६ वैशाख २०८१ बिहीबार
समाज

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

खोटाङको दिक्तेल साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको बिहीबार आयोजित विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी नगरवासी। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको दिक्तेल साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सालन हुने दिक्तेल बजार साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको विस्तृत प्राविधिक तथा सामाजिक अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो। सदरमुकाम दिक्तेल बजारमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी विस्तार गर्ने लक्ष्यका साथ सालन गर्न लागिएको आयोजनाको परामर्शदाता कम्पनी टेक कन्सल्ट प्रालि र इन्टिग्रेटेड कन्सल्टेन्ट्स नेपाल प्रालि (आइकन) ले जनाएको छ। प्रतिवेदनमा सम्भाव्यता तथा विस्तृत इन्जिनियरिङ डिजाइन समावेश छन्।

रम्बाखोला–माझखोला मुहान भएको निर्माणाधीन खानेपानी आयोजनाबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेल, वडा नम्बर २ सोल्मा र वडा नम्बर ३ बाम्राङका जनतालाई प्रशोधित स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ। ठेक्का लागेको १८ महिनामा २९ करोड रुपैयाँभन्दा बढीको लागतमा पूरा हुने यो आयोजनाले नगरभित्रका १ हजार ५९ घरधुरी लाभान्वित हुने परामर्शदाता कम्पनी टेक कन्सल्ट प्रालिका कोअर्डिनेटर हरिप्रसाद शर्माले बताए।

नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र उपभोक्ता समितिबाट संकलन हुने ५ प्रतिशत लगानी गरी कुल २९ करोड ८२ लाख ८२ हजारको लागतमा आयोजना पूरा हुनेछ। माथिल्लो पोखरी क्षेत्रमा निर्माण गरिने १५० घनमिटर, बेसक्याम्पमा निर्माण गरिने १७५ घनमिटर र हाटडाँडामा निर्माण गरिने ५० घनमिटरको ट्यांकीमार्फत बस्तीमा प्रशोधित पानी वितरण गर्ने तयारी गरिएको छ। सहरीकरणका कारण दिक्तेलमा बढ्दो खानेपानी अभाव समाधान गर्नका लागि दिक्तेलमा साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनालाई अघि सारिएको हो। जनसंख्या वृद्धिका कारण एक÷दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरा भएकाले आयोजनालाई प्राथमिकतामा राखिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए।

रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणाली उपयोग गरेर शुद्ध एवं मापदण्डअनुसारको पानी वितरण व्यवस्था विस्तार गर्ने तयारी गरिएको परामर्शदाताको प्रतिवेदनमा उल्लेख छ। यसअघि पनि यी दुवै खोलाकै ट्रान्समिसन प्रणालीबाट लामो समयदेखि दिक्तेल बजारमा पानी आपूर्ति हुँदै आएको थियो। आयोजनाबाट दैनिक प्रतिव्यक्ति ७५ लिटर पानी उपलब्ध गराउने लक्ष्य राखिएको रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव छत्र बजिमयले बताए। आयोजनाको काम अघि बढाउनका लागि बिहीबार तस्रो साना सहरी खानेपानी सरसफाइ आयोजना व्यवस्थापन कार्यालयका तर्फबाट आयोजनाका उपनिर्देशक नारायणप्रसाद आचार्य, स्थानीय तहका तर्फबाट मेयर रिजाल, नगर विकास कोषका तर्फबाट सुवासराज पन्त र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका तर्फबाट गजुरमान राईले हस्तक्षतार गरेका छन्। उपभोक्ताका तर्फबाट हुनुपर्ने ५ प्रतिशत लगानीका लागि १५ दिनभित्र रकम संकलन गरिने समितिले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App