७ वैशाख २०८१ शुक्रबार
अर्थ

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

काठमाडौं - वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तीव्र बहस चलिरहेको बेला रोजगारीको नाममा ठगिने क्रम भने रोकिएको छैन ।रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।

चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैतसम्म) वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै विभागमा एक हजार पाँच सय ८७ पीडितले न्यायका लागि उजुरी दिएका छन् । ती उजुरीमा मेनपावर र एजेन्टले विभिन्न प्रलोभन देखाएर ७८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको उल्लेख छ ।विभागका अनुसार दर्ता भएका उजुरीमध्ये मेनपावरद्वारा ठगीमा परेका सात सय ६९ छन् । त्यस्तै एजेन्टले ठगी गरेको भन्दै विभागमा आठ सय १८ उजुरी दर्ता भएका छन् । नौ महिनाको अवधिमा विभागमा परेको दाबीलाई आधार मान्दा हरेक महिना आठ करोड ६६ लाख रुपैयाँको हाराहारीमा वैदेशिक रोजगारीको प्रलोभनमा ठगी हुने गरेको देखिन्छ ।

उक्त रकम वैदेशिक रोजगार विभागमा पीडितले ठगीमा परेको भन्दै दिएको उजुरीको आधारमा निकालिएको हो । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगीमा परेर ग्रामीण भेगमा अलपत्र पर्नेको संख्या जोड्ने हो भने ठगीको रकम अझै बढी हुने देखिन्छ ।सरकारी, गैरसरकारी निकायले वैदेशिक रोजगारीमा जाँदा मेनपावरमार्फत जानुपर्छ भनेर प्रचारप्रसार गर्दै आइरहे पनि व्यक्तिगत ठगीको उजुरी हेर्दा सर्वसाधारणले त्यस्ता प्रचारप्रसारलाई बेवास्ता गरिरहेको पुष्टि हुन्छ । जति सम्झाइबुझाई गर्दा पनि सर्वसाधारणले बेवास्ता गर्न थालेपछि ठगीका घटना कसरी कम गर्ने भन्ने समस्या देखिएको विभागका कर्मचारी बताउँछन् ।

वैदेशिक रोजगारीका लागि नेपालबाट एक सय आठ मुलुकमा (हाल दुई देश बन्द) श्रम स्वीकृति लिँदै कामदार बिदेसिने गर्छन् । जसमध्ये धेरैजसो खाडी मुलुक र त्यसमा पनि साउदी अरेबिया, मलेसिया जस्ता देशमा जान खोज्ने बढी ठगिएको बताइन्छ । यसको साथै पढेलेखेका कतिपय युवायुवती युरोप, अमेरिकाको मोहमा पर्दा पनि ठगीमा परेको पाइएको छ ।व्यक्तिगत ठगीका उजुरी बढेको बेला मेनपावरद्वारा (संस्थागत) ठगीका उजुरी भने घटेको कर्मचारी बताउँछन् । नौ महिनाको अवधिमा विभागले व्यक्तिगत ठगीतर्फका एक सय ५६ वटा उजुरीका छिनोफानो लगाएको छ । एक सय ४३ वटा उजुरी अदालतमा दायर गरेको छ ।

व्यक्तिगत ठगीका उजुरी गर्ने ६ सय ५७ जनाले विभागमा ५४ करोड २२ लाख रुपैयाँभन्दा बढीको दाबी पेस गरेका छन् । विभागले भने ती उजुरीमा १२ करोड १० लाख रुपैयाँ मात्र पीडितलाई दिलाउन सकेको छ । यसैगरी, अदालतमा दायर भएका व्यक्तिगत ठगीतर्फकै उजुरीमा १८ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको कर्मचारी बताउँछन् ।
यसैगरी मेनपावरबाट ठगीमा परेको भन्दै उजुरी गर्ने कामदारमध्ये एउटा पनि उजुरी अदालतमा पेस गर्ने नपरेको अधिकारी बताउँछन् । व्यक्तिगत ठगीको उजुरीमा अमेरिका, युरोपका देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगिएका धेरै छन् ।

ठगी गर्ने व्यक्तिको संस्था पनि नहुँदा कारबाही गर्न समस्या परेको कर्मचारी बताउँछन् । मेनपावरले ठगी गर्दा कारबाही गर्न सहज हुने कर्मचारीको भनाइ छ । मेनपावर दर्ता हुँदा कम्तीमा ३० लाख रुपैयाँ विभागमा धरौटी राख्नुपर्ने र ठगी गरेको पुष्टि भए सोही रकमबाट क्षतिपूर्ति भराउन मिल्ने कर्मचारी बताउँछन् ।नौ महिनाको अवधिमा मेनपावरले ठगी गरेको भन्दै २४ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति माग गरिएको छ । मेनपावर र एजेन्टले ठगी गरेको भन्दै ७८ करोड रुपैयाँ भन्दा बढी दावी गरिए पनि विभागले भने १६ करोड रुपैयाँ मात्र पीडितलाई क्षतिपूर्ति दिलाउन सकेको छ ।

प्रकाशित: ८ जेष्ठ २०७५ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App