८ वैशाख २०८१ शनिबार
अर्थ

अघोषित लोडसेडिङले सर्लाहीका उपभोक्ता हैरान

सर्लाही - गत वैशाख ३१ गतेबाट औद्योगिक क्षेत्रको लोडसेडिङ समेत हटाउँदै नेपाल विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङ मुक्त घोषणा गर्यो । ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको थियो।

तर सर्लाही भने पटक–पटक गरेर दैनिक तीनदेखि चार घन्टा अघोषित लोडसेडिङको चपेटाबाट मुक्त हुन सकेको छैन । पटक–पटक हुने गरेको विद्युत् अवरोधले समस्यामा पारेको भन्दै सोमबार नेपाल विद्यार्थी संघ जनज्योती बहुमुखी क्याम्पस इकाई समितिले विद्युत् प्राधिकरण लालबन्दीमा सुधारको मागसहित ज्ञापन पत्र बुझाएको छ ।

समितिका अध्यक्ष सुमितराज काफ्ले नेतृत्वको विद्यार्थी समूहले अघोषित रुपमा भइरहेको लोडसेडिङबाट सर्लाहीलाई मुक्त गराउने मागसहित ज्ञापन पत्र बुझाएको हो । मुलुक लोडसेडिङ मुक्त घोषणा भएपनि सर्लाहीमा अघोषित लोडसेडिङ भइरहेकाले सुधारको मागसहित ज्ञापन पत्र बुझाइएको विद्यार्थी नेता काफ्लेले जानकारी दिए । ‘पटक–पटक विद्युत् अवरोध हुँदा विद्यार्थीलाई पढाईमा निकै समस्या भइरहेको छ,’ उनले भने, ‘चर्को गर्मी मौसममा विद्युत् अभाव हुँदा हाते पंखा चलाएर आमउपभोक्ता घरभित्र बस्नै नसक्ने अवस्था छ ।’त्यस्तै विद्यार्थीको ज्ञापन पत्रमा प्राधिकरणको काउन्टरमा विद्युत् महसुल बुझाउन घन्टौं लाइन बस्नुपर्ने, विद्युत् मिटर समयमै उपलब्ध नगराइने र गराइहाले पनि मिटर जडानमा कर्मचारीबाट अनाधिकृत रकम असुल्ने परिपाटी अन्त्य गर्न समेत माग गरिएको छ ।

पछिल्लो समय आमउपभोक्ताले खानेपानीका लागि स्यालो ट्युबेलको साटो विद्युतीय समर्सेबुल जडान गर्ने गरेका कारण बिजुली नहुँदा खानेपानीको समेत समस्या बेहोर्नु परिरहेको ज्ञापन पत्र बुझाउने टोलीमा सहभागी नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले गुनासो गरे।

प्राधिकरण लालबन्दीका निमित्त प्रमुख एवं इन्जिनियर नविन यादवले रौतहटको चन्द्रनिगाहपुरस्थित सबस्टेसनबाट ३३ केभी लाइन तान्नु परेकाले पटक–पटक समस्या आइरहेको जानकारी दिए । ‘चन्द्रनिगाहपुरबाट हरिपुरसम्म ३७ किलोमिटर लामो दूरीमा ३३ केभी लाइन तान्नु परेको छ,’ उनले भने, ‘त्यसमापनि २० किमि वन क्षेत्र नै पर्छ, जसले गर्दा रुखहरु ढलेर अवरोध पुर्याउने गरेको छ ।’

विशेषगरी जंगल क्षेत्रको अवरोध तथा जिल्लाभित्रै पनि सबस्टेसनको पावर ट्रान्सफर लगायत उपकरण तथा ग्रामीण भेकका उपकरणसमेत निकै पुराना र कम क्षमताका तर माग भने निकै बढी भएकाले पनि नियमित विद्युत् सुचारु गर्न समस्या भइरहेको यादवले जानकारी दिए ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App