७ वैशाख २०८१ शुक्रबार
अन्य

साहसिक खेलका मास्टर

निश्चल हावाको वेग । भोटेकोशीको सुमधुर सुसेली । त्यहीँ छ, १ सय ६६ मिटर लम्बाईको भोटेकोशी पुल । पुलको बीच भागमा चार युवा निलो टिसर्ट लगाएर उभिएका छन् । टिसर्टमा लेखिएको छ–क्रियु ।कम्मर र शरीरमा बेल्ट र डोरीले बाँधेकी एक युवती बिस्तारै पुलको छेउ आइन्, जहाँ बन्जी जम्पको हाम फाल्ने विन्दु थियो।

बन्जी जम्फ गर्न तयार युवती थिइन– प्रीतिका नन्दनी थापा । प्रितिकालाई तिनै चार युवाले केही सिकाउँदै थिए ।
प्रीतिका उभिएर पुलको एक छेउमा आइपुगिन् । बन्जी मास्टरले उनको ढाडमा बाँधिएको बेल्ट समातेर भन्दै थिए– ‘रेडी थ्रि, टु, वान, बन्जी...।’ बन्जी मास्टरले यति भनेपछि प्रीतिकाले जम्फ गरिन् । यो दृश्य हो– सिन्धुपाल्चाेकमा रहेको ‘द लास्ट रिसोर्टको।’

उनी मात्र होइन, पछिल्लो समय दोलखामा बन्जी जम्फ गर्न आउने बढेका छन् । बन्जी जम्फमा रमाउने आन्तरिक पर्यटकको जमात बढेको पर्यटन व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पछिल्लो समय हाइकिङ, स्विङ, क्यानोनिङ, बन्जी जम्फलगायत साहसिक खेलमा आन्तरिक पर्यटक पनि सहभागी हुने गरेका छन् । ती पर्यटक सार्वजनिक बिदा तथा चाडपर्वमा मात्र होइन, अन्य समयमा पनि साहसिक खेलको मज्जा लिन आउने गरेका छन् ।
बनेपाका विश्वनाथ बजगाईं (३७) क्यानोनिङका मास्टर हुन्।

सन् २००५ मा द लास्ट रिसोर्टमा सहायक म्यानेजरका रूपमा काम थालेका उनी केही समयपछि साहसिक खेलतर्फ आकर्षित भए । र, सन् २००७ मा क्यानोनिङमा काम सुरु गरेका हुन् । विभिन्न तालिमका चरणहरू पार गर्दै उनी क्यानोनिङ मास्टर बनेका हुन् ।क्यानयोनिङ हरेक महिना खेल्न सकिने उनी बताउँछन् । ‘विशेष गरेर मार्च, अप्रिल, मे, जुन महिनामा पर्यटक बढी आउँछन्,’ उनले भने, ‘क्यानोनिङमा स्वदेशीभन्दा विदेशी पर्यटकको उपस्थिति बढी छ ।’पछिल्लो समय युरोपेली देशबाट क्यानोनिङ गर्न आउने बढी छन् । त्यसबाहेक भारतबाट पनि क्यानोनिङ गर्न आउने गरेको उनी बताउँछन्।

उनका अनुसार क्यानयोनिङ मास्टरले खेलाडीलाई सुरक्षित गर्ने टिप्स दिने गर्छन् । ‘क्यानोनिङ मास्टरले खेलाडीलाई खेलबारे जानकारी दिनुका साथै सुरक्षा र मोटिभेसनबारे बताउँछन्,’ उनले भने ।विश्वनाथलाई क्यानयोनिङ गराउँदा निकै रमाइलो लाग्छ । उनी भन्छन्, ‘काम गर्दा पनि थकान महसुस हुँदैन, त्यसैले म आफ्नो कामदेखि निकै सन्तुष्ट छु् । काम गर्दा हरेक पल इन्जोय गर्छु ।’

क्यानोनिङ गर्दा धेरै सावधानी अपनाउनुपर्छ । शारीरिक र मानसिक कुरामा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् ।
पानीमा खेल्न मनपराउनेले क्यानयोनिङ बढी मन पराउँछन् । क्यानोनिङ पानीमा छहरासँगको तालमेल बनाएर खेलिन्छ।

क्यानोनिङ गर्ने खेलाडीहरूको तौल र उचाइ अनुसारको सुरक्षा कबज बनाउनुपर्ने उनी बताउँछन् । क्यानोनिङमा रमाइलो नमान्नेलाई खेलबाट निकाल्ने उनले बताए । ‘कोही क्यानोनिङ गर्नै नसक्ने अन्तिम अवस्थामा पुगेको छ भने मात्र हामी निकाल्छौं,’ उनले भने, ‘नत्र खेल्नलाई प्रोत्साहन नै दिन्छौं ।’पर्यटकहरू प्रायः दुई–तीन दिन बस्ने गरी आउने गरेको उनी बताउँछन् । पर्यटकले दिएको प्रतिक्रियाले उनलाई खुसी बनाउँछ।

विदेशी पर्यटकहरू क्यानयोनिङ गर्न मात्र होइन, अन्य साहसिक खेल खेल्न आउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘एक्लै, साथीसँग मात्र नभएर परिवार पनि लिएर आउँछन्, केही दिनअघि ९ वर्षको बच्चा लिएर नेदरल्यान्डका पर्यटक आएका थिए ।’विश्वनाथले विदेशी ट्रेनरबाट क्यानयोनिङको टेनिङ लिएका हुन् । हरेक साहसिक खेलमा प्रशिक्षकले भनेको कुरा मान्नुपर्ने र सानो कन्फ्युजन हुनासाथ प्रश्न गर्नुपर्ने उनी बताउँछन् । क्यानयोनिङ पानी र झरनामा खेलिने खेल भएकाले सजगता अपनाउनुपर्ने उनको सुझाव छ।

सिन्धुपाल्चोकका भोला श्रेष्ठ (२८) बन्जी मास्टर हुन् । उनी बन्जी मास्टर भएर काम गरेको ९ वर्ष भइसकेको छ । सुरुसुरुमा डर लागे पनि अहिले भने नशा बनेको उनी सुनाउँछन् । ‘मानिसको जीवनसँग खेल्नुपर्ने हुन्छ, निकै ध्यान र सावधानी अपनाएर काम गर्नुपर्छ,’ उनी भन्छन् ।बन्जी मास्टर हुनुभन्दा पहिला उनी शिक्षक थिए ।घर र बन्जी गर्ने रिसोर्ट नजिकै भएकाले उनले बन्जी मास्टरले गरेको काम सधैँजसो देख्थे । उनी भन्छन्, ‘त्यति माथि पुलबाट फाल हानेको देख्दा अचम्म लाग्थ्यो, यस्तो पनि के गर्यो होला जस्तो लाग्थ्यो ।’ विस्तारै उनलाई बन्जीप्रति रुचि लाग्यो । र, भोला स्कुल मास्टरबाट बन्जी मास्टर बने।

सुरुमा डर लाग्ने, धेरै मेहेनत गर्नुपरेको उनी अनुभव सुनाउँछन् । बन्जी मास्टर बन्न विभिन्न ट्रेनिङ गरेको उनी बताउँछन् ।दिनदिनै नयाँ मानिससँग भेट हुन पाउने भएकाले उनलाई यो काम रमाइलो लाग्छ । ‘हरेक दिन नयाँ जोस आउँछ, बोरिङ फिल हुँदैन । सायद, काममा रमाउने भएर होला,’ उनले हाँस्दै भने ।बन्जीमा प्रयोग गरिने विभिन्न इक्यिुपमेन्टबारे जानकारी पाएपछि काम गर्न सहज भएको उनले बताए । उनले बन्जी मास्टरको रूपमा विदेशमा पनि काम गरेका छन् । यो पेशामा सावधानीसँगै दिमाग लगाउनुपर्ने उनले बताए।

‘मानिसको जीवनसँग खेलेर उनीहरूलाई खुसी बनाउनुपर्छ,’ उनले भने, ‘सानो–सानो कुरामा ध्यान दिनुपर्छ ।’ उनका अनुसार सुरुवाती चरणमा बन्जी जम्प गर्ने विदेशी मात्रै थिए । पछिल्लो समय नेपाली युवाले पनि यसप्रति रुचि देखाएका छन् । भूकम्पपछि नेपाली युवाहरू बन्जी जम्फमा आकर्षित भएको उनी बताउँछन् । पछिल्लो समय स्वदेशभित्रै घुम्ने, नयाँ संस्कृतिबारे जानकारी लिनेको ट्रेन्ड बढेको उनको भनाइ छ ।अर्का बन्जी मास्टर हुन्, सुजन महर्जन । उनले सुरुमा बन्जी मास्टरको एसिस्टेन्टका रूपमा काम गरेका थिए । सुरुवाती चरणमा काम गर्दा डर लागे पनि पछि भने बानी परेको उनी बताउँछन् । ‘काम गर्दा थकान महसुस हुँदैन,’ उनी भन्छन्।

प्रत्येक दिन नयाँ चुनौती हुने उनी बताउँछन् । ‘प्रत्येक दिन नयाँ अनुहारसँग काम गर्नुपर्ने हुन्छ, जोस, जाँगर र ऊर्जाका साथ काम गर्दा काम बोझ लाग्दैन,’ उनले हाँस्दै सुनाए । पछिल्लो समय साहसिक खेलमा महिला पनि आउन थालेको उनले सुनाए ।उनी भन्छन्, ‘बन्जी मास्टर भएको अनुभव धेरै बटुलेको छैन, हरेक दिन नयाँ कुरा सिक्ने मौका दिएको छ, बन्जी जम्पले ।’ यसप्रति विदेशी पर्यटकको सकारात्मक प्रतिक्रिया रहेको उनले बताए ।

प्रकाशित: १२ जेष्ठ २०७५ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App