६ वैशाख २०८१ बिहीबार
समाज

कहाँ छन् ‘गोरे’ ले लिएका तीन थान हतियार

काठमाडौं – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ। ‘उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन। हामीले खोजी गरिरहेका छौं’, समिति स्रोतले भन्यो, ‘हिरासतमै भएका मानिससँग छ भन्ने सूचना आएकाले अनुसन्धान गरिरहेका छौं।’

स्रोतका अनुसार गत वर्षदेखि नै उनले हतियार बोक्दै आएका थिए। विभिन्न रेस्टुरेन्टमा बस्दा उनले हतियार झिकेर टेबुलमा राखेपछि मात्रै कुराकानी सुरु गर्ने गरेको स्रोतले जनाएको छ। ३३ किलो सुनका मालिक भनिएका एमके (मोहनकुमार) अग्रवालका मानिसले कुटपिट गर्दा त्यही हतियार देखाएर उनी भागेका थिए। उनले ती हतियार भारतबाट ल्याएको समिति स्रोतको दाबी छ। गोरे पक्राउ परेपछि समितिले हतियारका विषयमा सोधखोज गरेको थियो।

 ‘हतियार कोकोसँग छन् भन्ने विषयमा अनुसन्धान जारी छ। गोरेले धेरैपटक हतियार देखाएर आतंक मच्चाएका थिए भन्ने रहस्य खुलिसकेकाले ती हतियार कहाँ छन् भन्ने हाम्रो खोजीको विषय हो’, समिति स्रोतले भन्यो। ३३ किलो सुन गायब भएपछि गोरेले थाई एयरलाइन्सका सिनियर इन्जिनियर सानु बनलाई त्यही हतियार देखाएर पटकपटक मानसिक यातना दिने गरेका थिए। त्यही मानसिक यातनाका कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका छ। उनको नाममा बैंकखाता पनि नभएको समिति स्रोतको दाबी छ। ‘उनको नाममा रहेको सम्पत्ति र जग्गाजमिनका विषयमा समितिले छानबिन गरिरहेको छ’, समिति स्रोतले भन्यो।

एसएसपी पक्राउका लागि डिफ्युजनको तयारी
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फारार सूचीमा रहेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री देशभित्र नरहेको प्रहरीको निकर्ष छ। उच्चस्तरीय छानबिन समितिले पक्राउ गर्न खोजेपछि कार्य विभागमा कार्यरत खत्री त्यसअघि नै करिब २५ दिनको बिदा स्वीकृत गरेर बसेका थिए । समितिले पक्राउ गर्न खोजेपछि उनी फरार भए। उनी हालसम्म कहाँ छन् भन्नेबारे कसैलाई जानकारी नभए पनि प्रहरीले भने देशबाहिर रहेको आशंकामा डिफ्युजन नोटिस जारी गर्न लागेको छ । डिफ्युजन नोटिस जारी गर्न फरार अभियुक्त देशबाहिर रहेको हुनुपर्ने प्रावधान छ । देशबाहिर रहेका र फरार अभियुक्तको हकमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँग सहयोग माग्न सक्नेछ।

मोरङ जिल्ला अदालतमा एसएसपी खत्रीसहित फरार अन्य अभियुक्तविरुद्ध संगठित अपराध ऐनअन्तर्गत मुद्दा दायर भइसकेको छ । पक्राउ परेका ३२ जनामध्ये ३० जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् भने एसएसपी खत्री, एमके अग्रवाललगायत फरार छन् । गोरे पक्राउलगत्तै प्रहरीले एसएसपी खत्रीको गुल्मीस्थित उनको पुरानो घरमा समेत प्रहरी पुगेको थियो। ‘नजिकका आफन्तसँग पनि सोधपुछ गरिरहेका छाैं। उनी कहाँ छन् भन्ने कुनै जानकारी छैन’, समिति स्रोतले भन्यो। प्रहरी प्रधान कार्यालयले खत्री बहालवाला नै भएका कारण खोजीका लागि सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिसकेको छ। ‘बहालवाला प्रहरीको हकमा पनि अदालतको निर्णयअनुसार उनी फरार सूचीमा रहेपछि हामीले सर्कुलर पठाएका छौं’, प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले भने। उनका अनुसार खत्री देशबाहिर रहेको आशंकामा खोजी कार्यका लागि इन्टरपोलको सहयोग माग्न लागिएको छ। त्यसका लागि नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिसको तयारी गरिरहेको छ। ‘डिफ्युजन नोटिस जारी गरेपछि उनलाई पक्राउ गर्न सहज हुन्छ। विश्वका १९२ देशमा जहाँ रहे पनि त्यहाँको प्रहरीले हामीलाई सूचना दिन्छ’, क्षेत्रीले भने।

३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा एसएसपी खत्रीको संलग्नता देखिएपछि समितिले उनलाई समितिसमक्ष उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको थियो। एसएसपी खत्रीले त्रिभुवन विमानस्थल तथा अन्य कर्मचारी सेटिङका लागि गोरेसँग करोडभन्दा धेरै रकम लिएको छानबिन समितिको दाबी छ। यसअघि २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको साढे ३३ किलो सुनमा पक्राउ परेका थिए। उनको संग्लनता देखिएको भन्दै सिआइबी टोलीले उनलाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा बुझाएको थियो। उनलाई पाटन उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको थियो। न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले एसएसपी खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरी प्रधान कार्यालयको कार्य विभागमा हाजिर गराइएको थियो। त्यतिबेला सिआइबीले साढे ३३ किलो सुन प्रकरणमा एसएसपी खत्री पक्राउ परे पनि गोरेलाई उम्काइएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७५ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App