६ वैशाख २०८१ बिहीबार
समाज

विरामी भेटिएको रेडपान्डा मर्‍यो (फोटो फिचर)

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा दुर्लभ रेडपान्डा भेटिएको छ।  षडानन्द नगरपालिका ९ किमालुङ्गमा रहेको भालुखोला सामुदायिक वनमा रेडपान्डा भेटिएको हो। सामुदायिक वनको तिनसाझे भन्ने स्थानमा स्थानीय गणेश राईले विरामी अवस्थामा रेडपान्डा भेटेका थिए। 

बारीमा भेटिएको रेडपान्डा नभागेपछि राईले घर ल्याएर सामुदायिक वनका अध्यक्षलाई जानकारी गराएका थिए। सामुदायिक वनका अध्यक्ष दाजम्बु शेर्पाले इलाका वन कार्यालय दिंलालाई जानकारी गराएका थिए। विरामी अवस्थामा रेडपान्डा भेटिएको  नगरपालिकालाई वन कार्यालयले जानकारी गराएपछि नगरपालिकाले उद्दारका लागि गाडी पठाएको थियो। गाडीमार्फत उपचारको लागि दिउँसो ११ बजे नगरपालिकाको कार्यालयमा ल्याइएको थियो। नगरपालिका ल्याउँदा नै रेडपान्डाको अवस्था गम्भीर रहेको मेयर वीरवल राईले बताए। उपचार गर्ने क्रममा २ घन्टापछि रेटपान्डाको मृत्यु भएको हो। मुत्यु भएको रेडपान्डालाई  सर्जिमिन गरी इलाका वन कार्यालयमा गाडिएको रेन्जर जसबहादुर गुरुङ्गले बताए। 

रेडपान्डा भेटिएपछि हेर्नका नगरपालिकामा स्थानीयवासी भेला भएका थिए। भोजपुरको षडानन्द नगरपालिकाको किमालुङ्ग, कुदाककाउले, खार्तम्छाको लेकाली भेगमा रेडपान्डा देखिने गरेको उपमेयर मेरिका राईले बताइन्। यसअघि पनि मैयुम क्षेत्र आसपास रेडपान्डा भेटिने गरेको स्थानीयवासीले बताउँदै आएका छन्। 

रेडपान्डा रहेको षडानन्द नगरपालिका, साल्पासिलोछो गाउँपालिका र ट्याम्केमैयुम गाउँपालिकासंग समन्वय गरी यसको संरक्षण क्षेत्र घोषणा गरि पहल गरिने षडानन्द नगरपालिकाका मेयर राईले बताए। उनका अनुसार नगरपालिकाले विरामी रेडपान्डाको उद्दार गर्न सहयोग गर्ने गणेश राईलाई पुरस्कृत गर्ने भएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App