७ वैशाख २०८१ शुक्रबार
समाज

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

रौतहट - रौतहटमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा परेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग कार्यालय पर्साको मातहतमा रही रौतहट सदरमुकाम गौरमा विभिन्न सडक तथा नाला निर्माणमा चरम लापरबाही गरिरहेका हुन् । दुई महिना पहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको सडक तथा नाला निर्माणअन्तर्गत केही खण्डमा ठेकेदारले नियमविपरीत मनोमानी तरिकाले काम गरेका हुन् ।
स्वचन्द, ढुकुछु, आश्रय जेभी बसुन्धार–३ ले करिब १ अर्ब ३५ करोड रूपैयाँ लागतमा गौर, राजदेवी नगरपालिका र यमुनामाइ गाउँपालिकामा सडक, नाला निर्माण गर्ने ठेक्का लिएका थिए । काम सुरु गरेदेखि नै उनीहरूले गुणस्तरहीन काम गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाउँदै आएका छन् । तर ठेकेदार कम्पनीले आफ्नो प्रवृत्तिमा कुनै परिवर्तन नगरी काम जारी राखेको स्थानीयको आरोप छ ।

नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने योजनाअनुसार व्यवस्थित सडक, नाला, सडक पेटी निर्माण गर्न सरकारले बजेट विनियोजन गरेपछि सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय पर्साले बोलपत्र आह्वान गरेको थियो । बोलपत्रबमोजिम उक्त निर्माण कम्पनीले ठेक्का लिएर गौर र राजदेवी नगरपालिकामा सडक तथा नाला निर्माण गरिरहेको छ।

तर सम्झौताविपरीत राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा सडकका दायाँबायाँ करिब पाँच फिट गहिरो खाल्डो खनेर सडक निर्माण गरेको देखिएको छ । टेन्डरमा उल्लेख नै नभएको ठाउँमा आफ्नै स्वार्थ पूर्तिका लागि ठेकेदार कम्पनीले दुईतिर ठूल्ठूला खाडल खनेर सडक निर्माण गरिरहेको स्थानीयको आरोप छ । वर्षाका बेला खाल्डोमा पानी भरिएर मान्छे मर्ने जोखिम बढेको स्थानीय बासिन्दा बताउँछन् ।

भारतीय सीमा क्षेत्र दशगजासित जोडिने गरी ठेकेदारले आफ्नै खुसीले पाँच सय मिटर बाटो बनाएर तस्करहरूलाई सजिलो बनाइदिएको स्थानीयको आरोप छ । सहरी विकास मन्त्रालयको ठेक्कामै नभएको ठाउँमा केही मान्छेको स्वार्थ पूरा गर्न ११ मिटर चौडा सडक खनिएको राजदेवी नगरपालिका ब्रहमपुरी टोलका दिलिप सिंहको आरोप छ । जुन सडक सिंहकै जमिन भएर गएको छ । आफ्नो खेतमा उखुबाली रहेकाले बाहिरबाट माटो ल्याएर सडक बनाउन अनुरोध गर्दा ठेकेदारले धम्की दिएको अर्का स्थानीय रामबहादुर राउतले गुनासो गरे ।

सिंह र राउत सडकपीडित प्रतिनिधि पात्र मात्र हुन् । ठेकेदारले गौर र राजदेवी नगरपालिकाका विभिन्न स्थानमा यसैगरी आफ्नै मनोमानीले जथाभाबी खाल्डो खन्दै सडक निर्माण गरिरहेका छन् । सडकका दुवैतिर खाल्डो बनाएर छाडिएका कारण बनेको पोखरीमा डुबेर गत वर्ष गरुडामा चार बालिकाको मृत्युसमेत भएको थियो ।ठेकेदारले सडक निर्माणका नाममा दायाँ–बायाँ ठूल्ठूला खाल्डो खनेर बालीनाली नष्ट गरेको भन्दै स्थानीय बासिन्दाले प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालालाई गुहारेपछि सहरी विकास तथा भवन निर्माण विभाग प्रमुख सुरेश वाग्ले, नागरिक समाजका अध्यक्ष जगन्नाथ केसरी सहितका पदाधिकारीले स्थलगत निरीक्षण गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता शम्भु साह कानुले ठेकेदार पक्षलाई सम्झौताबमोजिम गुणस्तरीय काम गर्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नगरेका कारण स्थानीय प्रशासनलगायत सरोकारवाला पक्षलाई गुहारिएको बताए । यस विषयमा सहरी विकास तथा भवन डिभिजन कार्यालयका सचिव एवं डिभिजन प्रमुखलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरेको उनको आरोप छ।

गत स्थानीय तह निर्वाचनमा मेयर पदका प्रत्यासीसमेत रहेका साहका अनुसार सडक निर्माण गर्दा १५ सेन्टिमिटर माटो हालेर पानी छ्यापी छ इन्चमा ल्याउनु पर्ने प्रावधान छ । तर यसो नगरी सरकारी निकायकै संलग्नतामा ठेकेदारले एकैचोटि पाँच फिट अग्लो सडक बनाएर आर्थिक लाभ लिन लागेको उनको आशंका छ । बालीको क्षति हुने किसानलाई क्षतिपूर्ति दिनुपर्ने र बाहिरबाट माटो ल्याएर सडक पुर्नुपर्ने नेता साहको माग छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको नेतृत्वमा गएको निरीक्षण टोलीले गौर र राजदेवी नगरका सडक निर्माणाधीन स्थलमा पुग्दा ठेकेदारले सडकको लेभलभन्दा धेरै माथि उठाएर नाला निर्माण गरेको पाइएको छ । कतै हात्ती डुब्ने खाल्डा त कतै सडकको सतहभन्दा धेरै अग्लो नाला बनाइएको पाइएपछि प्रमुख जिल्ला अधिकारी रिजालले निर्माण कम्पनीलाई राम्रो काम गर्न निर्देशन दिएका छन् ।नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केसरीले निर्माण कम्पनीका बदमासीले करोडौंका विकास निर्माण गुणस्तरहीन भइरहको भन्दै स्थानीय प्रशासनलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराए । लापरबाही गर्ने ठेक्केदारलाई कारवाही गरेर व्यवस्थित नालाको निर्माण गराउन उनले माग गरे ।

गत वर्ष गरुडामा सडक किनारमा बनाइएको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएपछि स्थानीय प्रशासनले ठेकेदार कम्पनीलाई जथाभाबी खाल्डो नबनाउन निर्देशन दिएको भए पनि ठेकेदारले वेवास्ता गर्दै आएको केसरीको आरोप छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साका प्रमुख वाग्लेले सडक निर्माणका क्रममा खनिएका खाल्डो पुर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको दाबी गरे । तर गौरस्थित जुद्ध माध्यमिक विद्यालय नजिक बनिरहेको नालाको लेवल ठिक भएको जिकिर गर्दै उनले नागरिक समाजको अनावश्यक विरोधका कारण काममा बाधा खडा भएको आरोप लगाए ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App