७ वैशाख २०८१ शुक्रबार
अन्य

रोमाञ्चक रारा

के खनायो यसै रारामा राराकी अप्सरा...।

२०२० फागुन २० मा रारा पुगेका कवि मविवि शाहले आफूलाई थाम्नै सकेनन्। अनि टुसुक्क बसे। र, रारा तालको सुन्दरता पोख्न थालिहाले कविताका रूपमा। भन्ने गरिन्छ– जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ। उनले रविले समेत नियाल्न नसकेको ‘परी’ अर्थात् रारा तालको सुन्दरता छताछुल्ल पारिदिए, कागजका पानामा। जसलाई अहिले पनि उनी बसेर लेखेको ठाउँमै राखिएको शिलालेखमा पढ्न सक्छन् जोकोहीले।

भाग्य नै भन्नुपर्छ, तिनै परीको दर्शन गर्ने अवसर मिल्यो केही दिनअघि मात्र। मुलुककै सबैभन्दा ठूलो तालका रूपमा रहेको यो तालले हामीलाई पनि लठ्ठै पार्याे, जसरी अरुलाई पार्दै आएको छ। सायद, सबैलाई मोहित तुल्याउन सक्ने यही अदम्य शक्तिकै कारण होला, आजसम्म त्यहाँ पुग्नेले राराको वर्णन नगरेको विगत छैन। अनि त्यहाँ पुग्न पाएकामा आफूलाई भाग्यमानी नसम्झेको कोही भेटिन्न।

धेरैलाई लाग्न सक्छ, जंगलको बीचमा एक्लै बस्न बाध्य यी परी कति निराश हुँदिहोलिन्। तर, यो सोचाइलाई गलत सावित गर्दै रारा नामकी यी परी आफू औधी खुसी भएको सन्देश दिइरहेकी छिन्, सबैलाई । त्यसैले त यहाँ पुग्नेहरू घन्टौं यिनै परीसँग लुटुपुटु गरिरहन चाहन्छन्। यिनकै सामीप्यमा घुलमिल भइरहने चाहना राख्छन्। यसबाट पनि थाहा हुन्छ कि जंगलमा एक्लै बिताउने रारा हैन, बरु धुवाँ, धुलो र कंक्रिटको जंगलमा बस्न बाध्य मानिस निराश छन्। र, त त्यसबाट केही समय भए पनि मुक्ति खोज्नका लागि यिनै परीको शरणमा पुग्छन्।

करिब १६७ मिटरसम्म गहिराइ, ५.१ किमिसम्म लम्बाइ र ३ किमि चौडाइ ओगटेर बसेकी रारा आँखाले भ्याउन्जेल हेरेरै अघाउँदैनन्, त्यहाँ पुग्नेहरू। हरिया सल्लाबीच अवस्थित यी परी जताबाट हेरे पनि उत्तिकै सुन्दरताले सजिसजाउ देखिन्छन्। वरिपरि परिक्रमा गर्न मात्र करिव साढे चारदेखि पाँच घन्टासम्म लाग्ने अवस्थाले बताउँछ– यी वास्तवमै विशाल छिन्, यिनको हृदय विशाल छ। त्यसैले त सबैलाई आफूमा अटाउने हैसियत राख्छिन्। यही कारण हो कि सयौँ तस्बिर आफ्नो क्यामेरामा कैद गर्दा पनि अघाउँदैन मान्छे। उनैसँग टाँसिएर जति तस्बिर खिचे पनि कहिल्यै पुग्दैन उसलाई । यसको एउटै कारण यी परीमा व्याप्त सबैलाई मोहित पार्ने तागत नै हो भन्नेमा कुनै विवादै छैन।

ढल र मलमूत्रको बहावलाई नदी मान्न बाध्य हामी सहरवासी यी परीले समेटेकी एकदमै कञ्चन पानी देख्दा मोहित नहुनै सक्दैनौँ। हरियो चञ्चल पानीमा देखिने आफ्नोमात्र हैन, वरिपरिका समेत आकृतिले थकान मन त्यत्तिकै ऊर्जाशील भएर आउँछ। तनाव डाँडो काट्छ र फूर्ती प्रवेश गराउँछ। लाग्छ– म यतिखेर तनावमुक्त प्राणी हुँ। यस धर्तीको सबैभन्दा भाग्यमानी मानिस हुँ। रारा परीको अर्को विशेषता हो, त्यहाँ पुगेर फर्कनेलाई ऊर्जा दिनु। सबैले फर्कँदै गर्दा समेट्ने अनुभव यही हो।

आफ्नो जवानी नियाल्न आउनेलाई सकेसम्म मनोरञ्जन दिलाउन कम खप्पिस छैनन्, यी परी। हेर्दाहेर्दै आफ्नो मुहार परिवर्तन गर्न निकै सिपालु लाग्छिन्, यिनी। त्यसैले त उतिखेरै किसिम किसिमका रङ देखिन्छन् पानीको। अनि यहीँबाट देखिने सिस्नेरी र काञ्जिरोवा हिमालको छायाँले पनि कम्ता हौस्याउँदैन हेर्नेलाई। आफैँ उम्रिएका रंगीचंगी फूलहरूमात्र हैन, बोटबिरुवाले समेत यिनलाई साँच्चै परी बनाउन सघाएका लाग्छ। अझ बिहानीपख सूर्योदयसँगै नियाल्दा त यी परीको अनुहार यस्तो लाग्छ, जसको वर्णन गर्ने शब्द नै छैन, सायद।

चारैतिर पहाड, सल्लो, देवदार, धूपी आदिले सुसज्जित यी परी डाँफे, कस्तुरी, नौरंगी जस्ता पशुपन्छीकी पनि धनी छिन्। हरेक साउन १ गते मेला नै लाग्ने प्रचलनले पनि प्रष्ट गर्छ– रारा वास्तवमै परी हुन्, नत्र त पोखरीमा मात्र किन लाग्थ्यो होला र मेला? राराको नामाकरणले पनि यिनलाई धार्मिक आस्थासँग जोड्ने काम गरेको छ। जसमध्ये एउटा भनाइ यस्तो पनि छ– यो पोखरीमा राधा र कृष्ण पौडी खेल्ने गर्थे। त्यही भएर यसको नाम राधा दह हुन गयो। र, अपभ्रंश हुँदै हुँदै रारामा परिणत भयो।

रारा परीको यिनै विशेषताले बर्सेनि लाखौँ मानिसलाई मुगु तानिरहेको छ। तालनजिकै रहेका डाँफे र भिलेज हेरिटेजले यात्रुलाई बस्ने/खाने सुविधा दिलाइरहेका छन्। बास बस्नेगरी जानेहरू हाइकिङमा रमाउन सक्छन्। साइक्लिङ गर्दै मुमी गाउँ घुम्न सक्छन्। यहाँ दुई–तीन दिनको समय बिताउन कुनै समस्यै छैन। सजिलो र छोटो बाटो मन पराउनेका लागि नेपालगन्जबाट मुगुको ताल्चा एयरपोर्ट हुँदै जान सकिन्छ। सडक मार्गबाटै जान्छु भन्नेका लागि पनि काठमाडौँबाट तेस्रो दिनमा सहजै पुग्न सकिन्छ यी परी भेट्न।

यी परी अहिले कर्णाली क्षेत्रकै लागि यस्तो सम्भावनायुक्त बनेकी छिन्, जसले सिंगो क्षेत्रको मुहार फेर्ने हैसियत राख्छिन्। लाखौँ पर्यटक तान्ने क्षमता भएकी यिनले यो क्षेत्रको विकास निर्माणमा काँचुली फेराइदिन सक्छिन्। बाह्यमात्र हैन, आन्तरिक पर्यटकका लागि समेत भरपुर मनोरञ्जन प्रदान गर्न सक्नै यी दैवी शक्तिले परिपूर्ण परीको दर्शन सबैका लागि अहोभाग्य हुनेमा विवाद छैन। त्यसै लठ्ठिएका कहाँ हुन् र कवि मविवि शाह पनि!

प्रकाशित: १२ जेष्ठ २०७५ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App