८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

डडेल्धुरा – बढ्दै गएको गर्मिसँगै एक साता यता डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम क्षेत्रमा बढ्दै गएको जनसंख्या एवम् लामो समयदेखीको खडेरीका कारण खानेपानीका मुहानमा पानीको सतह घट्दै गएपछि पानीको अभाव हुन थालेको हो।

सदरमुकाममा दैनिक ६ लाख लिटर पानी आवश्यक पर्ने भएपनि हाल १ लाख लिटर पानीको पनि आपूर्ति हुन नसकेको खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति डडेल्धुराका अध्यक्ष रविन्द्र केसीले बताए। खानेपानीको अभाव हुन थाले पछि सदरमुकाम वासी खानेपानी लिनका लागि विहानैदेखी पानी वितरण गरिने ट्याङ्कीमा लाइन बस्न बाध्य भएका छन्।

खानेपानीको अभाव हुन थाले पछि सदरमुकामका होटेल व्यवसायी ट्यांकरबाट खानेपानीको आपूर्ती गर्न थालेका छन्। खानेपानीको चरम अभावसँगै डडेल्धुरामा होटेल व्यवसाय प्रभावित हुन थालेको होटेल व्यवसायीको गुनासो छ। होटेलमा ग्राहकहरुलाई पर्याप्तमात्रामा पानी उपलब्ध नहुँदा गुणस्तरिय सेवा दिन समस्या भएको होटल व्यबसायी बिरबहादुर ऐरले बताए।

यस्तै पानीको समस्याले सदरमुकाम क्षेत्रमा डेरा गरी वस्ने विद्यार्थी एवम् कमचारीलाई पिरोल्ने गरेको छ।

१२ सय ५० उपभोक्ता रहेको उपभोक्ता समितिले माग अनुसार पानी वितरण गर्न नसकिएको सुइकार्दै एक दिन बिराएर मात्र पानी वितरण गर्ने गरेको बताएको छ।

समितिका सचिव यज्ञराज ओझा १ लाख ३४ हजार लिटर क्षमताको पानी ट्याङ्कीमा १२ फिट पानी हुनु पर्नेमा ४ फिट मात्रै हुने गरेकाले समस्या भएको बताउँछन्।

सदरमुकाम क्षेत्रमा खानेपानि वितरण गर्दै आएको खलंङ्गा खानेपानी ट्यांकीको स्तरोन्नती नहुनु र जनसंख्या बढ्नु जस्ता कारणले पानी अभाव हुने गरेको स्थानीको गुनासो छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App