coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्थलगत अध्ययन सुरू

काठमाडौं - सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी सुरु गरिरहेको बेला चिनियाँ रेलका प्राविधिक टोलीले प्रस्तावित काठमाडौं–केरुङ रेलमार्गको दोस्रो अध्ययन सुरु गरेको छ । आइतबार नेपाल आइपुगेको सात सदस्यीय टोलीले मंगलबारदेखि काठमाडौं–केरुङ रेलमार्गको अध्ययन सुरु गरेको हो । ६ महिनाअघि चिनियाँ टोली पहिलो अध्ययन गरिसकेको छ ।

नेपाल आइपुगेको चिनियाँ टोलीले मंगलबारबाट स्थलगत अध्ययन सुरु गरेको विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । ‘अहिले टोली स्थलगत अध्ययनको लागि निस्किकेको छ,’ चिनियाँ टोलीमा सहभागी भएका उपाध्यायले भने, ‘टोलीले रेलमार्गको विशेष अध्ययन गर्नेछ ।’ वैशाखको दोस्रो हप्ता चीनमा भएको दुई देशबीचको संयुक्त बैठकमा रेलमार्ग अध्ययन गर्न चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इस्टिच्युटलाई नियुक्त गरेको थियो । सोही कम्पनीका सात प्रतिनिधि रेलमार्गको अध्ययन गर्न नेपाल आइपुगेका हुन्।

उनका अनुसार उक्त रेलमार्गको अध्ययन गर्न कम्तीमा सात दिन लाग्ने र त्यो अवधिमा नसकिए समय थप गरिनेछ । टोलीले केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बनाउँदा गर्नुपर्ने सम्पूर्ण पक्षको अध्ययन गर्नेछ । यसअघि चिनियाँ टोलीले गरेको प्रारम्भिक अध्ययन र त्यसको अलाइमेन्टको विषयमा पनि छलफल हुनेछ । टोलीले नयाँ विकल्पका विषय पनि हुन सक्छ कि भनेर हेर्नेछ । ‘टोलीले रेलमार्गको विस्तृत अध्ययन गर्दैछ,’ उपाध्यायले भने, ‘नयाँ विकल्पहरू के के हुन सक्छन्, त्यस विषयमा पनि टोलीले अध्ययन गर्नेछ ।’

टोलीले अगस्टसम्ममा अन्तिम प्रतिवेदन तयार गर्नेछ । सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च चीन सरकारले नै बेहोर्ने छ ।
चीनमा भएको संयुक्त बैठकले झन्डै ७२ किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्ग निर्माण भौगोलिक रुपमा धेरै गाह्रो देखिएकाले विभिन्न चरणमा अध्ययन गर्नुपर्ने ठहर गरेको थियो ।

उपाध्यायका अनुसार भौगोलिक रुपमा कठिन रहेको उक्त रेलमार्गबारे प्रारम्भिक अध्ययन गर्ने र त्यसपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति भएको छ । उनका अनुसार चिनियाँ टोलीले गर्न लागेको दोस्रो अध्ययनपछि मात्र सम्भाव्यता र डिपिआर एकैपटक गर्न सकिनेछ । यसअघि पनि चिनियाँ टोलीले यो मार्गको अध्ययन गरिसकेको छ । फिजिबिलिटी वा डिपिआर गर्नुअघि एक अध्ययन आवश्यक भएकोले चिनियाँ पक्षले यो दोस्रो अध्ययन सुरु गरेको हो ।

भौगोलिक अवस्थाका कारण विभिन्न चरणमा रेलमार्गको अध्ययन गर्नुपर्ने चिनियाँ पक्षले बताएको छ । यस रेलमार्ग निर्माण गर्न अघि सरेको चीनले यसलाई एक उदाहरणीय रिसर्चका रुपमा लिएको छ । रेलमार्ग निर्माण सम्पन्न गर्न ठूलो लगानी लाग्ने देखिएको छ । यसअघिको प्रारम्भिक अध्ययनमा उक्त लगानी झन्डै तीन खर्ब रुपैयाँ हुने चिनियाँ अधिकारीहरुले बताइसकेका छन् ।

ठूलो लगानी लगाउनुपर्ने भएकाले नेपाल सरकारले उक्त लगानी गर्न नसक्ने पक्का छन् । उक्त रेलमार्ग निर्माण गर्न चीनलाई विशेष आग्रह गर्नुपर्ने रेल विभागका अधिकारी बताउँछन् । निकट भविष्यमै हुने प्रधानमन्त्रीस्तरीय भ्रमणमा चिनियाँ राष्ट्रपतिलाई नै लगानीको लागि अनुरोध गर्नुपर्ने नेपाली पक्षको भनाइ छ । चीनको उच्च नेतृत्व तहबाट लगानीको प्रतिबद्धता नआए निर्माण कार्य कठिन हुने नेपाली पक्षको बुझाइ छ ।ठूलो लगानी र भौगोलिक चुनौती भए पनि चिनियाँ पक्ष भने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि उत्सुक देखिएको छ । उनीहरूको चासो र अध्ययनमा देखाएको तीव्रतालाई बुझेर नेपालबाट उच्चस्तरको पहल आवश्यक रहेको विभागको भनाइ छ ।

वैशाख १५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी, विभागका महानिर्देशक अनन्त आचार्य सहितको सात सदस्य टोली चीन गएको थियो । गत कात्तिक अन्तिम साता चीनको रेल्वे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आएको थियो । उक्त टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं–पोखरा र लुम्बिनीसम्मको रेलमार्गको प्रारम्भिक अध्ययन गरेको थियो ।

उक्त अध्ययनपछि भएको बैठकमा चिनियाँ अधिकारीले भौगोलिक विकटता भए पनि रेलमार्ग निर्माण गर्न सकिने निष्कर्ष निकालेको थियो।उक्त टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर र प्राविधिक सहभागी थिए । दुई खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको उक्त मार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान छ । प्रतिघन्टा एक सय २० किलोमिटरको गतिमा कुदाउन मिल्ने उक्त मार्गमा चल्ने रेल चार हजार मिटरको उचाइबाट एक हजार चार सय मिटरमा झर्नुपर्ने अध्ययनले देखाएको छ । यस्तो भौगोलिक अवस्थाका कारण उक्त मार्ग बनाउन चुनौती रहेको चिनियाँ टोलीको भनाइ छ ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App