८ वैशाख २०८१ शनिबार
अन्य

नेकपा एअरवेज

नेकपा एअरवेजले नयाँ जेट विमान ल्याएको छ । प्रतिस्पर्धाको युग छ । अतः अरुले भन्दा प्रगति गर्ने हो भने विमान नयाँ–नयाँ नै चाहिन्छ।

नेकपा एअरवेज हालै दर्ता भएको नयाँ विमान सेवा हो । हालै मात्र दुई टेम्पो सेवा मर्जर भएर यो नयाँ हवाई सेवा अस्तित्वमा आएको हो । हवाई सेवा दर्ता हुनेबित्तिकै यसले नयाँ जेट विमान पनि ल्याएको छ, दुइटा पाइलटवाला । विमान एउटै भए पनि यो उडाउने कामचाहिँ दुइटा पाइलटले गर्ने रहेछन् । त्यसो त जेट विमान भनेको दुइटै पाइलटले उडाउने हो ।विमानको आकार पनि ठूलै छ । चार सयभन्दा बढी यात्रु सवार हुने विमान हो यो । मिल्ने भए अरु पनि धेरै यात्रु यसमा चढ्थे होलान् । यात्रु बढी हुने भएकाले सिटको कुरामा अलि गन्जागोल पनि हुने रहेछ । अस्ति भएको पहिलो उडानमै त्यस्तो गन्जागोल देखियो।

नेकपा एअरवेजको यो विमानमा कुल सिट संख्या चार सयभन्दा बढी भए पनि बिजनेस क्लासमा नौवटा मात्रै सिट रहेछ । अस्ति पहिलो उडानका लागि तयारी गरिरहँदा अचानक एक यात्री हस्याङफस्याङ  गर्दै विमानमा प्रवेश गरे । उनको श्वासप्रश्वासमा प्रस्ट देखिएको स्वाँस्वाँबाटै थाहा हुन्छ, उनी टाढैदेखि दौडिएर आएको हुनुपर्छ । वास्तवमा विमान उड्नका लागि अन्तिम तयारी गर्दै थियो ।

त्यस्तो अवस्थामा एक यात्री हस्याङफस्याङ गर्दै विमानभित्र पसेको देखेर सबैको ध्यान उनैमाथि केन्द्रित भयो । उनी बिजनेस क्लासका यात्री रहेछन् । त्यहाँ एउटा सिट खाली नै थियो । सायदै उनैको हुनुपर्छ । उनी उक्त सिटमा भने बसेनन् । बरु सँगै बसेका यात्रुलाई घृणापूर्वक हेर्दै उनले भने, ‘महासय, कृपया तपाईं त्यो सिट छाडेर यो सिटमा बस्नुहुन्छ कि ?’

पहिल्यै बसिसकेका यात्रीले भने, ‘किन महासय ? तपाईं त्यही सिटमा बस्नोस् न ।’पछि  आएका यात्रुले भने, ‘अहँ बस्दिनँ । यो नै मेरो सिट हो । तपाईं गलत सिटमा बस्नुभयो । तपाईं उठेर त्यो पछिको सिटमा बस्नुस्, म यो आफ्नै सिटमा बस्छु ।’पहिलो यात्रु अलमलिए,  ‘के कुरा गर्नुभएको यार तपाईंले ? अघिदेखि आएर म यहाँ बसिरहेको छु । तपाईं अहिले आएर सिट छाड भन्ने ?’

‘आफ्नो सिट छाड भन्न नहुने ?’ यात्रीको आवाजमा आक्रोश मिसिएको देखियो ।‘कसरी आफ्नो हुन्छ यो ? तपाईं पछाडि नै बस्नोस् ।’‘म पछाडि बस्दिनँ । अगाडि नै बस्छु ।’यात्रुबीच शत्रुवत संवाद हुन थाल्यो । झगडै होलाजस्तो देखियो । सिटमा बसिरहेका यात्री अलि होचो पुड्को देखिन्थ्यो । पछि आएका चाहिँ अलि खाइलाग्दो, हट्टाकट्टा, टाईसुटमा थिए । उनले होचो देखेर अर्को यात्रीलाई हेपेको हो कि जस्तो पनि देखिन्थ्यो।

दुईजनाको बाझाबाझले विमानभित्र खैलाबैलाजस्तो वातावरण उत्पन्न हुन पुग्यो । यात्रुहरू अवाक् थिए । त्यहाँ के भइरहेको हो, कसैलाई थाहा थिएन । अब गर्ने के ?त्यहीबेला विमानको स्टेवार्ड दौडेर त्यहाँ आइपुगे । वास्तवमा विमानमा एअरहोस्टेज पनि रहेन छ । सेवाका लागि एकजना स्टेवार्ड मात्रै थियो ।‘के भयो सर ?’ उनले नम्र स्वरले दुवै झगडालु यात्रीलाई सोधे ।‘के भयो देख्नुभएन ? मेरो सिट चाहियो रे उहाँलाई !’ सिटमा बसिरहेका पुड्का यात्रीले भने ।‘यो के गरेको तपाईंहरूले ? मेरो सिटमा अर्को यात्रुलाई राख्ने ?’ उभिरहेका ज्याङ्गो ज्यानवाला  यात्रु पनि कराए।

नेकपा एअरवेजको यो विमानमा कुल सिट संख्या चार सयभन्दा बढी भए पनि बिजनेस क्लासमा नौवटा मात्रै सिट रहेछ । हालै मात्र दुई टेम्पो सेवा मर्जर भएर यो नयाँ हवाई सेवा अस्तित्वमा आएको हो ।

‘होइन सर, अब पछाडिकै सिटमा बस्नोस् न । एक सिट पछि बसेर हुन्छ र ?’ स्टेवार्ड अझ नम्र भए ।‘किन बस्नु पछाडि ? टेम्पो हो र यो जो जहाँ बसे पनि हुने ! यो त जेट हो, सिटअनुसारै बसिन्छ ।’‘तर, सिटप्लान भइसक्यो सर, मिलाउन त परिहाल्यो ।’‘सिट प्लान भइसक्यो भनेर हुन्छ ?,’ ज्यांगो यात्री झन जंगिए, ‘मलाई सोधेर गरिएको हो सिट प्लान ? अझ तपाईंहरू त बेइमान हो ।’‘किन बेइमान सर ?’ स्टेवार्ड तन्किए।

‘यो विमान आज उड्छ भनेर मलाई किन खबर नगरेको ? मलाई कुनै जानकारी नै नदिई विमान उडाउने ?’ उनको पूरा अनुहार रातो हुँदै जान थाल्यो, ‘अस्ति उहाँ पाइलटलाई पनि एउटा पार्टीमा सँगै भेटेको थिएँ । उहाँले समेत भन्नुभयो मलाई । पाइलट हुँ भन्दैमा त्यसरी गमक्क पर्नुपर्छ ? मलाई भनेर के बिगिन्थ्यो उहाँको ? यसरी हामीलाई कुनै खबरै नगरी विमान उडाउने ?’‘खबर त गरेको होला । तर कहीँ...’

‘तपाईं बढ्ता चिप्लो नगर्नुस्, खबर गरेकै छैन । म त पत्रिकामा समाचार पढेर आएको हुँ । अब आफू चढ्नुपर्ने विमानको उडान समेत पत्रिकामा पढेर थाहा पाउनुपर्ने भयो हामीले ? अब आउँदा पनि मेरो त सिटै गायब । यस्तो तालले विमानसेवा चल्दैन । लौ खुरुक्क मेरो सिट मिलाइदेऊ ।’स्टेवार्ड मौन भए । बिस्तारै सिटमा बसिसकेका यात्रुतिर आँखा लगाए । ‘हुँ’ भन्दै यात्रु झ्यालतिर हेर्न थाले । उभिरहेका यात्रुको क्रोधि आँखा स्टेवार्डतिर सोझिन थाल्यो ।वातावरण तनावपूर्ण नै थियो । अचानक विमानको इन्जिन स्टार्ट भएको आवाज सुनिन थाल्यो । घुनुनुनु... ।
 

प्रकाशित: १२ जेष्ठ २०७५ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App