५ वैशाख २०८१ बुधबार
अन्य

आमाको काखमा बसेर भीमरथारोहण

“आमा !” यो शब्दको महिमा अपरम्पार छ । यस शब्दको भेउ आजसम्म कुनै विद्वान्ले पाउन सकेको छैन ।  तर एउटा कुरा निश्चित छ – त्यो हो आमा ममताको अपार खानी हो । जहाँ कहिल्यै पनि ममताको कमी हुँदैन ।प्रसंग हो – ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँ बस्ने लक्ष्मीबहादुर मल्ल र इन्द्रमाया मल्लको भीमरथारोहणको।

चापागाउँ निवासी दम्पतीको पहिलो  जंक्व (भिम रथारोहण) मा उहाँकी आमा चिनी माया मल्लको उपस्थिति विशेष आकर्षणको विषय बन्यो । उमेरले ९५ वर्षकी आमा मल्लले छोरा लक्ष्मी बहादुर मल्ललाई ७७ वर्ष ७ महिना ७ दिन अघि मानव शिशुका रुपमा जन्म दिनुभएको थियो भने आज उनै छोरा सम्पूर्ण कर्मकाण्ड पूरा गरि देवत्व ग्रहण गरेको दिन पनि उत्तिकै वात्सल्य प्रेमले ओतप्रोत भएको देखिए ।लोक समक्ष देवत्व ग्रहणको जानकारी गराउन देश परिक्रमा गर्न जानुपूर्व आमालेछोरालाई काखमा राखेर विदाइ गरेका थिए ।नेवार संस्कृतिमा ७७ वर्ष ७ महिना ७ दिन ७ घडी र ७ पलाको शुभ साइतमा मानिसले आफुले विगतमा गरेका सम्पूर्ण शुभ कर्मको फल स्वरुप देवत्व ग्रहण गर्ने संस्कृतिविद् बलदेव जुजु बताउनु हुन्छ।

भिम रथारोहणको विधि सम्पन्न गर्न पुग्नु भएका पुरोहित परासर राजोपाध्यायले विधिका बारेमा जानकारी गराउँदै भिम रथारोहण तीन किसीमबाट सम्पन्न गर्न सकिने बताउनुभयो । यसमा पहिलो साधारण सगुन मात्र दिएर सम्पन्न गर्ने, दोश्रो कलशार्चन विधिबाट पुजा गर्ने र तेश्रो सम्पूर्ण देवताहरुलाई साक्षी राखी होम विधिबाट पुजा गर्ने बताउनुभयो।सामान्यत भिम रथारोहणका समयमा हातानाताका भिम रथारोहण गर्ने व्यक्ति भन्दा जेठा व्यक्तिले सो पुजामा सरिक हुनु हुदैन भन्ने मान्यता रहेको पाइन्छ । तर यस विषयमा पुरोहित राजोपाध्यायले यो कुरा सहि नभएको बरु विधिका क्रममा गोडा धुलाउने र आसन ग्रहणका लागि जाने क्रियामा मात्र सहभागी हुन नहुने बताउनु भयो।

७७ वर्षे छोरालाई काखमा लिँदाको अनुभव बताउनु हुदै आमा चिनी मायाले आफु जिवित छदै छोराको भिम रथारोहण हेर्न पाएको आफ्नो अहोभाग्य भएको बताउदै पहिले कहिल्यै नदेखेको क्रियामा सरिक हुन पाउनु आफैमा सौभाग्यको विषय भएको बताउनुभयो ।नेवार समाजमा ७७ वर्ष ७ महिना ७ दिन ७ घडी ७ पलामा भिम रथारोहण भनी पहिलो जंक्व गरिने परम्परा छ भने यसबेला घोडा बाहन र प्रमुख देवता सूर्य हुने गर्दछ । यसै गरि ८४ वर्ष ४ महिनामा चन्द्र रथारोहण भनी दोश्रो जंक्व गरिन्छ  । यसबेला सहश्र पूर्ण चन्द्र दर्शनका रुपमा एक हजार चन्द्रमा दर्शन गरेको स्वरुप पूर्णिमा तिथिका दिन यो जंक्व गरिन्छ । यसबेला हाँस बाहन र प्रमुख देवता ब्रम्हा हुने गर्दछ।

यस्तै ८८ वर्ष ८महिना ८दिन ८ घडी ८ पलामा महा रथारोहण भनी तेश्रो जंक्व गरिन्छ । यसबेला गरुड बाहन र प्रमुख देवता विष्णु हुने गर्दछ । यसपछि ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पलामा दिव्य रथारोहण भनी चौथो जंक्व गरिने परम्परा छ भने यसबेला साढे बाहन र प्रमुख देवता महेश्वर हुने गर्दछ । पाँचौ जंक्व १०८ वर्ष १० महिनामा गर्ने गरिन्छ । जसमा बाहन र देवता उल्लेख नगरिएको पुरोहित राजोपाध्यायले बताउनु भयो ।पुरुषोत्तम महिना शुभ कार्यहरु गर्न नहुने महिनाका रुपमा लिने गरिन्छ । तर यस महिनामा सबै शुभकार्य गर्न नहुने नभइ रुद्रि, सत्य नारायण तथा अन्य भाकल पुजाहरु मात्र गर्न नहुने र दिन गन्ती तथा तिथिका हिसाबले गर्नु पर्ने क्रियाकर्महरु गर्न कुनै अवरोध गरिएको छैन।

नेपाली समाज धार्मिक विविधता र सहिष्णुताले पूर्ण समाज हो । यहाँ को हिन्दु, को बौद्ध अनि को अन्य धर्मावलम्वीहरु सबै एकआपसमा मिलेर बसेका छन । अझ काठमाडौं उपत्यकाका नेवार समुदायमा त हिन्दु र बौद्धको पुजा विधि फरक भएतापनि संस्कार उस्ताउस्तै रहेको पाइन्छ ।आमाको ममताले पूर्ण विहिवार सम्पन्न भिमरथारोहणले पारिवारिक सद्भावको दरिलो उदाहरण प्रस्तुत गरेकाे छ।
 

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App