१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

रौतहट– स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रौतहटमा सक्रिय भएको देखिएको छ। अख्तियारको हेटौँडा कार्यालयको टोली रौतहटमा तीन दिनदेखि छानबिनमा सक्रिय रहेको देखिएको छ।

जिल्लाको परोहा, ईशनाथ, गढीमाई, बौधीमाई, गरुडा नगरपालिका तथा जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय, सिंचाइ र सडक तथा शिक्षा कार्यालयविरुद्ध परेका उजुरीहरुको छानबिनको लागि अख्तियारको टोली रौतहट आएको हो। जिल्लाको स्थानीय तहमा भइरहेको भ्रष्टाचारको बारेमा अख्तियारमा परेका मुदाहरुको छानबिनको लागि शाखा अधिकृत विनि पौडेलको नेतृत्वमा अख्तियारको टोली रौतहट आएर उजुरी परेका ठाउँहरुमा पुगेर टोलीले अनुसन्धान गरिरहेको छ। केही पुराना मुदाहरुको फाइल खोजेको र फाइल हराएको भनिएको मुद्दाको विषयमा गहिरो बयान लिइएको बुझिएको छ।

अख्तियारको हेटौँडा कार्यालय प्रमुख श्यामराज अधिकारीले विभिन्न समयमा रौतहटबाट परेका उजुरीहरुलाई छानबिन गर्न अख्तियारको टोली रौतहट पुगेको बताए। गत तीन दिनदेखि रौतहटको विभिन्न मुदाको विषयमा टोलीले छानबिन गरिरहेको प्रमुख अधिकारीले जानकारी दिए। 

करिब ४ वर्ष पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंबाट जम्बो टोली रौतहट आएको थियो। टोलीले स्थानीय तहमा भएको भ्रष्टाचारको विषयमा गाउँगाउँमा पुगेर स्थानीयसँग भेटघाट गर्दै अनुसन्धान थालेको थियो। अनुसनधानको क्रममा टोलीले सबैभन्दा धेरै अनियमितता गरेको आरोपमा जिल्लाका तीन जना तत्कालिन गाविस सचिवलाइ निलम्बन गरेको थियो। 

अख्तियारले निलम्बन गरेका सिवपुजन यादव, बीरेन्द्र चन्द्र बंशी र सत्येन्द्र झाको निलम्बन अनुसन्धानपछि फुकुवा भएको थियो। तिनै जनामध्ये झा अनिवार्य अवकास भएपनि यादव यमुनामाइ गापा र चन्द्रबंशी बौधीमाइ नपाका निमित प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत छन्। 

पहिलोपटक जिल्ला पसेको जम्बो टोलीले स्थानीय तहका सयौं कर्मचारीलाई अनुसन्धानको लागि काठमाडौं बोलाएर वयान लिएको थियो। छानबिनकै क्रममा केही मुद्दाहरु रहेको अवस्थामा कुनै कारबाही नहुँदा पुराना कर्मचारीहरुको मनोबल बढेको छ। सडक निर्माणदेखि समाजिक सुरक्षा भत्तासम्मको अनुसन्धान गरेको थियो अख्तियारको टोलीले। तत्कालीन स्थानीय निकायका कर्मचारीहरु अहिले विभिन्न पालिकामा पुरानै रवैया अपनाएर काम गरिरहेको गुनासो बढेको छ। 

अख्तियारको टोली रौतहट आएर स्थानीय तहबारे अनुसन्धान गर्दा कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ।

प्रकाशित: १० जेष्ठ २०७५ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App