८ वैशाख २०८१ शनिबार
अर्थ

निगालो बुनेर मासिक ३५ हजार कमाइ

तस्बिर : सरिता /नागरिक

धादिङ - बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्छन् । खुला ठाउँमा जस्ताले छाएको टहरामा निगालोका सामग्री बनाएर चेपाङ दम्पतीले दैनिकी गुजारा गर्छ ।

थोरै जग्गा भाडामा लिएर काम थालेका र मासिक कमाइ ३५ हजार रुपैयाँ रहेको चेपाङ बताउँछन् । ‘काम भनेको सानो ठूलो हुँदैन,’ चेपाङलेवार्षिक ३५ हजार रुपैयाँ जग्गाको भाडा बुझाएर मासिक ३५ हजार कमाइ हुन्छ ।’ अहिले आम्दानीको गतिलो माध्यम बनेको चेपाङ बताउँछन्।

गोपाल चेपाङ जन्मजात अपांग हुन् । उनले पढ्न पाएनन् । अपांग भएपछि सानो हुँदा साथीभाइले जिस्काउने र पिट्नेसमेत गर्थे । तर उनले हिम्मत हारेनन् । गाउँमा सबैले निगालोको चोयाबाट डोको, थुन्से बुन्थे । उनले पनि त्यसको सिको गरिसकेका थिए । २०६५ मा काठमाडौंमा निगालोको चोयाबाट सामान बनाउने तालिम लिने मौका पाए । तालिम लिएर काम पनि थाले । आम्दानी हुन थालेपछि धादिङम आएर आफैंले व्यवसाय सुरु गरे । उनीसँग पहेँलो रंगको अपांगता परिचयपत्र छ । सार्वजनिक सवारीसाधनमा हिँड्डुल गर्न गाह्रो हुने उनी बताउँछन् ।

निगालोको चोयाबाट कपडा स्ट्यान्ड, टेबल, कुर्सी, डोको लगायत सामग्री विभिन्न आकारमा बनाउने गरेको चेपाङ बताउँछन् । ‘निगालोबाट बनाइएका सर–सामानको बजार सजिलैसँग पाइने र घरखर्च समेत राम्रोसँग चलेको छ,’ चेपाङले भने, दुई छोराछोरी पढाउन र घरखर्च चलाउन पुगेको छ ।’ यसरी बनाएको सामान धादिङबेसी काठमाडौं, पोखरा, चितवन लगायत बजारमा निर्यात हुने गर्छ । बुनेका सामान बेच्नका लागि टाढा जानु नपरेको र बजारको पनि समस्या नभएको चेपाङको भनाइ छ।

उनीहरुले सामान बनाउन आवश्यक निगालोको चोया जिल्लाको गजुरी गाउँपालिकाको न्यारेबासबाट ल्याउने गरेका छन् । ग्रामीण भेगमा निगालो त्यतिकै खेर गइरहेको हुन्छ । ती खेर गएका निगालो ल्याएर उनी विभिन्न आकारमा घरायसी प्रयोगका सामग्री बनाउने गर्छन् । सुरुमा चोया काढ्न सिकेका उनले अहिले विभिन्न आकार र प्रकारका सामग्री बनाउँछन् । उनलाई श्रीमती सरिता चेपाङले पनि साथ दिएकी छन् । श्रीमतीले चोया काढ्ने, गोपालले आकार प्रकारको सामान बनाउने गरेका छन् ।

जीवननिर्वाहका लागि अरुको मुख ताक्नु नपरेको गोपालको श्रीमती सरिता चेपाङ बताउँछिन् । जीवन निर्वाहको आधार बन्दै आइरहेको निगालो खेतीलाई व्यवसायिक गरिदिए आयआर्जनको माध्यम बन्ने चेपाङ बताउँछिन् । ‘पुस्तौदेखिको आयआर्जनको माध्यम लोभ हुने हो कि भन्ने डर लाग्छ,’ चेपाङले भनिन्, ‘आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा सबैले ध्यान पु¥याउनुपर्छ ।’ जमिन धेरै भए पनि भिरालो र कम खेतीयोग्य जग्गामा निगालो खेती गर्नेहरुको पनि आयस्तरमा सजिलैसँग वृद्धि गर्न सकिने चेपाङ बताउँछन्।

बाँस वा निगालोबाट चोया निकाल्नु अनि डोको बुन्नु र त्यसलाई बजारमा बेच्नु चेपाङ दम्पतीको दैनिकी हो । अहिले बुढेसकालको साहारा नै यही बनेको उनीहरु बताउँछन् । निगालोबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन् । तर पछिल्लो समय प्लास्टिकका सामग्रीको प्रयोगले यस्ता सामग्री लोप हुने अवस्थामा पुगेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रको रुविभ्याली, गंगाजमुना, खनियाबासका तामाङ समुदाय तथा दक्षिणी क्षेत्रको बेनिघाट रोराङ, गजुरीका चेपाङ समूदायले निगालोबाट आकारप्रकारका सामग्री बनाएर बेच्ने गर्छन् । सामान बनाउन लागि आवश्यक निगालोको चोयाको समस्या हुने गरेको उनीहरु बताउँछन् । ग्रामीण क्षेत्रमा बजारीकरण र बाटोको समस्याले पनि माग अनुसारको सामानहरु निर्यात गर्न नसकिएको किसानहरु बताउँछन् ।
निगालोको चोयाबाट विभिन्न सामग्रीहरु बनाउँदै चेपाङ दम्पती ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App