१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

फाइल फाेटाे

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन्। 

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको शुक्रबार स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र एकता आवश्यक रहेको बताए। “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने।

सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टीभित्र आफ्नै नेतालाई हराउन आफ्नै नेताहरु लाग्दा धेरै स्थानमा पराजय बेहोर्नु परेको उल्लेख गरे। 

चुनाव हारेको छ भन्ने मानसिकता त्यागेर पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्ने उनले बताए। गुट–उपगुट त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका लागि वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताए। “वर्तमान चुनौतीको सामना गर्दै कम्युनिष्ट शक्तिहरुसँग लड्न काँग्रेसीहरु एक हुनु जरुरी छ,” उनले भने । 

काँग्रेस उपसभापति बिमलेन्द्र निधिले कम्युनिष्टहरु बीचको एकतामा आत्तिनुभन्दा आफ्नै एकतामा ध्यान दिएर संगठन मजबुत पार्न लाग्नुपर्ने बताए। “कम्युनिष्टहरु एक भए अब हामी ढिक्का हुन बाँकी छ, भोलिका लागि सोचेर एक भएर अघि बढौँ,” उनले भने। 

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनलाई लक्ष्यमा लिएर अहिलेबाट नै खाका सहितको कार्यक्रम लिएर जनताका माझ जान आवश्यक रहेको बताए। “आगामी निर्वाचनमा अहिलेको भन्दा १० देखि १२ प्रतिशत मत बढ्ने गरेर संगठन निर्माणमा लागौँ,” उनले भने। 

केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी लगायतले निर्वाचनमा भएको पराजयबाट पाठ सिकेर अघि बढ्नुपर्ने बेला आएको बताए। विसं २०६३ जेठ १० गते स्थापना भएको सांस्कृतिक संघले काँग्रेसले गरेका कामलाई गीत, कविता, गजलमार्फत आम जनतामाझ लैजाँदै आएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए। 

प्रकाशित: ११ जेष्ठ २०७५ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App