७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रसारण लाइन निर्माणबारे ऊर्जामन्त्री–अमेरिकी राजदूत छलफल

काठमाडौं– ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ।

मन्त्री पुनसँगको भेटमा अमेरिकी राजदूतले ऊर्जा र सिँचाइको क्षेत्रमा सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताइन् । भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए ।

नेपाल कम्युनिस्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले अमेरिकाको सहयोगमा सञ्चालित एमसिसीसँग सम्बन्धित कार्यक्रम समयभित्र पूरा गर्ने तयारी ऊर्जा मन्त्रालयले गरेको बताए । उनले त्यसका लागि सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राखे ।‘एमसिसी नेपाल कम्प्याक्ट महत्वाकांक्षी कार्यक्रम हो । योभन्दा बढी महŒवाकांक्षी बुटवल–अत्तरिया प्रसारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रोतर्फबाट एमसिसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौं,’ मन्त्री पुनले भने ।

उनले एमसिसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी समेत दिए । नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीको लागि वातावरण बनाइदिन आग्रह गरे ।मन्त्री पुनले एमसिसी परियोजना सुरु भएको पाँच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफू जानकार रहेको भन्दै पूर्वतयारीको काम पनि समयभित्र पूरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताए ।

एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान ब्रुक्सले एमसिसी वैदेशिक लगानीको सूचकका रुपमा भएको बताए । उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राखे । ‘पाँच वर्षभित्र यो परियोजना पूरा हुनैपर्ने हाम्रो नियम छ । त्यसका लागि तयारीको चरण अझै केही समय बाँकी रहेकाले त्यो अवधिभित्र सबै तयारी पूरा भयो भने परियोजना निर्माणमा सहयोग पुग्छ,’ उनले भने ।एमसिसी नेपाल कमप्याक्ट परियोजनाअन्र्तगत अमेरिकाले नेपालको ऊर्जा र सडक निर्माणमा ५० अर्ब बराबरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

एमसिसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रसारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ ।एमसिसीअन्र्तगत रातोमाटे–दमौली, दमौली–बुटवल, बुटवल–हेटौंडा र रातोमाटेदेखि लप्सीफेदीसम्म चार सय केभिएको प्रसारण लाइन निर्माण हुनेछ । त्यसैगरी, बुटवलदेखि सुनौलीसम्म अन्तर्देशीय प्रसारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App