coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बोक्सीको आरोपमा जनप्रतिनिधिबाटै कुटिइन गीता

बोक्सीको आरोपमा कुटिएर उपचारको लागि गौर अस्पतालमा भर्ना भएकी गीतादेवी राम । तस्बिर : नागरिक

रौतहट– रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन्। गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन्।

जेठानी सुमित्रा देवीको छोरा विजय राम गत एक बर्षदेखि विरामी रहेको उनको उपचार गराउँदा पनि निको नहुँदा धामी झाक्रीले ‘तिम्रो देवरानी गीताले बोक्सी लगाएको कारण छोरा निको हुन नसकेको हो’ भन्ने बताएपछि हिजो साँझ जेठानीसंगैं जेठाजु चुन्नी राम, उनका छोराहरु संजय, रंजय लगायतका आफन्तहरु लछारपछार गरेर निर्घात कुटपिट गरेको पीडिताले बताएकी छिन््।

कुटपिटबारे सोमबार साँझ नै प्रहरीलाई जानकारी गराएको गीताले बताइन्। गीताको श्रीमानलाई समेत दाजुलगायतले पनि कुटपिट गरेका छन्। आफ्नै जेठानी र जेठाजुबाट बोक्सीको आरोप लगाई कुटपिट गरेकोमा उनीहरुलाई कारवाही हुनुपर्ने गीताको माग छ।  

जेठानीको छोरा विजय विरामी पर्दा दुई पटक गरेर साढे २१ हजार रुपैया दिएको सोही रुपैयाँ माग गर्दा विभिन्न आरोप लगाएर मर्नेगरी कुटेको दुखेसो उनले पोखेकी छिन्। जेठाजुले शरीरको विभिन्न स्थानमा प्रहार गरेको भन्दै उनले प्रश्न गरिन– ‘मैले के विगारेको थिए, मलाई यस्तो दिन देखिनु पर्यो।’ गीतासंगै उनकी अर्की जेठानी मिनादेवी रामले हिजो साँझ एक्कासी बोक्सी भन्दै कुट्न थाल्दा छिमेकीहरु टुलुटुलु हेरेर मात्रै बसेपनि आफूले प्रतिवाद गर्दा मलाई समेत कुटेको बताइन्। 

बोक्सीको आरोप लगाएर कुटपिट गरेकी महिला सुमित्रा स्थानीय तहको निर्वाचनमा गौर नपा वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित भएकी थिइन्। जिम्मेवार पदाधिकारीद्वारा बोक्सी भनेर कुटपिट गरिनु अत्यन्तै निन्दनीय कार्य भएको चन्देश्वर राउतले बताए। एक्काइसौं शताब्दीमा पनि बोक्सी भनेर कुटपिट गर्नु कानूनी राज्यको उपहास गर्नु सरह रहदा पीडकहरुलाई कानुन बमोजिम कारवाही हुनुपर्नेमा जोड दिए।

जिल्ला अस्पताल गौर आकस्मिक कक्षका प्रमुख रबीन्द्र झाले बोक्सी भनेर कुटपिटबाट घाइते महिलाको शरीरको प्राइवेट पार्टदेखि लिएर शरीरको विभिन्न स्थानहरुमा कुटपिट गरेको देखिएको बताए। 

गीतालाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गर्ने पक्ष फरार भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबीन्द्र केसीले घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए। एसपी केसीले भने– पीडकहरुको खोजी कार्य जारी रहेको छ, अनुसन्धानपछि वास्तविक दोषी ठहर भएमा कानून बमोजिम कारवाही हुन्छ।’

प्रकाशित: ८ जेष्ठ २०७५ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App