७ वैशाख २०८१ शुक्रबार
राजनीति

नीति तथा कार्यक्रम घोषणाको पुलिन्दा : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली जनताको समृद्धिको चाहना प्राथमिकतामा नपरेको ठहर गरेको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बिहान विज्ञसहितको संसदीय दल बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो घोषणाको पुलिन्दामात्र रहेको ठहर गरेको हो।

नयाँ संविधान जारी भएसँगै तीनै तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा सरकारले एक वर्षभित्र गर्ने कार्यक्रम र प्राथमिकताको स्पस्ट खाका जनताले खोजे पनि नीति तथा कार्यक्रममा आगामी एक वर्षभित्र कुनकुन काम गर्ने प्रस्ट नरहेको कांग्रेसको आरोप छ।

‘वर्ष दिनभित्र केके गर्ने प्रस्ट धारणा सरकारले ल्याउन सकेको छैन,’ प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताद्वारा निर्वाचित संविधानसभाले संविधान निर्माण गरी तीनै तहको निर्वाचन सम्पन्न भैसकेको अवस्थामा जनताको समृद्धिको चाहना पूरा हुने प्राथमिकता नीति तथा कार्यक्रममा उल्लेख नभएको बैठकले ठहर गरेको छ।’

नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनताको घरआँगनमा सरकारको सेवा र सुविधा पु¥याउने सबैको प्रतिबद्धता र जनताको चाहनालाई बेवास्ता गरिएको कांग्रेसको भनाइ छ। ‘स्थानीय तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक ल्याइएको छैन,’ विज्ञप्तिमा भनिएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संस्था र त्यसका सदस्यको अपमान गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। ‘सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई सम्मानसूचक सम्बोधन नगरेको तर्फ नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले विगतमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्माननीय र सांसदलाई माननीय सम्बोधन गर्ने प्रचलन रहे पनि सोमबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले त्यसलाई बेवास्ता गरेकी थिइन्।

बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू, पूर्वअर्थमन्त्रीहरूले नीति तथा कार्यक्रमका सकारात्मक र नकारात्मक पक्षका विषयमा कांग्रेस सांसदलाई जानकारी गराएका थिए।

यसैबीच कांग्रेस नेता रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम मूल चरित्रभन्दा बाहिर रहेको आरोप लगाएका छन्। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्रीसमेत रहेका उनले नीति तथा कार्यक्रममा समावेश गरिएका लक्ष्य प्राप्त गर्न नसकिने दाबी गरे। सपना बाँडिए पनि त्यसलाई कार्यान्वयन गर्ने योजना नभएको आरोप लगाउँदै डा. महतले भने, ‘आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउँछौं भनिएको छ। त्यसका लागि वर्षमा १५ प्रतिशतको आर्थिक वृद्धि हुनुपर्छ, यो दुनियाँमा त्यो सम्भव छैन। बढीमा ७ देखि ८ प्रतिशतमात्रै हो।’   

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App