका स्थानीय महेश महर्जनले बताए ।विदेशीले चासो दिँदा समेत सरोकारवाला निकायले समस्या समाधानमा ध्यान दिएको देखिँदैन । ठमेलमा आठ मिटर चौडाइका सडक छन् । ठमेलभित्रका यी सडक हेर्ने जिम्मेवार निकाय काठमाडौं महानगरपालिका हो । तीन वर्षदेखि सडक बिग्रिएर लाखौँ पर्यटकले सास्ती खेप्दा समेत महानगरपालिकाले ध्यान दिएको छैन ।

लैनचौरबाट अस्कल क्याम्पसको किनाराबाट ठमेल प्रवेश गर्ने सडकको एकातिर माटो थुपारेर राखिएको थियो । बाँकी रहेको भाग असारमा धान रोप्न तयार गरेको खेतजस्तो देखिन्थ्यो । हिलो छ्याप्दै सवारीसाधन गुडिरहेका थिए । पैदलयात्रीलाई हिँड्न भने सकस भइरहेको देखिन्थ्यो ।

महानगरपालिका भने सडक विस्तार गरेर फराकिलो बनाउन लागेको बताउँछ । तर, कहिले सम्पन्न गर्ने भन्ने कुनै टुंगो छैन ।‘सडक विस्तार गरेर फराकिलो बनाउन लागेका छौँ,’ महानगरपालिका भौतिक तथा पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भने, ‘सक्दो चाँडो निर्माण सम्पन्न गर्ने पक्षमा छौँ ।’ उनका अनुसार सडक विस्तार गर्न मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने काम भइरहेको छ । संरचना भत्काउने क्रममा सडक साँघुरो तथा हिलाम्मे भएको हो । महानगरपालिकाले सक्दो चाँडो सडक बनाएर ठमेललाई पर्यटकीय केन्द्र बनाउन लागेको उनले बताए । ठमेल भित्रका केही सडक भने महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गरेको उनको भनाइ छ ।

त्यसो त ठमेलका सडक मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले पनि पाइप बिछ्याउन भत्काएपछि बनाएको छैन । मेलम्ची खानेपानी, सडक विस्तार र ढल बिछ्याउने कार्यले ठमेल पटक–पटक कुरूप हुने गरेको गुनासो स्थानीयको छ ।यसरी पर्यटकीय केन्द्र ठमेललाई महानगरपालिकाले बेवास्ता गरेर पर्यटन क्षेत्रलाई नै धक्का पुग्ने काम गरेको आरोप स्थानीयको छ ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App