७ वैशाख २०८१ शुक्रबार
समाज

आँधीखोला सुली प्रकरण : १ करोड १७ लाख रुपैयाँ क्षति

स्याङ्जा– आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ। 

सुली प्रकरणका लागि गल्याङ नगरपालिका उप–प्रमुख देवीसरा थापाको संयोजकत्वमा गठित छानबिन समितिले १२ देखि १३ टन माछासहित जलचर प्राणी सखाप भएकोे र करिब १ करोड रुपैयाँ १७ लाख रुपैया बराबरको क्षति भएको देखाएको छ। गत बैशाख २१ गते राति भिरकोट नगरपालिका–६ मा सञ्चालित खिलुङ् कालिका एग्रो फर्मले आँधीखोलामा सुली मिसाएको थियो। 

‘आँधीखोलामा लोपान्मुख अवस्थाका माछा थिए,’ गल्याङ नगरपालिका उपप्रमख तथा छानबिन समितिका संयोजक देवीसरा थापाले भनिन्,’ ‘आँधीखोलामा कति मात्रामा माछा थिए भनेर पत्ता लगाउन गाह्रो भयो।’ प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र सरकोकारावालासँगको छलफल एवं तथ्याङ्कबाट प्रारम्भिक क्षतिको अनुमान गरेको उनले बताइन्। क्षतिको बिषयमा गल्याङ नगरपालिकाले सार्वजनिक सुनुवाई, जलचर बिज्ञहरुसँग छलफल र परामर्शबाट करिब २० दिनपछि मात्र प्रारम्भिक क्षतिको विवरण आएको छ।

उपप्रमुख थापाले आँधीखोलालाई माछा सेन्चुरी अर्थात माछा जु बनाउने लक्ष्य रहेको बताइन्। आँधीखोला सिंगो स्याङ्जा, पाल्पा, पर्वत र गुल्मीको केही भागको जीवनका बताएको बताउँदै आँधीखोलाको संरक्षण र सम्वर्द्धन गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छिन् । आँधीखोलालाई हर तरिकाले बेफाइदा गर्ने प्रवृतिको अन्त्य गर्ने उद्घोषक समेत गरिन्। 

गल्याङ नगरपालिका–७ का अध्यक्ष एवं छानबिन समितिका सदस्य रामबीर गुरुङले सुली आँधीखोलामा मिसाउँदा गल्याङको वडा नम्बर ३, ७ र ११ प्रत्यक्ष रुपमा प्रभावित र आँधीखोला नदीका उद्गम स्थलसम्म परोक्ष रुपमा प्रभावित भएको बताए। ‘प्रत्यक्ष रुपमा हामी ३ वडा बासिन्दाहरु प्रभावित भएका छौं,’ गुरुङले भने, ‘प्रत्यक्ष र परोक्ष रुपमा सुलीको असर दीर्घकालिन रुपमा छ।’ आँधीखोलामा दूर्गन्ध अझै सामान्य अवस्थामा नआएको उनले बताए। 

‘प्राविधिक टोलीसहितको प्रतिवेदन नगरपालिका मार्फत जिल्ला प्रशासन कार्यालय स्याङजा बुझाएका छौं,’ वडा नम्बर ३ अध्यक्ष एवं छानबिन समिति सदस्य महेश भट्टाराईले भने, ‘फोहोरमैला ऐन र जलचर ऐन अनुसार कारवाही हुन्छ।’ कारवाही र बिघो के कति र कस्तो हुने भन्ने कुरा प्रमुख जिल्ला अधिकारी र नगरपालिकाको रहने भट्टाराईले बताए। 

प्रभावित तीनवटै वडाका अध्यक्ष र सरोकारवालाले आँधीखोलामा भएको क्षतिको विवरण सार्वजनिक सुुनुवाई, बिज्ञहरुसँगको छलफलबाट विवरण संकलन गरेका थिए। वडा नम्बर ३ ले १ करोड क्षति, वडा नम्बर ७ ले १ करोड क्षति र वडा नम्बर ११ ले १ करोड बराबरको क्षति भएको विवरण छानबिन समितिमा बुझाएको उपप्रमुख तथा छानबिन समिति संयोजक थापाले जानकारी दिइन्। 

छानबिन समितिका अर्का सदस्य कालीगण्डकी मत्स्य ह्याचारी प्रमुख वैज्ञानिक गोपालप्रसाद लम्सालले आँधीखोलाको क्षति मापन गर्न नसकिएको बताए। आँधीखोलामा सहर, कत्ले, ठेड, गर्दी, रेवा, हाडे, बाम, बुदुना, केटा, काँडे, बाघे लगायत लोपान्मुख जातका माछा सखाप भएकोले यस्ता अतुलनीय/अपरिमेय क्षतिको कुनै मापन नहुने दाबी गरे। ‘घट्ना जसले गराएका पनि निन्दनीय छ,’ लम्सालले भने, ‘करौडौं जरिवाना गराएका पनि पुग्दैन।’ अगामी दिनमा आँधीखोलालाई बचाउनका लागि जनचेतना अभिबृद्धि गर्नुपर्ने उनको जोड छ। 

‘नसोचेको घट्ना भयो, दोषीमाथि कार्वाही हुन्छ,’ गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भने, ‘छानबिन समितिको प्रतिवेदनकै आधारमा कार्वाही हुन्छ।’ मेयर अधिकारीले अब नगरपालिका जलचर संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए। आँधीखोला स्याङ्जाको इतिहास, सभ्यता भएको भन्दै संरक्षण, सम्बर्द्धन र प्रचारप्रसारमा लाग्न सबैलाई आग्रह समेत गरे। 
 
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौंलाले प्रतिवेदनलाई आधार मानेर कार्वाही गर्ने प्रतिबद्धता जनाए। ‘प्रतिवेदन र कानुनमा जे कुरा त्यो भन्दा तलमाथि हुदैन’, निरौंलाले भने, ‘दोषीले कार्वाही भोग्नु पर्छ।’ 

प्रकाशित: १० जेष्ठ २०७५ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App