७ वैशाख २०८१ शुक्रबार
समाज

कज्वे निर्माणका लागि पासाङल्हामु राजमार्ग दुई घण्टा बन्द

रसुव– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने पासाङल्हामु राजमार्ग बुधबार दुई घण्टा बन्द गरिने भएको छ । 

राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डमा पर्ने सोले नजिकै भत्किएको कज्वे निर्माणका लागि राजमार्ग बन्द गर्न लागिएको हो । 
बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्न लागिएको डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजन प्रमुख निरज शाक्ले बताए । 

‘कज्वे निर्माणका लागि हामीले दुई घण्टा सडक बन्द गर्न लागेका हौं,’ डिभिजन प्रमुख शाक्ले भने, ‘यसको बिकल्पका लागि मैलुङ–स्याफ्रुबेँसी सडकको प्रयोग गरिने छ ।’  

नेपाली सेनाले निर्माण गरेको नयाँ सडक हस्तान्तरण भइसके पनि सुरक्षाको कारण देखाउँदै नियमित सञ्चालन गर्न दिएको छैन । 
२०७१ सालमा भत्किएको कज्वे यो पटक निर्माण गर्न लागिएको हो । कज्वे निर्माण भएपछि यातायात सञ्चालनमा सहज हुने डिभिजन प्रमुख निरज शाक्यले बताए । वर्षायाम सुरु हुनै लाग्दा कार्यालयले राजमार्गको रसुवाखण्डस्थित सडक सुधारको कार्य सुरु गरिरहेको छ ।

कार्यालयले सडक मर्मत तथा सुधारको कार्य गरिरहेको छ । सडक सुधार कार्यक्रम अन्तरगत खाल्डाखुल्डी पुर्ने, ढलान गर्ने, नाला मर्मत गर्ने, पिच गर्ने र साँघुरो सडकलाई चौडा बनाउने लगायतका कार्य भइरहेको छ । 

असारभित्रै कार्य सम्पन्न गर्नेगरी सडक सुधार तथा मर्मत कार्यलाई तिब्रता दिइएको डिभिजन प्रमुख शाक्यले बताए । सडक मर्मत तथा सुधार गर्नका लागि गत वर्षको बाँकी दुई करोड ८५ लाख र यो वर्षको लागि थप भएर आएको तीन करोड ३० लाख बजेट रहेको कार्यालयले जनाएको छ । 

सडकको बेत्रावती–धुन्चे खण्डको विभिन्न स्थानमा ढलान गर्नुपर्ने भएकाले त्यसको सम्झौता भएर कार्य अघि बढाइएको शाक्यले जानकारी दिए । गतवर्ष सडक मर्मत तथा सुधारको लागि आएको बजेट समयमै काम गर्न नसक्दा फ्रिज हुन पुगेको थियो । 

प्रकाशित: ९ जेष्ठ २०७५ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App