८ वैशाख २०८१ शनिबार
समाज

घरेलु हिंसा र बलात्कारको मारमा महिला

पतिले कुटपिट गरेर घरमा बस्न नसकेको पीडा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा महिला आयोगका सचिव र प्रमुख जिल्ला अधिकारलगायतलाई सुनाउँदै महिला । तस्बिर : भीम/नागरिक


इलाम - इलाम नगरपालिका–९ का ३० वर्षका बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी जेठ ४ मा जिल्ला प्रहरी कार्यालयमा पर्यो । खोजतलास गर्दै जाँदा छोरीलाई वर्ष दिनयता पटकपटक बलात्कार गरेको मात्रै खुलेन, आफ्नो कर्तुत देखेकी ६ वर्षीया अर्की छोरीलाई समेत उनले कुटपिट गरी घाइते बनाएको पत्ता लाग्यो।

पीडित बालिका पढ्ने पोखरी आधारभूत विद्यालयकी शिक्षिका कल्पना सापकोटाले बुधबार ती बाबुले छोरीहरूमाथि गरेको अत्याचार सुनाइरहँदा राष्ट्रिय महिला आयोगका सचिव, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख र महिला तथा बालबालिका कार्यालय प्रमुखलगायत सरोकारवाला निकै गम्भीर देखिए । ‘वैशाख २५ गते १२ वर्षीया छोरीलाई स्कुलमा भर्ना गर्न ल्याएका ती बाबुले जेठ २ मा अर्की छोरीलाई पनि भर्ना गर्न ल्याए । सानी छोरीको गालामा गम्भीर चोट र हातहरू सुन्निएर अटसमटस भएको देखेपछि सोधीखोजी गर्दा बाबुको गम्भीर कर्तुत पत्ता लाग्यो,’ शिक्षिकाले भनिन्, ‘पीडित बालिकालाई अस्पताल नै लगेर उपचार गर्नुपर्यो ।’

घटनाबारे जानकारी पाएपछि प्रहरीले पीडक बाबुलाई पक्राउ गर्यो । उनी अहिले प्रहरी हिरासतमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।‘यो घटनालाई मैले सुरुमै गम्भीर ठानेर गहन अनुसन्धान गर्न प्रहरी प्रमुखलाई भनेको छु,’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भने, ‘१२ वर्षीया बालिका त पीडित भएकै थिइन्, एउटा अपराध लुकाउन अर्काे अपराध गरेको पाइएकाले यो घटना निकै गम्भीर देखिन्छ ।’ यो परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले खानलाउन पनि धौधौ छ । पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हरि फुएँलले भने, ‘बालबालिका के खाऊँ र के लाऊँ भन्ने अवस्थामा छन् ।’

यस्तै सूर्याेदय नगरपालिका, श्रीअन्तुकी हीरादेवी तामाङलाई मंगलबार बेलुका आफ्नै पति वीरबहादुरले कुटे । पतिले आफू र छोरीलाई घरमा बस्न नदिएको गुनासो हीरादेवीले बुधबार जिल्ला समन्वय समितिको सभाहलमा चलिहरहेको महिला अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइमा पोखिन् । ‘मलाई श्रीमान्ले वर्षाैंयता पटकपटक कुट्ने, हप्काउने, दप्काउने गरिरहनुभएको छ, अबचाहिँ खप्नै नसकेर यहाँसम्म आउन बाध्य भएकी हुँ,’ उनले सबैका सामु भनिन्, ‘आज पनि घरमा बस्न नसक्ने अवस्था भएपछि छोरीलाई लिएर यहाँ आएकी हुँ, बेलुका घर जाने आँट छैन ।

म कता जाऊँ ?’वैशाख तेस्रो साता रोङ गाउँपालिकाकी ७८ वर्षीया वृद्धामाथि घरमा सुतिरहेकै बेला बलात्कार प्रयास भयो । रोङ–१, कटहरेकी ती वृद्धालाई अपरिचित व्यक्तिले जबरजस्ती गर्न खोजे । अपरिचितको आक्रमणले वृद्धाको जिब्रोमा चोट लाग्यो । प्रहरीका अनुसार राति १०–११ बजेतिर छाप्रोमा सुतिरहेकी वृद्धा चिच्याएको आवाज आएपछि नजिकै अर्काे घरमा सुतिरहेका छोरा गएर हेर्दा उनलाई घाइते अवस्थामा भेटेका थिए । ‘छोराले भेट्दा वृद्ध आमा जिब्रोको चोटले निकै घाइते थिइन्,’ पशुपतिनगर प्रहरी निरीक्षक शिवबहादुर बुढाथोकीले भने,’ पीडित वृद्धाकै छोरीले भोलिपल्ट उनलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिन् ।’ वृद्धाकी छोरीले जबरजस्ती करणी उद्योगमा अदालतमा मुद्दा दर्ता गरेकी छिन् । वृद्धाको बयानका आधारमा प्रहरीले २३ वर्षे युवकलाई पक्रेको छ ।

पछिल्ला तीन सातामा जिल्लामा भएका महिलाविरुद्धका प्रतिनिधि घटना हुन् यी । प्रहरी तथ्यांकले बालिका बलात्कार संख्या अचाक्ली बढिरहेको देखाइरहँदा त्योभन्दा गम्भीरखाले घटना बाहिर आएका हुन् । छोरी बलात्कार आरोपमा बाबु पक्राउ परेको घटना यतिबेला जिल्लामा निकै चर्चाको विषय बनेको छ । आर्थिक अवस्था दयनीय रहेको सो परिवारका मूली बलात्कार आरोपमा पक्राउ परेपछि घर चलाउन समस्या देखिएको छ । यसै कारण छोरीमाथि बलात्कार भएको भन्दै उजुरी दिने आमा नै अहिले पतिलाई छुटाइदिन भन्दै प्रहरीकहाँ धाइरहेकी छिन् ।

प्रहरीसमक्ष उनी भन्न बाध्य छिन्– घरमा कमाएर ल्याउने कोही नहुँदा हामी भोकै पर्यौं, मेरा पति निर्दाेष हुनुहुन्छ, छुटाइदिनुपर्यो ।जिल्ला प्रहरी कार्यालयका निरीक्षक गीतानारायण चौधरी आर्थिक अवस्था कमजोर भएको सो परिवारमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेपछि ठूलो संकट आइलागेको बताउँछन् । तर, घटनाबारे अनुसन्धान जारी रहेकाले आरापित दोषी ठहरिए थप कारबाही प्रक्रिया चल्ने उनको भनाइ छ । ‘पीडित परिवारको पुनस्र्थापना समस्या एउटा पाटो हो तर कुनै पनि घटनाको आरोप लागेपछि अनुसन्धान गर्नुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यो घटनामा मात्र होइन, सबै घटनामा नियम पक्रिया एउटै हुने हो ।’

शिक्षा, चेतना र आर्थिकस्तरमा अन्य जिल्लाको तुलनामा इलाम अगाडि मानिन्छ । तर, पछिल्लो समय बढेको बालिका तथा महिला हिंसा र अपराध घटनाले यहाँको समाज आक्रान्त बनिरहेको सरोकारवाला बताउँछन् । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले इलाम जिल्लामा भइरहेका बालिका र महिला हिंसाका घटनाले आफूलाई गम्भीर बनाएको बताए ।

‘बालिका र महिलाविरुद्धका यस्ता घटनामा तत्काल न्याय र कारबाही प्रक्रिया अघि नबढाए समाज प्रगतिको बाटोमा जाँदैन,’ उनले भने, ‘बारम्बार भइरहेका यस्ता घटनाविरुद्ध अब समाजको तल्लोदेखि माथिल्लो तहसम्म जागरुक हुनुपर्छ ।’ यस्ता घटनालाई कानुनी दायरमा ल्याउन र समाजमा चेतना जागृत गर्न प्रदेशस्तरमा समेत आयोगको कार्यालय खोल्ने व्यवस्था भएको तर कार्यान्वयनमा आइनसकेको उनले बताए।जिल्लामा बालिका बलात्कार घटना बर्सेनि बढ्दो छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०१७ मा जिल्लामा बालिका बलात्कारका १८ र महिला बलात्कारका ८ घटना भएका थिए । सोही वर्ष घरेलु हिंसामा परेको भन्दै ६८ महिलाले महिला तथा बालबालिका कार्यालयमा उजुरी दिएको इन्सेकले जनाएको छ । सन् २०१६ मा जिल्लामा बालिका बलात्कारका ७ र महिला बलात्कारका ५ घटना भएका थिए ।

प्रहरीको प्रदेश एकाइ कार्यालयसँग (साबिक मेची अञ्चल) मा आर्थिक वर्ष ०७१-०७२ मा २ सय २९, आर्थिक वर्ष ०७२÷०७३ मा १ सय ५१ र आर्थिक वर्ष ०७३÷०७४ मा १ सय २७ जबर्जस्ती करणीका घटना भएको तथ्यांक छ । प्रहरीका अनुसार बलात्कार घटनाबाट १६ वर्षसम्मका बालिका बढी पीडित छन् । १७ देखि २५ वर्षसम्मका पुरुष यस्तो अपराधमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराइलीले बालिका र महिलामाथि हुने बलात्कार तथा हिंसाका कारण समाजमा त्रास फैलिएको बताइन् । उनले महिला आफ्नो खुट्टामा उभिन नसक्दा पीडित बन्नुपरेको जनाइन् ।

‘धार्मिक र सांस्कृतिक कारणले पनि महिलालाई समाजमा हेयका दृष्टिले हेर्ने चलन अझै छ,’ उनले भनिन्, ‘शिक्षा र चेतनास्तर कम भएको समाजमा बालिका र महिला सबैभन्दा पीडित देखिएका छन् ।’ उनले वैदेशिक रोजगारीमा गएका पुरुषसमेत पछिल्लो समय महिलाबाट पीडित हुन थालेको भन्दै समाजमा हुने हिंसाबाट पीडितलाई बचाउन स्थानीय तहमा गठित न्यायिक समितिले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्नु पर्ने बताइन् ।प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बालिका बलात्कारको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान तथा कारबाही अघि बढाउनुपर्ने बताए । जिल्ला बालकल्याण समिति संयोजकसमेत रहेका प्रजिअ तिम्सिनाले हिंसा र बलात्कारबाट पीडित बालिकाको पुनस्र्थापनामा समितिले योजना बनाउने पनि बताए।

प्रहरीले चाहिँ जिल्लामा हुने जबर्जस्ती करणीका घटना अनुसन्धान गर्न विशेषज्ञ चिकित्सक अभाव हुने गरेको जनाएको छ । झन्झटिलो कानुनीप्रक्रियाका कारण पनि बलात्कारका घटना अनुसन्धानमा समस्या भइरहेका बेला चिकित्सक अभावले अझ पीडितको न्याय पाउने अधिकार नै प्रभावित हुने गरेको प्रहरीको भनाइ छ । जिल्ला अस्पतालसहित फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङस्थित ४ प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा ११ डाक्टर रहे पनि बलात्कार घटनाको अनुसन्धान गर्ने एकैजना विशेषज्ञ छैनन् ‘कतिपय घटना त प्रमाण नष्ट हुनेबेला प्रहरीमा आइपुग्छन्,’ जिल्ला प्रहरी प्रमुखबाट भर्खरै सरुवा भएका विपीन कर्माचार्यले केही दिनअघि भनेका थिए, ‘चिकित्सकको रिपोर्ट पर्खिंदा बेलैमा आएका घटनाको अनुसन्धान गर्न र पीडितलाई न्याय दिन निकै ढिलाइ हुने गरेको छ ।’


 

प्रकाशित: १० जेष्ठ २०७५ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App