८ वैशाख २०८१ शनिबार
समाज

बालुवा गिट्टीमा पनि सिन्डिकेट

तामाकोसी नदीस्थित ढोली खोला क्षेत्रमा रहेको दोलखा श्री एकता रोडा ढुङ्गा उद्योगमा गिट्टी भर्दै गरेको टिपर । तस्बिर : नागरिक

दोलखा– जिल्लाको तामाकोसी गाउँपालिका ३ जफे स्थित ढोली खोला क्षेत्रमा रहेको एकता रोडा ढुङ्गा उद्योगमा हालै गिट्टी बालुवा लोड गर्न गएको सदरमुकामका एक निर्माण व्यवसायीको टिपर तिन दिन सम्म पालो कुरेर बस्यो।

‘गएको पहिलो दिनबाटै लाइनमा बसेपनि बिच बिचमा कम्पनी (क्रसर) का गाडी भन्दै लाइन भन्दा अगाडि छिराएर दर्जनौं टिपरलाई आफू भन्दा पछि पालो मिचेर लोड गरिएका कारण तिन दिनपछि मात्र बल्ल पालो आयो’, आइतबार जिल्ला निर्माण व्यवसायी संघको ‘डेलिगेसन’ मा प्रमुख जिल्ला अधिकारी  सागरमणी पाठक समक्ष गुनासो राख्दै सदरमुकामका एक निर्माण व्यवसायीले भने– ‘क्रसर सञ्चालकले सिन्डिकेट लादेर उसका आफ्ना व्यवसायिक साझेदार र महंगो रेट दिने ट्रिपरहरुलाई प्राथमिकता दिएर लोड गरिने कारण हामी र सर्वसाधारणले गिट्टी बालुवा नै सहज रुपमा पाएनौं।’

प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राख्ने ति व्यवसायीका अनुसार त्यस दिन क्रसरमा क्रसर मालिकका व्यवसायिक साझेदारहरुका गाडी, क्रसर मालिकले सञ्चालन गरेको आईसर गाडी कम्पनीको सो रुम बाट खरिद गरिएका ट्रिपरहरु र पावरका भरमा सञ्चालकले तोकेका टिपरहरुले मात्र गिट्टी बालुवा पाए। ‘तीन दिनपछि बल्ल पालो आयो’, उनले सुनाए– ‘यहाँ ल्याईपु-याउँदा एक ट्रिपर बालुवाको दैनिक घाटा पुर्ती सहित २४ हजार प-यो, जबकी अरु बेला आफ्नै गाडीमा सहज रुपमा ल्याउँदा १६ हजारसम्म आईपुग्थ्यो।’ 

तामाकोशी नदी आसपासमा सञ्चालित क्रसर उद्योगहरुले जिल्ला भित्रै निर्यात गर्ने गिट्टी बालुवामा सिन्डीकेट लगाउँदा निर्माण व्यवसायीसंगै सर्वसाधारण समेत ठगिएका छन्। गिट्टी बालुवामा व्यवसायीको सिन्डीकेट, कालोबजारी र मूल्यबृद्धीविरुद्ध ज्ञापन पत्र बोकेर आइतबार जिल्ला प्रशासन गएको टोलीले गिट्टी बालुवामा भइरहेको मुल्यबृद्धी र कालोबजारी तत्काल नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी पाठक समक्ष माग गरेका थिए। दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर कार्कीले तामाकोशी नदीबाट १६ हजारमा चरिकोट आइपुग्ने बालुवा प्रति टिपर २७ हजार सम्म तिर्नुपरेको गुनासो गरे। ‘एक त पाउनै गाह्रो, पाएपनि क्रसरदेखि ट्रिपर व्यवसायी सम्मलाई चर्को मुल्य तिर्नुपर्छ’, उप्रेतीले भने– ‘गिट्टी बालुवामा कालोबजारी र निर्माण सामग्रीमा ढाड सेकिने गरी भएको मुल्यबृद्धीले निर्माण व्यवसायी नराम्ररी मारमा परे।’ 

सर्वसाधारण र निमुखाले सितिमिती पाउँदैनन्  

दोलखाको तामाकोसी नदी आसपासमा ५ ओटा क्रसर छन्। ति मध्ये दुई ओटा नागदह र सिंगटी साथै तिन ओटा तामाकोसी मन्थली– सडक खण्डको क्षेत्रमा पर्छ। सेराबेसीमा समेत एउटा छ। 

नागदह र सिगंटीको क्रसरले उत्तरी क्षेत्रमा सामान निर्यात गर्छन भने तामाकोसी मन्थली सडक क्षेत्रमा रहेकाले उत्तरी क्षेत्र बाहेक जिल्लाका सबै भुभागहरुका निम्ती गिट्टी बालुवा निर्यात गर्छन्। नागदहको क्रसर सडक निर्माण आयोजनाको ठेकेदारले सडक कालोपत्रे गर्नका निम्ती सञ्चालनमा ल्याएकाले आयोजना भन्दा बाहिर गिट्टी बालुवा दिँदैन्। सिगंटीमा रहेको क्रसरले उत्तरी क्षेत्रमा सप्लाई गर्छ। उत्तर बाहेक जिल्लाका अन्यत्रको ठुलो भुभागमा गिट्टी बालुवा दिने कारण तामाकोसी– मन्थली सडक क्षेत्रमा रहेका तिन ओटा क्रसरमा टिपरहरुको बढी भिड हुन्छ।

यी तीन वटा क्रसर व्यवसाय चलाउनेहरुले आफ्नै सिन्डीकेट लगाउँछन्। निर्माण व्यवसायीहरुका अनुसार ढोलीखोलामा रहेको एकता रोडा ढुङ्गाले हत्तपत्त सर्वसाधारण र सामान्य निर्माण व्यवसायीलाई सितिमिती सामान दिँदैन। यसका सञ्चालक पृथ्वी बहादुर बहादुर श्रेष्ठको सदरमुकाम चरिकोटमा आईसर गाडीको सोरुम र हाड्वेयर व्यवसाय छ। ठेक्का पट्टा, सामान सप्लाईका कामहरु पनि गर्ने श्रेष्ठको अस्पताल र बोर्डिङ स्कुलहरुमा पनि लगानी छ। 

यहाँ सामान भर्न जाने साना निर्माण व्यवसायीहरुका अनुसार गिट्टी बालुवा भर्न पालो कुरेर बसेका गाडीहरुलाई पछि पारेर आईसर कम्पनीका ट्रिपर हरेक दिन अगाडि नै लोड गरेर फर्किन्छन्। यस्तै क्रसर कम्पनीका गाडी रहेको भन्दै केही टिपरहरुले साहुकै दबाबमा प्रत्येक दिन सहज रुपमा पालो पाउँछन्। ‘हामीलाई देखावटी रुपमा कुपन बाडे जस्तो गरिन्छ’, एक ट्रिपर चालकले भने– ‘तर कम्पनी साहुको टिपर र आईसर कम्पनीको गाडी भनेर पालो मिचिन्छ, त्यसैले कहिले काही त ३ दिनसम्म पर्खनुपर्छ।’ 

तामाकोसी क्षेत्रकै गोपीखोलामा रहेको तामाकोसी रोडा ढुङ्गा उद्योगमा पनि उस्तै अवस्था छ। यहाँ समेत श्रेष्ठ र स्थानीय सुरेश उप्रेतीको लगानी छ। यो क्रसरमा पनि ढोली खोला जस्तै तरिका छ। दुवै क्रसरहरुमा बालुवा गिट्टी भर्न क्रसरमा रहेका स्काबेटरका अपरेटरहरुले टिपरबाट एक हजार देखि १५ सय रुपैंया असुल्ने गरेको गुनासो समेत सर्वसाधारण र टिपर चालकको छ। बालुवा गिट्टी भर्न लाईनमा बसेका गाडीहरुले छिन छिनमा बालुवा गिट्टी प्रति मिटर एक सय देखि ५ सय सम्म बढाउने गरेको समेत गुनासो गरे।  

तामाकोसी रोडा ढुङ्गा र एकता रोडा ढुङ्गा, सिगंटीमा रहेको भीमेश्वर ईन्डष्ट्रीज सहित जिल्लाका ४ ओटा क्रसर उद्योग कम्पनी रजिष्टार, कर कार्यालयको कार्यालयमा दर्ता भएपनि त्यही नजिकै स्थानीय सीताराम उप्रेतीले सञ्चालन गरेको अर्को क्रसर दर्ता भएको कागजात जिल्ला समन्वय समिति र बिद्युत प्राधिकरणमा भेटिदैन्। बिद्युत प्राधिकरणमा बिजुलीको लाइन लिनका निम्ती क्रसर उद्योगहरुले कागजात बुझाउनुपर्छ। 

सदरमुकाम सहित गाउँतिर गिट्टी बालुवा ओसार्ने टिपरहरुका भाडा उस्तै महंगा छन्। क्रसरबाट समयमै सामान पाउन नसकेको, डिटेन बस्नु परेको लगायतका कारण देखाएर सर्वसाधारणबाट चर्को मुल्य असुल्छन्। 

एकता रोडा ढुङ्गा उद्योगका सञ्चालक पृथ्वी श्रेष्ठले बालुवा गिट्टीमा सिन्डिकेट लगाएको कुरा ईन्कार गरे। ‘हामीले जति बैज्ञानिक मापदण्ड बनाएर सबैको पालो आउने गरी कुपन सिस्टममा गिट्टी बालुवा वितरण कसैले पनि गरेका छैनौं’, उनले भने – ‘यो मिथ्या आरोप हो।’ उनले आईसर कम्पनीका गाडीलाई मात्र गिट्टी बालुवा दिएको प्रमाण देखाउनेलाई टिपर नै उपहार दिने बताए। ‘नचाहिने आरोप त लगाउनुहुन्न नी’, उनले भने– ‘आईसर कम्पनीलाई मात्र गिट्टी बालुवा दिइएको र क्रसर सञ्चालकले सिन्डिकेट लगाएर सर्वसाधारण र निर्माण व्यवसायीलाई सामान सहज रुपमा नदिएको आरोप झुठा हुन्।’ 

प्रमुख जिल्ला अधिकारी पाठकले क्रसर उद्योगहरुबाट गिट्टी बालुवा वितरणमा भईरहेको मनपरी रोकेर प्रशासनले सहज रुपमा सबैले सामान पाउने वातावरण बनाउने बताए। ‘गुनासो आएको छ’, उनले भने – ‘अनुसन्धान गरेर गल्ती देखिए कारबाही गर्छु।’ 

प्रकाशित: ८ जेष्ठ २०७५ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App