coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पूर्वका जिल्लामा औद्योगिक वातावरण तयार हुँदै

विराटनगर - पूर्वको औद्योगिक वातावरणमा सुधार आउन थालेको छ । राजनीतिक स्थायित्व, लोडसेडिङ अन्त्य, रेलमार्फत कच्चा पदार्थ आयातको सुविधाले पूर्वको औद्योगिक वातावरणमा सुधार ल्याएको हो ।यहाँका उद्योगीहरूले वर्षौंदेखि लोडसेडिङको अन्त्य र रेलमार्फत तेस्रो देशबाट आयात गरिएका औद्योगिक कच्चा पदार्थ ढुवानीको सुविधा माग गर्दै आएका थिए।

उद्योगीहरूको लामो प्रयासपछि यतिबेला दुवै माग पूरा भएका छन् । लोडसेडिङ अन्त्य र रेलमार्फत तेस्रो मुलुकबाट आयात गरिएका कच्चा पदार्थ कोलकाता बन्दरगाहदेखि ढुवानी गर्न पाउने सुविधाले पूर्वको औद्योगिक वातावरणमा सुधार आएको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकास मुन्दडाले बताए । ‘पुरानै अवस्थामा फर्कन अझै केही वर्ष लाग्ने भए पनि लोडसेडिङ अन्त्य हु“दा औद्योगिक वातावरणमा थोरै मात्रामा भए पनि सुधार आएको छ,’ उनले भने । चर्को लोडसेडिङ दीर्घकालीन औद्योगिक नीतिको अभाव, ढुवानीलगायत समस्याले यहाँका उद्योगहरू दुई दशकदेखि पिल्सिएका थिए ।

विस्तारै समस्या समाधान हुन थालेकाले थोरै भए पनि आशा जागेको मुन्दडाले बताए ।लोडसेडिङमा राहत मिले पनि चर्को ब्याजदरले समस्या थपेको उनको गुनासो छ । एक वर्षपहिले ६ देखि ८ प्रतिशत रहेको बैंक ब्याज अहिले १३ देखि १५ प्रतिशत पुगेको छ । उनले ब्याजदरको समस्या समाधान गरी उद्योगलाई राहत दिन सरकारस“ग माग गरेका छन् । मुन्दडाले भने, ‘चर्को ब्याजदरको समस्याको दीर्घकालीन समाधान खोजियोस् ।’ चर्को ब्याजले उद्योगहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास ल्याएको उनले बताए ।

पूर्वमा ओद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि विद्युत्को गुणस्तरमा अझै सुधार नआएको उद्योग संगठन मोरङका ऊर्जा संयोजक राकेश सुरानाले बताए । उनका अनुसार पूर्वमा अझै पनि लो भोल्टेजको समस्या छ ।
गुणस्तरीय विद्युत् नभएकै कारण विद्युत्को खपत बढेर महसुल अधिक उठ्ने समस्या पनि छ । जति कम भोल्टेज भयो त्यत्ति नै बढी महसुल उठ्ने सुरानाले बताए ।

औद्योगिक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन दीर्घकालीन औद्योगिक नीति र बैंक ब्याजदर नियन्त्रण गर्नु पनि आवश्यक रहेको सुरानाले बताए । उनले नेपालको ब्याजदर दक्षिण एसियामै धेरै रहेको दाबी गरे । उनले भने, ‘नेपालमा दक्षिण एसियामै धेरे ब्याजदर रहेकाले यसमा सुधार जरुरी छ।’

पूर्वमा भारतबाट आयात गरिएको विद्युत्को बाहुल्य छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वमा एक सय ३५ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । करिब ३० मेगावाट मात्रै स्वदेशी उत्पादन छ । गुणस्तरीय बिजुली प्राप्त गर्न स्थानीय स्तरका निर्माणधीन जलविद्युत् आयोजना चा“डो सम्पन्न गर्नु अतिनै आवश्यक देखिन्छ । विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार प्रदेश १ का विभिन्न जिल्लामा हाल करिब सय मेगावाटका आयोजना उत्पादनको अन्तिम तयारीमा छन् ।

५० को दशकसम्म ठूलो मात्रामा औद्योगिक वस्तु निर्यात गर्ने पूर्वले हाल नगन्य मात्रामा मात्रै औद्योगिक उत्पादन निर्यात गरिरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पूर्वको व्यापार घाटा एक खर्ब ३० अर्ब ९२ करोड पुगेको छ । यो अवधिमा एक खर्ब ५१ अर्ब रुपैया“को बस्तु आयात भएको छ भने कुल निर्यात २० अर्ब रुपैया“को मात्रै छ ।

प्रकाशित: १० जेष्ठ २०७५ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App