६ वैशाख २०८१ बिहीबार
राजनीति

स्मार्ट सिटीको चुनावी प्रतिबद्धता पूरा भएन

दाङ/रुकुम – गत वर्ष असारमा भएको स्थानीय तह निर्वाचनमा मुख्य अजेन्डा प्रादेशिक राजधानी बन्यो। दाङलाई प्रादेशिक राजधानी बनाउने उम्मेदवार तथा दलीय प्रतिबद्धताबाट मतदाता आश्वस्त पनि भए। संघीय संरचना अभ्यास थालनी भएकाले मतदातालाई राजधानीको विषय स्थानीय तहसँग सम्बन्धित नभएको हेक्का नै भएन। जसकारण प्रादेशिक राजधानी निर्धारण हुँदा स्थानीय तह पदाधिकारीको भूमिका निर्णायक हुने भ्रममा परेर आश्वासनका भरमा उम्मेदवारलाई मतदान गरे।

निर्वाचनका यस्तै मुख्य अजेन्डामध्ये एउटा थियो स्मार्ट सिटी। यहाँका प्रमुख बजारलाई स्मार्ट सिटीमा परिणत गर्ने उम्मेदवारको प्रतिबद्धताले समेत मतदातालाई लोभ्यायो । प्रादेशिक राजधानीको अजेन्डाझैं स्मार्ट सिटी पनि मतदाताका लागि नयाँ थियो। सबै उम्मेदवारबाट नयाँ र आकर्षक प्रतिबद्धता सुनिने चुनावको समयमा मतदाताले सहर सुन्दर र व्यवस्थित हुने सपना साँचे। राजधानी र स्मार्ट सिटीको अजेन्डा लिएर मतदाताको दैलोमा पुगेका उम्मेदवारमध्ये धेरैजना विजयी भएर स्थानीय तहको बागडोर सम्हालेको झन्डै वर्ष दिन पुग्यो। तर, स्मार्ट सिटीको अवधारणा लागू हुनु त परको कुरा, चुनावताका स्मार्ट सिटीको बखान सुनेका मतदाता अझै यसबारेमा अनभिज्ञ छन्।

उम्मेदवारका नयाँ र आकर्षक प्रतिबद्धता सुनिने चुनावताका मतदाताले सहर सुन्दर र व्यवस्थित हुने सपना साँचे। स्मार्ट सिटीको अजेन्डा लिएर मतदाताको दैलोमा पुगेका उम्मेदवारमध्ये धेरैजना विजयी भएर स्थानीय तहको बागडोर सम्हालेको झन्डै वर्ष दिन पुग्यो। तर, स्मार्ट सिटीका बारेमा जनता अझै अनभिज्ञ छन्।

उम्मेदवारहरूले यहाँका दुई प्रमुख सहर घोराही र तुलसीपुर बजारलाई स्मार्ट सिटी बनाउने उद्घोष गरेका थिए। उपमहानगरपालिका रहेका यी दुवै बजार जनप्रतिनिधि चुनिएको वर्ष दिनसम्म पनि पहिलेजस्तै अस्तव्यस्त छन्। चार लेन सडक विस्तार गर्ने नाममा सडक खनियो। तर, सडक निर्माण अघि बढ्न नसक्दा धुलोका कारण बजारवासी आजित छन्। सडकको खराब अवस्थाका कारण सवारी आवागमन अस्तव्यस्त र अव्यवस्थित बनेको छ। जसले गर्दा सहर नै कुरूप देखिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष चित्रबहादुर ओली भन्छन, ‘स्मार्ट सिटीको सपना देखाएर उम्मेदवारले मतदातालाई भुलभुलैयामा पारे। यो निर्वाचनमा मत बटुल्ने अजेन्डामात्रै थियो। उम्मेदवारले सोचेझैं यो अजेन्डा चुनाव जित्ने बलियो अस्त्र बनिदियो।’ तुलसीपुर उपमहानगरपालिका स्मार्ट सिटी हुने संकेत अहिलेसम्म नदेखिएको उनले बताए।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने भनेर अध्ययन तथा अवलोकनका लागि मेयर घनश्याम पाण्डे केही मुलुकको भ्रमणसमेत गरेका छन्। चीनलगायत विकसित राष्ट्रको स्मार्ट सिटी अवलोकन गरेर फर्केका उनले त्यहाँका स्मार्ट सिटीको फेहरिस्त सुनाए । तर, त्यसअनुसार स्मार्ट सिटी निर्माणको काम थाल्न सकेनन्। ‘मेयरसाब स्मार्ट सिटी निर्माणका लागि अध्ययन गर्न भनेर केही बाहिरी मुलुक जानुभएको हो,’ उपमहानगरपालिका कार्यालयका एक कर्मचारीले भने, ‘तर सिकाइ लागू गर्ने पक्षमा काम गर्नुभएको छैन।’

स्मार्ट सिटीका लागि भएको मेयर भ्रमणलाई अन्य जनप्रतिनिधिले अर्थहीन भन्दै आएका छन्। ‘चीनजस्तो विकसित मुलुकको स्मार्ट सिटी हेरेर त्यहाँको जस्तै बनाउँछु भन्नु सुहाउने कुरा हो?,’ वडा नम्बर ११ का अध्यक्ष ओली प्रश्न गर्छन्। उनी भन्छन्, ‘आर्थिक स्रोतको मूल्यांकन नै नगरी चीनको सिको गरेर हुँदैन।’

अर्को उपमहानगरपालिका घोराहीमा अहिले स्मार्ट सिटीको अजेन्डा उठान हुन नै छोडिसक्यो। यो उपमहानगरपालिकाका मेयर नलाल चौधरीले चुनावमा स्मार्ट सिटीलाई प्रमुख अजेन्डाका रूपमा उठाएका थिए भने निर्वाचित भैसकेपछि पनि स्मार्ट सिटी निर्माणका विषयमा जोडदार भाषण गर्दै आएका थिए। तर अहिले उपमहानगरपालिकाको योजनामा स्मार्ट सिटी अटाएको छैन। मेयर चौधरी भन्छन्, ‘स्मार्ट सिटी भनेकै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतका आधारभूत सुविधाको उपलब्धता हो। त्यसैले यसका लागि निरन्तर प्रयास भैरहेको छ।’ यो उपमहानगरपालिकाले घोराही बजारलाई स्मार्ट सिटी बनाउन सुझाव संकलन गरेको थियो। घोराही बजार पनि सडक विस्तारको नाममा धुलाम्य छ। अव्यवस्थित पार्किङले बजार क्षेत्र साँघुरो बनेको छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

दाङमा मात्रै हैन, स्मार्ट सिटी योजना विभिन्न जिल्लामा प्रमुख चुनावी नारा बन्यो। रूकुमका निर्वाचित जनप्रतिनिधिले पनि यो अजेन्डालाई प्रमुख चुनावी नारा बनाएका थिए। यहाँ पनि स्मार्ट सिटी केवल सपनामै सीमित भयो।

स्थानीय तह चुनावमा रुकुमका देवीलाल गौतमले नगरलाई स्मार्ट सिटी बनाउने नारा दिए। उनी मुसीकोट नगरपालिकाको मेयरमा चुनिए पनि। नगरमा रिङ रोड लगायत पूर्वाधार निर्माण गर्दै नगरलाई स्मार्ट सिटी बनाउने उनको योजना थियो। विजयी भएको झन्डै एक वर्ष पुग्नै लाग्दा स्मार्ट सिटीको परिकल्पना ओझेलमा परेको छ।

उनी बैठक, अतिथिसत्कार र अनुगमनलगायतका काममा व्यस्त देखिन्छन्। ‘चुनावको समयमा स्मार्ट सिटीको व्यापाक प्रचार भयो,’ मुसीकोट–१ का शिवराम खत्रीले भने, ‘अहिले स्मार्ट सिटीको काम देखिँदैन।’ नगरपालिकाको दोस्रो सभासम्म उक्त विषयले प्रवेश पाएन। मेयर गौतम भने स्मार्ट सिटी निर्माण प्रक्रियामा रहेको दाबी गर्छन्। ‘गुरुयोजना निर्माण गरेरै स्मार्ट सिटी निर्माणमा लागेका छौं,’ गौतमले भने, ‘अबको केही महिनामै गुरुयोजना निर्माण हुन्छ।’

पूर्वाधार विकासका लागि आवश्यक कानुन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्ने नगरपालिकाले जनाएको छ। बजारभित्र जथाभावी गाडिएका पाइप र झुन्ड्याइएका तारले बजार कुरूप बनेको छ। व्यवस्थित सडक र सवारी साधन पार्किङ स्थल नहुनु पनि नगरवासीको समस्या भएको मुसीकोट नगरपालिका वडा नं. २ का रमेश खड्काले बताए। नगरपालिकाका सबै वडामा भरपर्दाे सञ्चार सुविधासमेत उपलब्ध छैन।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App