७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालन नहुने

अन्तर्राष्ट्रिय व्यापारिक नाका ‘रसुवागढी’ जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक । तस्बिर : नागरिक

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालनमा नआउने भएको छ। 

नेपाली सेनाले निर्माण गरेको दुई लेनको मैलुङ–स्याफ्रुबेँसी सडकमा सुरक्षाको कारण देखाउँदै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ। मैलुङ–स्याफ्रुबेँसी निर्माण कार्यदलले निर्माण गरेको १७ किलोमिटर सडक यहि जेठ ६ गते हस्तान्तरण गरिएको थियो। 

सडक हस्तान्तरण गरिएपछि सार्वजनिक यातायात सञ्चालन हुने बताइएको थियो। नवनिर्मित सडकमा पहिरो झर्ने तथा ढुङ्गाहरु खस्ने भएकाले यातायात सञ्चालनमा रोक लगाइएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनाले जनाएको छ। 

नवनिर्मित सडकको अहिले भेरिफाई गर्ने कार्य भइरहेको योजना प्रमुख सुबोध कुमार देवकोटाले बताए। ‘हामीले अहिले सडकको भेरिफाई गर्ने कार्य गरिरहेका छौँ, उनले भने, जोखिमका कारण यातायात सञ्चालनका लागि अनुमति दिएका छैनौँ।’

यो सडकको एक हप्ताभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने छ। ‘सडकको डिपिआर एक हप्ताभित्रै सम्पन्न हुने छ, योजना प्रमुख देवकोटाले भने, डिपिआर तयार भएपछि टेन्डर निकालिने छ।’

जेठ अन्तिमसम्ममा टेन्डर निकाल्ने र बर्खापछि सडकको स्तरोन्नती गरिने कार्ययोजना बनाइएको उनले बताए। गल्छीदेखि स्याफ्रबेँसीसम्म १४ वटा पुल निर्माण गरिने छ। १४ वटा पुलमध्ये ११ वटा टेन्डर भइसकेको तीन वटा पुलको डिजाइन भइरहेको योजना प्रमुख देवकोटाले बताए। 

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। 

पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन्। काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १६ किमी दूरी रहेको छ। 

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन। मैलुङ–स्याफ्रुबेँसी सडकको बिकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ। 

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकको सर्बेको काम सकिएको योजनाले जनाएको छ। सडक निर्माणका लागि कार्यालय स्थापना गर्न लागि जग्गा खोज्ने कार्य भइरहेको छ। नयाँ सडकमा प्रहरी चेकपोष्ट तथा नेपाली सेनाको पोष्ट राख्ने तयारी भएको छ। 
सडक निर्माण तथा स्तरोन्नतीको काम दुई वर्षभित्र सम्पन्न गरिने योजनाले जनाएको छ। 

प्रकाशित: १० जेष्ठ २०७५ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App