८ वैशाख २०८१ शनिबार
खेल

सन्दीपलाई टाटा टिगोर कार

काठमाडौं– विश्वकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका युवा स्पिनर सन्दीप लामिछानेलाई सिप्रदी ट्रेडिङले बुधबार कार प्रदान गरेको छ।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपलाई ३ वर्षका लागि सद्भावना दूत बनाएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र कन्ट्री डाइरेक्टर अजितनारायण सिंहले टाटा टिगोरको चाबी हस्तान्तरण गरेका थिए । २४ लाख ९५ हजार रुपैयाँ बजार मूल्य रहेको कार पाएका सन्दीपले अब सिप्रदी ट्रेडिङको उत्पादन सामग्री प्रवद्र्धन गर्न बृहत् सहकार्यका लागि कम्पनीसँग ३ वर्षका लागि सम्झौता गरेका हुन् ।सम्झौता पत्रमा १७ वर्षे युवा लेग स्पिनर सन्दीप र सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सन्दीपले टाटासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले थपे, ‘विगत केही वर्षदेखि नेपाली खेलकुदमा लागेका खेलाडीलाई सिप्रदीले सहयोग गर्दै आएको छ । त्यसका साथै टाटा कम्पनीसँगको मेरो यात्रा आगामी दिनमा अझै प्रगाढ हुने विश्वास लिएको छु ।’सिप्रदीले यसअघि क्रिकेट खेलाडी आरिफ शेख र सुनील धमलालाई पनि डेढ वर्षदेखि सहयोग गर्दै आएको छ । सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रको शिर उच्च पार्र्दै नेपालीको प्रतिनिधित्व गर्ने खेलाडीसँग सम्झौता गर्न पाएकोमा खुसी लागेको बताए । श्रेष्ठले थपे, ‘युवा खेलाडी सन्दीप लामिछानेसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं ।

कलिलै उमेरमा विश्वकै चर्चित प्रतियोगिता आइपिएलमा शानदार प्रदर्शन गरेका सन्दीपले नेपाली खेलाडीको पनि सम्भावना छ भन्ने प्रमाणित गरिदिएका छन् ।’दिल्लीको अघिल्ला ११ खेलमा खेल्न नपाएका सन्दीपले अन्तिम ३ खेलमा मौका पाएका थिए । प्लेअफबाट बाहिरिसकेपछि दिल्लीले सन्दीपसहित अन्य नयाँ खेलाडीलाई पनि मौका दिएको थियो । सन्दीपले ३ खेलमा पाँच विकेट लिए । मुम्बई इन्डियन्सविरुद्धको अन्तिम खेलमा महत्वपूर्व तीन विकेट लिएका सन्दीपले स्टाइलिस प्लेयर अवार्ड जितेका थिए । सिप्रदीका कन्ट्री डाइरेक्टर अजितनारायण सिंहले सन्दीपसँगको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।

बुधबारै बिहान यती फ्लोरिङले पनि सन्दीपलाई नगदसहित सम्मान गरेको थियो । केडिया समूहअन्तर्गतको यती फ्लोरिङले सन्दीपलाई डिएभी स्कुलमा विद्यार्थीमाझ नगद १ लाख रुपैयाँसहित सम्मान गरेको हो । यती फलोरिङका निर्देशक नारायण तोदी, अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेसनका कर्पोरेट प्रमुख राजकुमार शाहले चेक हस्तान्तरण गरेका थिए । आइपिएल खेलेर मंगलबार नेपाल फर्किएका सन्दीपको नाम लिएपछि सभाहलमा गुञ्जायमान बनेको थियो । त्यस माहोललाई सन्दीपले तताएका थिए, गीत गाएर । राजु लामाको तिमीलाई देखेर हिमाल हाँसेको गीत सुनाउँदै सन्दीपले देशको शिर उचो बनाउन आफूले थप मिहिनेत गर्ने बताए ।‘तपाईंहरूले दिनुभएको मायाका लागि धन्यवाद ।

मलाई आशा छ यस स्कुलबाट पनि धेरैभन्दा धेरै खेलाडीले नेपालको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नुहुनेछ,’आइपिएलको दिल्ली डेयरडेभिल्सबाट ३ खेलमा ५ विकेट लिएका सन्दीपले थपे, ‘जीवनमा पढाइको ठूलो महत्व छ । पढाइसँगै आफूलाई मन पर्ने अतिरिक्त क्रियाकलाप पनि गर्नुपर्छ ।’नेपाली युवा टोली हुँदै राष्ट्रिय टोलीबाट पनि उत्कृष्ट प्रदर्शन गरिसकेका सन्दीपलाई क्रिकेटको सर्वोच्च निकाय आइसिसीले वेस्ट इन्डिजविरुद्ध लड्समा हुने ट्वान्टी–२० खेलका लागि विश्व ११ को टोलीमा समावेश गरेको छ । साथै दिल्लीले आफ्नो टोलीको उत्कृष्ट नयाँ प्रतिभावान् खेलाडीको सूचीमा समावेश गरेको छ । उक्त सूचीमा सन्दीपको नाम शीर्ष स्थानमा छ ।

यती फ्लोरिङका निर्देशक अनिल केडियाले सन्दीपको मिहिनेत र प्रतिभाका लागि आफूहरूले सम्मान गरेको बताए । केडियाले यो सुरुआत भएको र आगामी दिनमा अन्य सहकार्य पनि हुने बताए । पुँजी विदेश पलायन हुनबाट रोक्न स्वदेशी उत्पादनमा जोड दिएको भन्दै कर्पोरेट प्रमुख राजकुमार शाहले भने, ‘सन्दीपले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल छन् । उनको यो साहस, लगनशीलता र मिहिनेतलाई यती कार्पेट सलाम गर्छ ।’

प्रकाशित: १० जेष्ठ २०७५ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App