७ वैशाख २०८१ शुक्रबार
समाज

विदेश त्यागेर स्वदेशमा व्यवसाय

बराहतालका रोहित गरंजा उत्पादन गरेको टमाटर टिप्दै । तस्बिर : नगेन्द्र उपाध्याय

सुर्खेत – बराहताल गाउँपालिका–७, सुर्खेतका रोहित गरंजाले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ३० महिना बिताए । पाँच वर्षअघि विदामा घर आएका उनी फर्केनन् । बरु स्वदेशमै व्यवसाय गर्न थाले । ‘दैनिक १६ घण्टासम्म काम गर्नु पर्दथ्यो, आम्दानी पनि सोचेजस्तो थिएन्’ उनले भने, ‘अर्काको देशमा धेरै दुःख गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने लागेर फेरि फर्किन् ।’

उनले अहिले दुई रोपनी जमिनमा तरकारी खेती गरेका छन् । मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् । तरकारी बेचेरै घर–घडेरी जोडेका छन् । दुई छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाएका छन् । ‘मेहनत ग¥यो भने यहीँ पनि राम्रो आम्दानी हुँदो रहेछ’ गरंजाले भने, ‘अहिले बेकारमा विदेश गएर समय खेर फालेको जस्तो लाग्न थालेको छ ।’

भेरीगंगा नगरपालिका–१, लेखपराजुलका सन्तोष महताराले ९ वर्ष साउदी अरवमा पसिना बगाए। उनी फेरि पनि विदेश जाने तयारीमा थिए । त्यसको लागि म्यानपावर कम्पनीलाई पासपोर्ट पनि बुझाइसकेका थिए । घर–परिवारले विदेश नजान सल्लाह दिए । उनी विदेश मोह छोडेर बाख्रा पालनमा लागे। 

२०७१ सालमा १५ वटा बाख्राबाट सुरु भएको उनले व्यवसाय अहिले फष्टाउँदै गएको छ। खोरमा ५० बढी बाख्रा छन्। यसलाई अझ विस्तार गर्दै लैजाने सोच उनले बनाएका छन्। ‘साउदीको भन्दा राम्रो आम्दानी अहिले यहीँ भइरहेको छ’ महताराले भने, ‘बाख्रा व्यवसायलाई अब आधुनिक तरिकाबाट सञ्चालन गर्ने तयारीमा छु।’

पछिल्लो समय रोजगारीका लागि विदेश गएकाहरू फर्केर स्वरोजगार बन्नेक्रम बढ्दो छ। कृषि व्यवसायमा सरकार र गैरसरकारी संस्थाले दिने अनुदान, सीप र दीर्घकालिन आम्दानीका कारण युवाहरू कृषिकर्ममा जोडिदैं गएका छन्। 

गरंजा घरपरिवारसँगै बसेर दैनिक पाँच–सात घण्टा काम गर्दा हुने आम्दानीबाट पूर्ण सन्तुष्ट छन्। ‘विदेश त भन्नु मात्र रहेछ, सुख र सन्तुष्टी आप्mनै देशमा मिल्दो रहेछ’ उनले भने, ‘त्यसका लागि हामीले अाफ्नाे माटोको महत्व बुझ्न सक्नुपर्छ।’ तरकारीको आम्दानीबाटै उनले जमिन जोडेका छन् । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सहयोगपछि उनी थप उत्साही भएका छन्। आम्दानी पनि तेब्बरले वृद्धि भएको उनी बताउँछन्। ‘आयोजनाले सहयोग गरेपछि मैले बेमौसमी तरकारी पनि लगाएँ,’ उनले भने, ‘व्यवसाय सम्बन्धी आर्थिक र प्राविधिक सहयोग पाएपछि उत्पादनमा झन् वृद्धि भयो।’

गरंजा मात्रै होइन् उनी जस्तै युवाहरु मिलेर गाउँमा कृषक समूह गठन गरका छन्। समूहमार्फत पनि उनीहरु सामूहिक कृषिकर्म गर्छन् । समूहलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सहयोग गरेको छ । आयोजनाले तरकारी संकलन केन्द्र, सिँचाई कुलो र उत्पादित तरकारीको बजारीकरणमा सहयोग गर्दै आएको छ । सिंचाई र बजारिकणपछि यहाँका कृषकहरु बेमौसमी तरकारी खेतितर्फ आकर्षित भएका छन्। ‘बर्खामा धान लगाउँथ्यौं, सिंचाई अभावमा हिउँदमा बाँझै रहन्थ्यो’ उनले भने, ‘अहिले हिउँदमा पनि तरकारी फलाउने भएका छौं, यसले आम्दानी पनि बढेको छ।’ गरंजाले तरकारी व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि विदेशमा रहेको भाईलाई पनि स्वदेश फर्काए। 

सन्तोषले चालू आर्थिक वर्षमा साढे तीन लाखका बाख्रा विक्री गरे। ‘उहाँले विदेश नगएर बुद्धि पुर्याउनुभयाे, पहिल्यैदेखि यस्तो गरेको भए कति राम्रो हुन्थ्यो,’ श्रीमती तीलाले भनिन्, ‘अहिले विदेशमा भन्दा राम्रो आम्दानी यहीँ गरिरहनु भएको छ।’

९ वर्ष विदेशमा रहँदा पनि घरको आर्थिक अवस्था उकास्न नसक्दा सन्तोष चिन्तित थिए। अहिले उनको आर्थिक अवस्था राम्रो हुँदै गएको छ। जेठी छोरी लक्ष्मी सरकारी विद्यालयमा १० कक्षामा अध्ययरत छिन् । छोरा सन्देश र कान्छी छोरी जमुना गाउँको निजी विद्यालयमा पढ्छन्।

अहिले परिवारका सबै सदस्यसँगै बसेर रमाइलो जिन्दगी बिताइरहेका छौं,’ सन्तोषले भने, ‘मेहेनत गर्याे भने पैसामात्र होइन्, सुख पनि यहीँ पाइन्छ भन्ने कुरा मैले मेरै जीवनमा अनुभूति गर्न पाएँ ।’ सन्तोषले अहिले आधुनिक खोर निर्माण गरेका छन् । पाँच वटा बोयर जातका बाख्रा छन् । तीन लाखमा सुरु गरेको व्यवसाय अहिले ३० लाखको हाराहारीमा पुगेको छ। बाख्रापालन व्यवसायलाई अझ विस्तार गर्नका लागि बारीभरी घाँसखेती गरेका छन्।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले पछिल्लो समय विदेशबाट फर्केका युवाहरु स्वरोजगारमा लागेको बताउँछन्। 

प्रकाशित: ७ जेष्ठ २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App