७ वैशाख २०८१ शुक्रबार
अन्य

सगरमाथा पुग्दा संसार जितेझैं भयो

मान्छे त्यतिबेला खुसी हुँदो रहेछ, जतिबेला उसलाई यसभन्दा माथि जाने ठाउँ छैन भन्ने थाहा हुन्छ। तर, यो खुसी यतिकै मिल्दो रहेनछ। महिनौं दुःख सहेर त्यो खुसी पाउँदाको क्षण भने केहीसँग तुलना गर्न सकिँदैन। गत जेठ २ गते संसारको छानो मानिने सगरमाथा चुचुरोमा पाइला टेक्दा मैले त्यस्तै अनुभूति गर्न पाए। यो मेरो लागि विशेष दिन पनि बन्यो।

विद्यालय पढ्दैदेखि स्काउटमा सक्रिय थिए। त्यतिबेला ‘स्काउट बहादुर र प्रशन्न हुन्छ’ भनेर पढेको थिएँ। स्काउटका संस्थापक लर्ड बेडेन पावलको नामबाट हिमालको नामकरण गरिएको थियो, सन् २००६ मा। त्यहीबेला सोचेको थिएँ, ‘अब हिमाल चढेर स्काउटको बहादुरी देखाउँछु।’

रसुवाको पिक चढेर फर्कदा तीन वटा दुर्घटनामा परेर बाँचेको थिएँ। खरपसमा पर्दा र खुट्टा चिप्लँदा गाइडले जोगाएका थिए। केही समयपछि माथिबाट ढुंगा खस्यो। त्यसबाट गाइड र म जोगिए। त्यसपछि लाग्यो, ‘दिन नआएसम्म मान्छे मर्दैन।’
त्यसपछि मेरो दिमागमा बिस्तारै सगरमाथा मात्रै सलबलाउन थाल्यो। मलाई जसरी पनि सगरमाथा चढ्नुपर्छ भन्ने लाग्यो। म स्काउट भएर मात्रै होइन, नयाँ अभियान लिएर सगरमाथा चुम्न चाहन्थेँ। नेपाल स्काउट र विश्व स्काउटसँगै चार सहिदलाई सगरमाथाको चुचुरोमा पुर्याउने सोच बनाएँ। राष्ट्रकवि माधवप्रसाद घिमिरे, जो नेपालको पहिलो स्काउट हुन्। डाइनमिक स्काउट क्रियुले उपलब्ध गराएको स्काउट युनिफर्म सहितको उनको तस्बिर लिएर चुचुरो चुम्न गएँ।

चढ्दै गर्दा क्याम्प वानमा हिमपहिरो आयो। हिमपहिरोले धन्न पुरेको थियो, गाइड मिङ्मादोर्जे शेर्पाले बचाए। हिमालमा यस्ता घटना भइरहँदा रहेछन्। तर, हिमाल चढ्दा मर्ने÷बाँच्नेबारे खासै चासो नहुने रहेछ। शिखरको यादले मात्रै सम्झाउने रहेछ। अहिले पनि म शिखरको यादसँग हराउने गर्छु। राष्ट्रकवि घिमिरे र चार सहिदको तस्बिर समाएर संसारको छानोमा उभिँदा संसार जितेझैं भयो। राष्ट्रकवि बिरामी भएको सुनेपछि शिखरबाटै ‘गेट विल सुन नेसनल पोइट’ भन्दै प्राथना गरेँ। मलाई सहयोग गर्ने सबै मनहरूलाई सम्झिएँ।

यो सबै गर्न गाइडको अहम भूमिका हुने रहेछ। हिमालमा शेर्पालाई भगवान किन मानिने रहेछ, बल्ल बुझियो। त्यसैले गाइड छिरिङ भोटे लामालाई त मैले ‘जीवनदाता’ मानेको छु। गाइड छिरिङले नबचाएको भए म सधैका लागि हिमालमै रहन्थे होला।

पहिले संसारको छानो कस्तो होला, त्यहाँबाट के देखिन्छ होला भन्ने जिज्ञासा थियो। अब यी जिज्ञासा मेटिएका छन्। मौसम सफा भएका बेला त्यहाँबाट ‘चाँदीको फूल’जस्ता हिमाल देखिन्छन्। त्यहाँको आनन्द अन्यत्रै कहिँ पाइँदैन।

(खिलक बुढाथोकीको कुराकानीमा आधारित)

प्रकाशित: १२ जेष्ठ २०७५ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App