८ वैशाख २०८१ शनिबार
अर्थ

‘तरकारीका बिचौलियाले दुःख दिए प्रहरीलाई खबर गर्नुस्’

बनेपा– सार्वजनिक यातायातमा दशकौंदेखिको सिन्डिकेटको जालो तोड्नमा सहयोगी काभ्रे प्रहरीको ध्यान अब तरकारीलगायत कृषिउपजमा बिचौलियाको सिन्डिकेट तोड्ने अभियानमा केन्द्रित हुने भएको छ ।‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रमुख धिकारीज्यूबाट समेत सबै खालका सिन्डिकेट हटाउने निर्देशन आएको छ । अब पहिलो चरणमा तरकारीको सिन्डिकेट हटाउँछौं । यस कार्यमा सक्रिय रहन मातहतका चौकीलाई समेत निर्देशन दिइसकेको छु,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने।

काभ्रेका किसानले बिचौलियाकै कारण तरकारीको लागत मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका छन् । काभ्रेमा यतिखेर आलु खन्ने सिजन हो । यहाँ प्रतिकिलो २० देखि २२ रुपैयाँसम्ममा आलु बेच्न किसान बाध्य छन् । त्यही आलु काठमाडौंका उपभोक्ताकहाँ पुग्दा ६० रुपैयाँसम्म पुग्ने गरेको छ । अधिकांश तरकारीमा यस्तै छ ।
कृषि र पशु उत्पादनमा काभ्रे अग्रणी जिल्ला रहँदै आएको छ । यहाँका किसानहरुलाई बिचौलियाको मारबाट जोगाउन खड्काले अभियानकै रुपमा तरकारीका बिचौलिया हटाउने उद्घोष गरेका हुन् । बिचौलियाबाट ठगिएको महसुस हुनासाथ प्रहरी कन्ट्रोलको १०० नम्बर या एसपीकै मोबाइल नम्बर ९८५१२३५५५५ मा खबर गर्न पनि किसानलाई उनले आग्रह गरेका छन् ।

‘सहरी क्षेत्रमा खबर आएको १० मिनेटभित्रैमा क्विक रेस्पोन्स टिम पुग्नेछ र कारबाहीको प्रक्रिया अघि बढाउनेछौं । दुर्गम गाउँमा अलि ढिलो हुन सक्ला, तर त्यहाँ पनि कारबाही अघि बढ्नेछ,’ खड्काले पत्रकार भेटघाटमा भने, ‘अब काभ्रे जिल्लामा कुनै किसिमको सिन्डिकेट हुन दिने छैनौं । यसमा किसान, गाउँ÷नगरपालिकाका पदाधिकारी, नागरिक समाज र पत्रकारको सहयोग र सहकार्यको उत्तिकै खाँचो छ,’ खड्काले थपे।

ओटाङमा पनि नगरको कडाइ

 तरकारीमा हुने बिचौलिय अन्त्यका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कडाइ गर्न थालेको छ । दिक्तेलमा लाग्ने साप्ताहिक हाटबजारमा भइरहेको बिचौलिया प्रथा अन्त्यका लागि नगरपालिकाले कडाइ सुरु गरेको हो । सस्तो मूल्यमा एकमुष्ट तरकारी खरिद गर्ने र महंगोमा बिक्री गर्ने बिचौलिया प्रथाले उपभोक्ताको हातमा महंगो मूल्यमा तरकारी पुग्ने गरेको व्यापक जनगुनासो आएपछि बिचौलियाविरुद्ध कडाइ गर्नुपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

गोलभेंडा, काउली, आलु, प्याज, अदुवा, बन्दा, ब्रोकाउली, रायो, लसुन, धनिया, करेला, केराउ, फापर साग, सिम साग, तोरीको साग, सिमी जस्ता तरकारी तथा सागसब्जीमा भइरहेको बिचौलियका कारण हरेक थोकवस्तु पाँचदेखि २० रुपैयाँले महंगो भइरहेको उपभोक्ताको भनाइ छ । दिक्तेलको हरेक शनिबार र बुधबार लाग्ने हटियामा आउने तरकारी कतिपय व्यवसायीले बाटैमा खरिद गरेर त्यही बजारमै महंगो मूल्यमा बिक्री गर्ने क्रम बढ्दै गएकाले बिचौलिया अन्त्यका लागि नगरपालिकाले हाटका दिन बिहान ५.३० बजेदेखि ९ बजेसम्म ठेकेदारलाई एकमृष्ट तरकारी खरिदमा रोक लगाएको छ ।

उपभोक्ताले खरिद गरिसकेपछि मात्र तरकारी व्यवसायीले बिहान ९ बजेपछि मात्र तरकारी खरिद गर्न पाउने नियम लागू गरिएको मेयर रिजालले जनाए । नगरका अनुशार दिक्तेल बजारमा तरकारी व्यवसाय गर्दै आएका व्यवसायीलाई नै बोलाएर बिचौलिया अन्त्यका लागि सहयोग गर्न भनिएको छ । तरकारीमा भइरहेका बिचौलिय अन्त्यका क्रममा नगरपालिकाको नियमलाई बेवास्ता गर्ने व्यवसायीलाई प्रहरी परिचालन गरेर पक्राउ गरी कारबाही गरपालिकाले जनाएको छ।

दिक्तेल बजारमा केही व्यवसायीले बजारबाट तरकारी खरिद गरेर नाफा लिएर बिक्री गर्ने गरेका छन् । बजारमा ल्याइएका कृषि थोकवस्तु ठेकेदारले सस्तोमा खरिद गरेर त्यही बजारमा साहु बनेर नाफा लिएर बिक्री गर्न बस्ने गरेका छन् । तरकारी तथा फलफूलमा हुने बिचौलियाले व्यवसायीलाई फाइदा भए पनि किसान र उपभोक्ता मारमा परिरहेका खाल्लेका अगुवा कृषक केदार कट्वालले बताए । उपभोक्ताका अनुसार किसानबाट लिइने सामान सस्तो र बिचौलियाबाट खरिद गरिने सामान त्योभन्दा महंगो हुने गरेको छ ।

आपूले बिक्रीका लागि ल्याएको तरकारी छिटो बिक्री गर्दै घर फर्किने हतारोमा किसान हुन्छन् । त्यही भएर सकेसम्म उनीहरु चाँडोभन्दा चाँडो आफ्नो सामान बिक्री गर्न चाहन्छन् । त्यही हतारोमा बजार आउने किसानहरुले सस्तोमा सामान दिन तयार हुन्छन् । त्यसको फाइदा भने बिचौलीयाले उठाइरहेका कट्वालले बताए । बिचौलियाका कारण उपभोक्ता महंगो मूल्यमा सागसब्जी र तरकारी खरिद गर्न बाध्य छन् ।

प्रकाशित: ८ जेष्ठ २०७५ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App