७ वैशाख २०८१ शुक्रबार
राजनीति

खनालले पोखे असन्तुष्टि

काठमाडौं – तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वरीयताक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणपछिको वरीयताक्रममा नेताहरुमाथि अन्याय गरिएको गुनासो गरेका हुन्।

तत्कालीन एमालेका वरिष्ठ नेतासहित दोस्रो मर्यादामा रहेका खनाललाई पार्टी एकीकरणपछि तेस्रो स्थानमा राखिएको छ। उनले बैठकमा नेतृत्वसँग आफूलाई किन तेस्रो क्रममा राखिएको भनेर प्रश्न गरेका थिए। वरीयताक्रम नसच्याए विद्रोह गर्ने चेतावनी दिँदै खनालले आफू स्वदेशमा नभएका बेला त्यस विषयमा कुनै छलफल नगरी वरीयताक्रम निर्धारण गरिएको गुनासो गरेका थिए।

नेता खनालले वरीयताका विषयमा पार्टी सचिवालय समितिको बैठकमा सविस्तारमा राखेको बताए। ‘पार्टीमा किन वरीयता तलमाथि गरियो? नेताहरुमाथि किन अन्याय भइरहेको छ? त्यसलाई तत्काल सच्याउन भनेको छु,’ खनालले नागरिकसँग भने, ‘उहाँहरुले त्यसलाई मिलाउँछौं भन्नुभएको छ, म प्रतीक्षामा छु।’

दुई पार्टी एकतापछिको वरीयतामा पार्टी नेता माधवकुमार नेपाललाई खनालभन्दा अघिल्लो रोलक्रममा राखिएको छ। दुई पार्टी एकीकरण हुँदा चीन भ्रमणमा रहेका खनाल आइतबार स्वदेश फर्केलगत्तै त्यसप्रति असन्तुष्टि पोखेका थिए।

प्रकाशित: ८ जेष्ठ २०७५ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App