६ वैशाख २०८१ बिहीबार
राजनीति

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका दलले नीति तथा कार्यक्रमलाई हावादारी, सपनामात्रै बाँड्ने र नयाँ कार्यक्रमविहीन भनेर चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलका सांसदहरूले शुक्रबार यस्तो दाबी गरेका हुन्।

प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नीति तथा कार्यक्रम नपढीकनै प्रतिपक्षले टिप्पणी गरेको भन्दै आपत्ति जनाए। ‘नीति तथा कार्यक्रमको ८७ औं बुदाँमा संविधान संशोधन गर्नेदेखि ५० औं बुँदामा हुलाकी राजमार्ग ५ वर्षमा बनाउने भनेर स्पस्ट लेखिएकाापनि यहाँ छैन भनेर बहस हुन्छ, अचम्म लाग्छ,’ उनले भने, ‘चुनावी प्रतिबद्धताअनुसार नीति तथा कार्यक्रम आएको छ, हाम्रो सपनालाई जनताले पत्याएका छन्।’ नीति तथा कार्यक्रमले १ वर्ष, ३ वर्ष र ५ वर्ष तथा १० वर्षमा कहाँ पुग्ने भनेर लक्ष्य निर्धारण गरेको पनि नेम्वाङले बताए।

उनले आफूहरूले रेल र पानीजहाजको सपना देख्न थालेको उल्लेख गर्दै प्रतिपक्षी दलका नेतालाई रेल र पानी जहाज चढेर महासागर जान पनि प्रस्ताव गरेका छन्। ‘काठमाडौंदेखि दिल्लीसम्म मात्रै होइन, काठमाडौंदेखि बेइजिङ हुँदै युरोपसम्म रेलमा नै गएको सपना देख्न थालेका छौं,’ उनले भने, ‘कोसी हुँदै गंगा र महासागरसम्म पानीजहाजमा गएको सपना पनि देख्छु, तपाईंलाई लिएर त्यही पानीजहाजमा जाउँला।’ नेम्वाङले संविधानअनुसार भएको निर्वाचनमा भाग लिई जितेर आएको र संविधानप्रति प्रतिबद्ध रहेको भन्दै शपथ खाइसक्दा पनि संविधान स्वीकार्य नभएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरे। संविधानको धारा विभेदकारी छ भन्ने तर त्यो धारा नदेखाउने प्रवृत्तिले समस्या सुल्झाउन मद्दत नगर्ने उनको भनाइ छ।

सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रमले सपनाकै कुरा गर्ने र त्यो पूरा गर्दै जाने भन्दै प्रतीक्षा गर्न आग्रह गरे। ‘सपना ज्युँदो मान्छेले मात्रै देख्छ, जिउँदो मान्छेले चलाएको सरकार भएकाले सपना देखेका हौं,’ उनले भने, ‘प्रतिपक्ष भयभीत र त्रसित हुनुका साथै अनिश्चय र दिशाहीनताको शिकार भएको छ, भावी नेपालको मार्गचित्र कोरेको नीति तथा कार्यक्रममा बासी प्रश्न सोधेर बसेको छ तर समयले ताजा प्रश्न खोजेको छ।’ सत्तारुढ दल सर्वसत्तावादको दिशामा गएको भन्ने आरोपको पनि भट्टराईले प्रतिवाद गरे। ‘अस्पतालको बेडमा छटपटाइरहेका मनमोहन अधिकारीमाथि अमानवीय व्यवहार गर्नेहरू अहिले सर्वसत्तावादका कुरा गर्छन्,’ उनले भने। चौडा सडक, रेल, पानीजहाज र ठूला आयोजनाको सपनाले जनताको आकांक्षा बढाएको र सो पूरा हुने भट्टराईले दाबी गरे।

सांसद देवप्रसाद गुरुङले ०४८ सालपछि ‘ब्रेक थ्रु’ गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरे। ‘बहुदलीय शासनकालमा राष्ट्रिय पुँजीको विकास भए पनि आयात दर घटेन, अब आत्मनिर्भर अर्थतन्त्रले मुलुकको मुहार फेर्नेछ,’ उनले भने, ‘प्रशासनिक खर्चलाई मितव्ययी बनाउँदै पुँजीगत खर्च बढाउने गरी कार्यक्रम आएको छ।’ आगामी ५ वर्षभित्र रिजल्ट दिने गरी विकासका ढोका खोलिने गुरुङले दाबी गरे।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भने राजनीतिक स्थायित्व नभई मुलुक समृद्धितर्फ जान नसक्ने जनाए। ‘नीति तथा कार्यक्रम लक्ष्य प्राप्त गर्नेमा आशंका कायमै छ,’ उनले भने, ‘किनभने राजनीतिक मुद्दा सम्बोधन नगरी विकास सम्भव हुँदैन, समृद्धिको यात्रामा जान सकिन्न।’ गच्छदारले संविधान संशोधन गर्नेदेखि दुईतिहाइको दम्भ नराख्न पनि सत्तारुढ दललाई सुझाए।

राजपा सांसद महेन्द्रराय यादवले संविधानप्रति असन्तुष्टि कायम नै रहेकाले संशोधन गरेर पूर्णता दिनुपर्ने बताए। उनले संविधान संशोधनपछि समृद्धि अभियानमा जुट्नुपर्ने औंल्याए। नीति तथा कार्यक्रममा तराई मधेस शब्द उल्लेख नहुँदा पहिचान स्थापित नभएको भन्दै यादवले गुनासो पनि गरे। संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले राष्ट्रपतिको भाषणमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ‘सम्माननीय’ जस्ता शब्द प्रयोग नभएकामा आपत्ति जनाइन्। उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि सोच र शैलीमा परिवर्तन नआएको भन्दै आलोचना पनि गरिन्। ‘नीति तथा कार्यक्रममा सडकजस्ता पूर्वाधारमा लगानी नगर्ने भन्ने देखियो तर प्रदेशसम्बन्धी कानुन नबनेसम्म केन्द्रले नै सडकलगायत पूर्वाधारमा ध्यान दिनुपर्छ, भाग्न पाइँदैन,’ गिरीले भनिन्। सांसद विकास कोषको रकम निकासा गर्न पनि उनले माग गरिन्।

राप्रपाका राजेन्द्र लिङदेनले नीति तथा कार्यक्रमले सरकारलाई सुख नदिओेस् भन्ने कामना गरे। ‘७ वर्षमा पुल बनेको छैन, सरकारले ५ वर्षमा विदेश जानुपर्ने स्थिति अन्त्य हुने दाबी गरेको छ,’ उनले भने, ‘यो सपनाले रातमा पनि सरकारलाई सुत्न नदिओस्,’ उनले भने।

प्रकाशित: १२ जेष्ठ २०७५ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App