coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मकै भित्र्याउन भ्याइनभ्याई

सर्लाही - जिल्लास्थित बागमती नगरपालिकाअन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूतिर्या वन व्यवस्थापन क्षेत्रको जग्गामा फलेको मकै भिœयाउन भ्याइनभ्याई छ । २०६० तिर सिसौ, मसला, टिक, सिमललगायत जातका उमेर पुगेका रुख काट्ने तथा नयाँ विरुवा रोप्न परियोजनाका कर्मचारीलाई भ्याइनभ्याई हुने उक्त क्षेत्र पूर्ण रुपले अतिक्रमणमा परेका कारण १३ वर्षयता धान, मकै, बेसार, गहुँ लगायत बाली भित्र्याउन भ्याइनभ्याई हुने गरेको छ।

परियोजनाको अतिक्रमित जग्गामा फलेको हाइब्रिड जातका मकै लोभ लाग्दोगरी फलेको देखिन्छ । परियोजनाको जमिन प्लटको एक लाख रुपैयाँसम्म किनेर खेती गरेका सर्वसाधारणलाई अहिले फलेका मकैका घोगा भाँचेर भिœयाउन भ्याइनभ्याई भएको हो । हाल बागमती नगरपालिकाअन्तर्गत साविक ढुंग्रेखोला, कर्मैया, शंकरपुर लगायत गाविस क्षेत्रमा पर्ने परियोजनाको जग्गामा मकै खेती भएको छ । किसानहरु अब मकै भिœयाएर सक्ने बित्तिकै धानबाली लगाउने तयारीमा समेत जुटिसकेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिलनचोकबाट दक्षिण नहरको बाटो हुँदै शंकरपुरको सोल्टी बजारसम्मको नहरको पूर्व र पश्चिम दुवैतर्फ तथा कर्मैया–हथियौल सडकको पश्चिमतर्फको परियोजनाको जमिनमा केही महिनाअघि मकै खेती भएको थियो, जुन अहिले भिœयाउने लहर सुरु भएको छ । परियोजनाको जमिनअन्तर्गत मकैबारी भरी घोगा भाँचेर संकलन गर्ने तथा टायरगाढामा मकै लोड गर्नेहरुको घुइँचो देखिन्छ।

सिसौ, मसला, टिक लगायत जातका रुखहरुको व्यवसायिक उत्पादन गर्ने र अनुसन्धान समेत गर्ने गरी २०३५ मा स्थापना भएको परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत दुई हजार सात सय ४१ हेक्टर क्षेत्रफलमध्ये २०६३ यता दुई हजार पाँच सय ३४ हेक्टर क्षेत्रफल पूर्ण रुपमा अतिक्रमणमा परेको थियो । २०७३ असार २१ गतेबाट परियोजनाले नयाँरोड–मलंगवा सडकखण्ड पूर्व र पश्चिम लगाइएको बालीनाली नष्ट पार्दै मसलाका बिरुवा रोप्ने अभियान सुरु गरे पनि उक्त कार्यले निरन्तरता पाउन नसक्दा अतिक्रमित जग्गामा खेती गर्ने तथा पक्की एवं कच्ची घर बनाउने क्रम ह्वात्तै बढेको छ । हालसम्म अतिक्रमित ७०२ हेक्टर क्षेत्रफल नियन्त्रणमा लिएर वृक्षरोपण गरी सकिएको परियोजनाले जनाएको छ ।

परियोजनाको जग्गामा वर्षौंदेखि खेती गर्दै आएका सर्लाहीसहित सिन्धुली, मकवानपुर, सिराहा, महोत्तरी, धनुषालगायत जिल्लाका बासिन्दाले हाल उताको घरजग्गा बेचेर परियोजनाको वन क्षेत्रमा धमाधम पक्की घर बनाइरहेको जानकारहरु बताउँछन् । सुकुम्बासीको नाममा हुकुम्बासी वर्गले परियोजनाको जमिन किनेर अतिक्रमण गरिरहेका छन्।

‘अतिक्रमणमा संलग्नमध्ये आधा पनि सुकुम्बासी परिवार छैनन्,’ एक स्थानीयले प्रतिप्रश्न गरे, ‘सबै हुकुम्बासी परिवार हुन्, अन्त भएको घर जमिन नै बेचेर यहाँ किन्ने मान्छे पनि सुकुम्बासी हुन्छन् ?’ सरोकारवाला सरकारी निकायले बेवास्ता गरेका कारण अतिक्रमणको विरोधमा स्थानीय पनि खुलेर बोल्न सकेका छैनन् ।परियोजनाको वन क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा धरहरामा सशस्त्र प्रहरीको बेसक्याम्प नै रहेको छ । तथापि घर निर्माण गर्ने र बालीनाली लगाउने कार्य रोकिएको छैन ।

अतिक्रमणमा संलग्नहरुलाई नियन्त्रणमा लिने तथा घर टहरा भत्काउने कार्य भइरहेको परियोजना प्रमुख देवेशमणि त्रिपाठीले दाबी गरे । ‘यसबीच हामीले अतिक्रमणमा संलग्न ५–६ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाइसक्यौं,’ त्रिपाठीले भने, ‘घरटहरा पनि भत्काउने गरेका छौं ।’ हाल छिटफुट रुपमा कारबाही भइरहेको र निकट भविष्यमै कार्ययोजना बनाएर अभियानकै रुपमा खेती भएको एवं घरटहरा निर्माण गरिएका अतिक्रमण खाली गराउने काम सुरु गर्ने उनले दाबी गरे ।
 

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App