coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नेकपा,नाममा के छ !

नयाँ नेपाल कम्युनिस्ट पार्टीको नाम यही नै राख्नुपर्ने बाध्यता छ ?नयाँ युगमा, नयाँ नामको नयाँ लोकतान्त्रिक पार्टी बनाउन केले रोक्यो ?पुच्छर नभएको कम्युनिस्ट पार्टी बनाउने सोचले ?निर्वाचन आयोगमा ओली र प्रचण्डहरू एकीकृत नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी लिएर जाँदा आयोगका एक सदस्यले यो नामको पार्टी पहिल्यै आयोगमा दर्ता छ भनेर अन्डरलाइन लगाएर राखे । यसैलाई पत्रकारहरूले नेपाल कम्युनिस्टपार्टी अन्डरलाइन भनेर व्यंग्यगरे । 
जब २०१७पछि नेपालका कम्युनिस्टहरू फुट्न थाले, उनीहरू सबैले पार्टीको नाम नेकपा राखे । तर नेकपा धेरैवटा भएकाले नेकपा त हो तर कुन नेताको भनेर चिनाउन नेकपा पछाडि त्यसको नेताको नाम लेख्ने चलन सुरु भयो । तर देशमा प्रजातन्त्र आएपछि जुनजुन नेकपा थिए, तिनले आफूलाई चिनाउनका लागि नेकपा पछाडि पुच्छर जोडेको नेकपालाई नै निर्वाचन आयोगमा दर्ता गरे । नेकपा एमाले, नेकपा पुष्पलाल, नेकपा संयुक्त, नेकपा तुल्सीलाल, नेकपा बर्मा, नेकपा मसाल, नेकपा मशाल, नेकपा क्रान्तिकारी आदि । 

नेकपा माले, नेकपा एमाले, नेकपा पुष्पलाल, नेकपा संयुक्त, नेकपा तुल्सीलाल, नेकपा बर्मा, नेकपा मसाल, नेकपा मशाल, नेकपा क्रान्तिकारी, नेकपा माओवादी । यस्ता अनेक नाम थिए र छन् । अहिले नाम नेकपा नराखेर अर्कै राखेको भए जाती हुने थिएन ?

एक जनाले भने- कम्युनिस्ट नाम राखेका कारण यत्रो लोकतान्त्रिक शक्तिको योगदान छायाँमा पुगेको छ । कम्युनिस्ट नाम भएपछि ऊ लोकतान्त्रिक हुँदैन भन्ने भ्रम छ ।विश्व समुदायसम्म यस्तै छ । नयाँ युगको नयाँ नेपालमा नयाँ पार्टीको नयाँ नाम जुराउन र नयाँ पुस्ता आकर्षित गर्न किन ओली र प्रचण्ड चुकिरहेछन् ? तिनीहरूको पार्टी विघटन भइसक्यो, नामको के कुरा ?यदि कम्युनिस्ट नाम हटाए भने त्यो नै कांग्रेसको विकल्पमा नयाँ लोकतान्त्रिक पार्टी हुनेछ र विश्वभर यसको राम्रो प्रचार हुनेछ ।

कम्युनिस्ट पार्टी नाम राखेपछि क्रान्तिकारी होइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । नाम नै बदल्न नसक्नेले समाज, राष्ट्र कसरी बदल्न सक्छ ? आफ्नो संस्कार व्यवहार परिवर्तन गर्न नसक्नेहरू कसरी नयाँ युगमा पुग्छन् ?
नेपालका ‘नामका वामपन्थी, कामका दक्षिणपन्थी’हरूलाई के थाहा भएको देखिएन भने–लेनिनको पार्टीको नाम नै कम्युनिस्ट पार्टी थिएन । जुन लेनिनको नाममा यहाँका तथाकथित कम्युनिस्ट पार्टीहरूक्रान्तिकारी बन्ने होडबाजी गर्छन्, लेनिनको पार्टीको नाम रुसी समाजवादी उदार लोकतान्त्रिक पार्टी थियो भन्दा जिल्लाराम नै पर्ने गर्छन् । 
पढेर होइन, सुनेका भरमा कम्युनिस्ट बनेका, माक्र्स–एंगेल्स–लेनिनका कृति होइन, अरू नै सुनेर भौतिकवादी, द्वन्द्ववादी, वैज्ञानिक समाजवादी, जातिवादी सुनेर कम्युनिस्ट बनेकाहरूको यो रोग नयाँ होइन । पढिजान्ने, लेखिजान्ने, सुनिजान्नेमध्ये नेपालमा धेरैजसो कम्युनिस्टहरू सुनिजान्ने कित्ताका छन् ।त्यसैले उनीहरूले सुन्नेकुरा प्रायः एउटै जडसूत्रीय हुनेगर्छ ।

त्यसैले सुनेका भरमा कम्युनिस्ट बनेर गुट, फुट र विभाजनमा लागेर दर्जनौँ कम्युनिस्ट पार्टीहरू बनाउने सुनिजान्ने कम्युनिस्टहरूको कित्ताबाट आफूलाई देश, काल र समय सुहाँउदो पार्टीको नाम राख्ने अवसर ओली र प्रचण्डलाई प्राप्त भएको छ । कम्युनिस्ट पार्टी अन्तर्गतको युवा संगठनको नाम मदन भण्डारीले त्यतिखेरै कम्युनिस्ट युथफ्रन्ट नराखेर प्रजातान्त्रिक युवा संघ राखेका थिए । यसबारे सोध्दा अन्तर्वार्ताकाक्रममा उनले त्यतिखेर मदन भण्डारीले यो पंक्तिकारलाई भनेका थिए, हाम्रो पार्टीको नाम पनि जनताको बहुदलीय जनवाद जस्तै बहुसंख्यक जनता अटाउने नाउँमा परिवर्तन गर्नुपर्छ । यसोगर्दा जनताको भावनाको कदर मात्र होइन, जनजिब्रोको नाम राखेर संसारभर चिनाउनु पर्छ । मदन भण्डारीकै निधन भएको दिनमा विघटन भई नयाँ गठन भएको पार्टीको नाम मदनले सोचेजस्तै लोकतान्त्रिक, नेपाली जनजिब्रो र युवापुस्ताले सजिलै आत्मसात् गर्ने नयाँ नाम जुराउनु पर्छ ।  
विघटित एमाले र माओवादीको नाम अब पछाडि फर्र्किएर नेकपा होइन, एक्काइसौँ शताब्दीको स्पिरिटमा राखिनुपर्छ । मदनले भनेका थिए, दुई महाधिवेशनपछि नै तपाईंले हाम्रो पार्टीको नाम नयाँ युगको नयाँ नाममा नयाँ पार्टीको रूपमा पाउनुहुनेछ ।

मदन भण्डारीले भने जस्तै एमालेको दुई महाधिवेशनपछि नै नाम परिवर्तन मदन भण्डारीको असामयिक निधनले गर्दा हुन पाएन तर उनको निधनको दुई दशकपछि उनकै विरासतलाई बोकेर हिँडेका केपीओली जब पार्टीको प्रमुख बने उनले मदन भण्डारीकै जन्मदिनको अवसर पारेर नेपालका दुई कम्युनिस्ट पार्टीहरूलाई एकीकृत पार्ने सफलता प्राप्त गरेका छन् । जो मदन भण्डारीकै पथको निरन्तरता हो । 
त्यसैले ओली र प्रचण्डका लागि एकीकृत पार्टीको नामबाट लेनिनले राखेजस्तै लोकतान्त्रिक जनवादी नाम राख्ने ऐतिहासिक अवसर अहिले जुरेको छ । यसो भयो भने जनता नै सर्वेसर्वा हो भन्ने सन्देश नेपालभर मात्र होइन, विश्वभर पनि दिनसकिन्छ । पार्टीको नाम कुनै सिद्धान्त, दर्शन, कार्यक्रमलाई बोकेर बनाउनुभन्दा भक्तपुरका कामरेड नारायणमान बिजुक्छे ‘रोहित’को पार्टी नेपाल मजदुर किसान पार्टी जस्तै राखे पनि सुनमा सुगन्ध हुनसक्छ । 
सोभियत संघको विघटनपछि कम्युनिस्टविरुद्ध अमेरिका र पश्चिमी विश्वले धेरै नै डलर खर्चेर अभियान चलाइरहे । यसो गर्नुको कारण हो, त्यतिबेलाको आवश्यकता अनुसार सोभियतसंघमा सर्वहारा अधिनायकवाद कायम गरिएको थियो । त्यसैलाई उनीहरूले प्रहारको तारो बनाए । तर नेपालको अवस्था नितान्त भिन्न छ । हिजो एमाले र माओवादी अधिनायकवाद लादेर होइन, लोकतान्त्रिक पद्धतिको आमनिर्वाचनबाट जनताको अत्यधिक मत पाएर विजयी भएका हुन् । 
अन्तर्राष्ट्रिय पर्यवेक्षक राखेर, स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट चुनाव जितेका एमाले र माओवादीको सरकार बनिसकेपछि जनतालाई दिएको आश्वासन मुताबिक उनीहरू एउटै पार्टी बनेका हुन् । दुवै पार्टीले समयक्रममा राखेका पुच्छर हटाउने सहमतिपछि नेपाल कम्युनिस्ट पार्टी राख्ने निधो गरे तर नयाँ पार्टीको नाम कम्युनिस्ट पार्टी नै किन राख्नुपर्ने ? के कम्युनिस्ट पार्टी नाम राखेपछि स्वतःक्रान्तिकारी होइन्छ ?कम्युनिस्ट पार्टी भनेपछि मात्र जनताको हितहुन्छ ?असमान व्यवहार गरे पनि समानताको सिद्धान्तको पालना हुन्छ ? के नेपाल मजदुर किसान पार्टी स्थापना गर्ने कामरेड रोहित अरू कमरेडभन्दा कम कमरेडी छन् ? उनको कमरेडीपन घटेको छ ?
जब नयाँ नामकरण गर्ने अवस्था नै सिर्जना भएको छ भने सिर्जनशील र पुस्तौँपुस्ताले लिनसक्ने, सबैले गर्व गर्ने नयाँ नाम राख्न सकिँदैन ? नयाँ नामप्रति केको तुष ? किनभने पार्टी भनेको न एनजीओ हो, नत कुनै प्राइभेट कम्पनी ! यो त जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताका प्रतिनिधि हुन् । त्यसैले पार्टी राजनीतिक विचार अनुसार केको दायाँ बायाँ ?
राजनीतिक दल भनेको जनता संगठित हुने, जनताको भावनाको प्रतिनिधित्व गर्ने अभियान हो । जनताले–जनताका लागि–जनताद्वारा काम गर्ने स्वावलम्बी संगठन हो । 
नयाँ पार्टीको नाम यस्तो हुनुप¥यो, जसले प्रत्येक व्यक्तिको आत्मसम्मानलाई जागरण गरोस् । सिर्जनशील होस् । हरेक सदस्यले मात्र होइन चुनावमा मतदात गर्ने प्रत्येक मतदाताले मतदान गर्दा गर्व गर्न सकोस् । यस्तो नाम पो एकीकृत पार्टीको नाम हुनुपर्छ, जसको मान, शान र छाँटै अर्कै होस् । 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App