coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्रसरमा पनि सिन्डिकेट

दोलखाको तामाकोसी नदीस्थित ढोली खोला क्षेत्रमा रहेको दोलखा श्री एकता रोडा ढुंगा उद्योगमा गिटी भर्दै गरेको ट्रिपर ।तस्बिर : रमेश/नागरिक

दोलखा - जिल्लाको तामाकोसी गाउँपालिका–३, जफेस्थित ढोलीखोला क्षेत्रमा रहेको एकता रोडा ढुंगा उद्योगमा हालै गिटी, बालुवा लोड गर्न गएको निर्माण व्यवसायीको ट्रिपर तिन दिनसम्म पालो कुरेर बस्यो।

‘गएको पहिलो दिनबाटै लाइनमा बसे पनि बीचबीचमा कम्पनी (क्रसर)का गाडी भन्दै लाइनभन्दा अगाडि छिराएर दर्जनौं ट्रिपरलाई पालो मिचेर लोड दिएका कारण तीन दिनपछि मात्र बल्ल पालो आयो,’ आइतबार जिल्ला निर्माण व्यवसायी संघको डेलिगेसनमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सागरमणि पाठकसमक्ष गुनासो राख्दै ती निर्माण व्यवसायीले भने । ‘क्रसर सञ्चालकले सिन्डिकेट लादेर उसका आफ्ना व्यावसायिक साझेदार र महँगो रेट दिने ट्रिपरलाई प्राथमिकता दिँदा हामी र सर्वसाधारणले गिटी, बालुवा पनि सहज रुपमा पाएनौं ।’

प्रजिअसमक्ष गुनासो राख्ने ती व्यवसायीका अनुसार त्यस दिन क्रसर मालिकका व्यावसायिक साझेदारका गाडी, क्रसर मालिकले सञ्चालन गरेको आइसर गाडी कम्पनीको सोरुमबाट खरिद गरिएका ट्रिपर र पावरका भरमा सञ्चालकले तोकेका ट्रिपरले मात्र गिटी, बालुवा पाए । ‘तीन दिनपछि बल्ल पालो आयो,’ उनले सुनाए, ‘यहाँ ल्याइपु¥याउँदा एक ट्रिपर बालुवाको दैनिक घाटापूर्तिसहित २४ हजार पर्यो, जबकी अरु बेला आफ्नै गाडीमा सहज रुपमा ल्याउँदा १६ हजारसम्ममा आइपुग्थ्यो।’

तामाकोसी नदी आसपास क्षेत्रमा सञ्चालित क्रसर उद्योगले जिल्लाभित्रै निर्यात गर्ने गिटी, बालुवामा सिन्डिकेट लगाउँदा निर्माण व्यवसायीसँगै सर्वसाधारण समेत ठगिएका छन् । गिटी, बालुवामा व्यवसायीको सिन्डिकेट, कालोबजारी र मूल्य वृद्धिविरुद्ध ज्ञापनपत्र बोकेर आइतबार जिल्ला प्रशासन गएको टोलीले गिटी, बालुवामा भइरहेको मूल्यवृद्धि र कालोबजारी तत्काल नियन्त्रण गर्न प्रजिअ पाठकसमक्ष माग गरेका थिए।

दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर कार्कीले तामाकोसी नदीबाट १६ हजारमा चरिकोट आइपुग्ने बालुवा प्रतिट्रिपर २७ हजारसम्म तिर्नुपरेको गुनासो गरे । ‘एक त पाउनै गाह्रो, पाए पनि क्रसरदेखि ट्रिपर व्यवसायीसम्मलाई चर्को मूल्य तिर्नुपर्छ,’ उप्रेतीले भने, ‘गिटी, बालुवामा कालोबजारी र निर्माण सामग्रीमा ढाड सेकिने गरी भएको मूल्यवृद्धिले निर्माण व्यवसायी नराम्ररी मारमा परे ।’

सर्वसाधारण र निमुखाले सितिमिति पाउँदैनन्
दोलखाको तामाकोसी नदी आसपासमा पाँचवटा क्रसर छन् । तीमध्ये दुइटा नागदह र सिँगटी साथै तीनवटा तामाकोसी–मन्थली सडक खण्ड क्षेत्रमा पर्छन् । सेराबेसीमा समेत एउटा छ । नागदह र सिँगटीको क्रसरले उत्तरी क्षेत्रमा सामान निर्यात गर्छन् भने तामाकोसी–मन्थली सडक क्षेत्रमा रहेकाले उत्तरी क्षेत्रबाहेक जिल्लाका सबै भूभागका निम्ति गिटी, बालुवा निर्यात गर्छन् ।

नागदहको क्रसर सडक निर्माण आयोजनाका ठेकेदारले सडक कालोपत्रे गर्नका लागि सञ्चालनमा ल्याएकाले आयोजनाभन्दा बाहिर गिटी, बालुवा दिँदैन । सिँगटीमा रहेको क्रसरले उत्तरी क्षेत्रमा सप्लाई गर्छ । उत्तर बाहेक जिल्लाका अन्यत्र धेरै ठाउमा गिटी, बालुवा दिने भएकाले तामाकोसी–मन्थली सडक क्षेत्रमा रहेका तीनवटा क्रसरमा ट्रिपरको बढी भीड हुन्छ।

यी तीनवटा क्रसर व्यवसाय चलाउनेले आफ्नै सिन्डिकेट लगाउँछन् । निर्माण व्यवसायीका अनुसार ढोलीखोलामा रहेको एकता रोडा ढुंगाले हतपति सर्वसाधारण र सामान्य निर्माण व्यवसायीलाई सामान दिँदैन । यसका सञ्चालक पृथ्वीबहादुर श्रेष्ठको सदरमुकाम चरिकोटमा आइसर गाडीको सोरुम र हार्डवेयर व्यवसाय छ । ठेक्कापट्टा, सामान सप्लाईको काम पनि संलग्न श्रेष्ठको अस्पताल र बोर्डिङ स्कुलमा पनि लगानी छ ।

यहाँ सामान भर्न जाने साना निर्माण व्यवसायीका अनुसार गिटी, बालुवा भर्न पालो कुरेर बसेका गाडीलाई पछि पारेर आइसर कम्पनीका ट्रिपर हरेक दिन अगाडि नै लोड गरेर फर्किन्छन् । त्यस्तै, क्रसर कम्पनीका गाडी रहेको भन्दै केही ट्रिपरले साहुकै दबाबमा प्रत्येक दिन सहज रुपमा पालो पाउँछन् । ‘हामीलाई देखावटी रुपमा कुपन बाँडे जस्तो गरिन्छ,’ एक ट्रिपर चालकले भने, ‘तर कम्पनी साहुको ट्रिपर र आइसर कम्पनीको गाडी भनेर पालो मिचिन्छ, त्यसैले कहिलेकहीं त तीन दिनसम्म पर्खनुपर्छ ।’

तामाकोसी क्षेत्रकै गोपीखोलामा रहेको तामाकोसी रोडा ढुंगा उद्योगमा पनि उस्तै छ । यहाँ समेत श्रेष्ठ र स्थानीय सुरेश उप्रेतीको लगानी छ । यो क्रसरमा पनि ढोलीखोला जस्तै तरिका छ । दुवै क्रसरमा बालुवा, गिटी भर्न क्रसरमा रहेका स्काभेटरका अपरेटरले ट्रिपरबाट एक हजारदेखि १५ सय रुपैयाँ असुल्ने गरेको गुनासो सर्वसाधारण र ट्रिपर चालकको छ । बालुवा, गिटी भर्न लाइन बसेका गाडीले छिनछिनमा बालुवा, गिटी प्रतिमिटर एक सयदेखि पाँच सयसम्म बढाउने गरेको उनले गुनासो गरे ।

तामाकोसी रोडा, ढुंगा र एकता रोडा ढुंगा, सिँगटीमा रहेको भीमेश्वर इन्डस्ट्रिजसहित जिल्लाका चारवटा क्रसर उद्योग कम्पनी रजिस्ट्रार, कर कार्यालयमा दर्ता भए पनि त्यहीनजिकै स्थानीय सिताराम उप्रेतीले सञ्चालन गरेको अर्को क्रसर दर्ता भएको कागजात जिल्ला समन्वय समिति र विद्युत् प्राधिकरणमा भेटिँदैन । प्राधिकरणमा बिजुलीको लाइन लिनका निम्ति क्रसर उद्योगले कागजात बुझाउनुपर्छ ।प्रजिअ पाठकले क्रसर उद्योगबाट गिटी, बालुवा वितरणमा भइरहेको मनपरी रोकेर प्रशासनले सहज रुपमा सबैले सामान पाउने वातावरण बनाउने बताए । ‘गुनासो आएको छ,’ उनले भने, ‘अनुसन्धान गरेर गल्ती देखिए कारबाही गर्छु।’

ट्रिपर नै महँगा
सदरमुकामसहित गाउँतिर गिटी, बालुवा ओसार्ने ट्रिपरको भाडा उस्तै महँगो छ । क्रसरबाट समयमै सामान पाउन नसकेको, डिटेन बस्नुपरेको लगायत कारण देखाएर सर्वसाधारणबाट चर्को मूल्य असुल गरिन्छ ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App