८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

विस्फोट गर्नुअघि पुंगी–री आणविक परीक्षणस्थलको स्याटेलाइट तस्बिर । तस्बिर : बिबिसी

प्योङयाङ– उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थलमा रहेका सुरुङहरु विस्फोट गरी नष्ट गरिदिएको जस्तो देखिएको छ ।कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्ने प्रयासस्वरुप प्योङयाङले पुंगी–रीस्थित आफ्नो एकमात्रै आणविक परीक्षण केन्द्र ध्वस्त गरेकोे बताएको छ ।

उत्तरपूर्वी क्षेत्रमा रहेको पुंगी–री परीक्षण केन्द्र पुगेका विदेशी पत्रकारहरुले आफूहरुले उक्त क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । पत्रकारहरुले यस्तो बताएको केही समयपछि प्योङयाङले आणविक परीक्षण केन्द्र ध्वस्त गरेको जानकारी गराएको छ।

आफ्नो एक मात्रै आणविक परीक्षणस्थल बन्द गर्ने उत्तर कोरियाली कदम उसको परम्परागत शत्रु राष्ट्र दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँग कूटनीतिज्ञ सम्बन्ध विस्तार गर्ने प्रयासस्वरुप आएको हुनसक्ने अनुमान गरिएको बिबिसीले जनाएको छ । उत्तर कोरियाले यस वर्षको सुरुवातमै आफ्नो आणविक परीक्षणस्थल बन्द गर्ने घोषणा गरेको थियो । प्योङयाङको आलोचना गर्ने वैज्ञानिकहरुले भने सन् २०१७ को सेप्टेम्बरमा गरिएको पछिल्लो परीक्षणका बेला नै उक्त स्थलमा आंशिक क्षति पुगेको र प्रयोग गर्न नमिल्ने भएपछि उत्तर कोरियाले बन्द गरेको हुनसक्ने आशंका व्यक्त गरेको बिबिसीले जनाएको छ।

देशको उत्तरपूर्वी पहाडी क्षेत्रमा रहेको पुंगी–री आणविक परीक्षणस्थललाई नष्ट पार्ने प्रक्रियाको स्वतन्त्र पर्यवक्षेकलाई भने उपस्थित नगराइएको बिबिसीले उल्लेख गरेको छ । केही विश्लेषकहरुले भने पुंगी–री परमाणु परीक्षणस्थल नष्ट गरिए पनि सजिलै पुनः सञ्चालन गर्न सकिने भन्दै चिन्ता व्यक्त गरेको बिबिसीले जनाएको छ । मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको वार्ता निर्धारित मितिमा नहुने वा कहिल्यै नहुनेतर्फ संकेत गरेका थिए । अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच भाषिक घोचपेच चलिरहेकै बेला दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग मंगलबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको बैठकपछि ट्रम्पले यस्तो आशंका व्यक्त गरेका थिए ।

छानिएका करिब २० जना अन्तर्राष्ट्रिय पत्रकारहरूको उपस्थितिमा बिहीबार शृंखलाबद्ध रूपमा विस्फोट गराइ पुंगी–री आणविक परीक्षण केन्द्रका सुरुङहरू नष्ट पारिएका थिए । बिहान दुईवटा र अपरान्ह चारवटा विस्फोट गराइएको बिबिसीले जनाएको छ ।

परीक्षणस्थल नष्ट गर्ने समारोहमा उपस्थित पत्रकारहरुमध्ये स्काई न्युजका टम चेसायर पनि रहेको बताइएको छ । उनका अनुसार सुरुङका प्रवेश विन्दुहरुमा तारैतार विच्छाइएको थियो । ‘हामीले पहाड चढ्यौं र करिब पाँच सय मिटर परबाट विस्फोटको दृश्य हेर्यौं,’ चेसायरलाई उद्धृत गर्दै स्काई न्युजले जनाएको छ । ‘उनीहरुले तीन, दुई, एक भनेर गन्ती गरेका थिए । अनुभव गर्न मिल्ने गरी त्यहाँ ठूलो विस्फोटन भएको थियो । विस्फोटपछिको धुलो र तातो हामी भएको ठाउँसम्म आइपुगेको थियो । आवाज निक्कै ठूलो थियो,’ उनले बताएका छन्।

‘आणविक परीक्षणस्थल यसरी ध्वस्त गरिएको थियो की त्यहाँ रहेका सबै सुरुङ विस्फोटबाट ध्वस्त भएका छन्,’ आणविक परीक्षणस्थल ध्वस्त गरेको केही समयपछि उत्तर कोरियाली आणविक हतियार इन्सिट्युटले एउटा विज्ञप्ति प्रकाशित गर्दै जानकारी गराएको छ । ‘उक्त आणविक परीक्षणस्थलबाट कुनै पनि प्रकारको रेडियोएक्टिभ पदार्थ नबाहिरिएको र पर्यावरणीय वातावरणमा पनि कुनै असर नपरेको पुष्टि पनि भएको छ,’ इन्सिट्युटले आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । उत्तर कोरियाले उसको आणविक परीक्षणस्थल ध्वस्त गरेको समाचारलाई दक्षिण कोरियाले स्वागत गरेको बिबिसीले जनाएको छ ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App