coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समृद्धिका लागि राष्ट्रिय सपना आवश्यक

काठमाडौ – नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रम मुलुकको शासकीय प्रणालीको व्यवस्थापन पक्षमा कमजोर रहेको बताएका छन्।

संघीय संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले देश संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेशहरूलाई वित्तीय रूपमा बलियो बनाउँदै प्रादेशिक विकासमा ध्यान दिन जरूरी भएको बताए।

‘प्रदेशहरूलाई एकातर्फ छाडेर नेपाल कसरी समृद्ध बन्न सक्छ ? यो प्रश्न प्रदेशकै मुख्यमन्त्रीहरूले दोहो-याइरहेका छन्,’ सांसद चौधरीले भने, ‘संघीय प्रणालीलाई सफल बनाउने चुनौतीहरु साना छैनन्। यहीँनेर यो नीति तथा कार्यक्रम गम्भीररुपले चुकेको म पाउँछु।’

अध्यक्ष चौधरीले सातै प्रदेशको राजस्व र खर्च सम्बन्धी विगत एक दशकको तथ्यांक प्रस्तुत गर्दै असन्तुलित विकासको तस्बिर सार्वजनिक गरे। उनले नीति तथा कार्यक्रममा उपेक्षा गरिए पनि बजेटमार्फत् यस विषयलाई सम्बोधन गरिने विश्वास व्यक्त गरे।

सांसद चौधरीले आर्थिक समृद्धिको सपनाबारे छलफल गरिरहँदा २०४८ पछि नेपाली अर्थतन्त्रमा गरिएका सुधारलाई बिर्सिन नसकिने बताए । ‘त्यतिबेला लिइएको खुला बजार अर्थतन्त्र, उदारीकरण र निजी क्षेत्रप्रतिको भरोसाका कारण नेपाली अर्थतन्त्र दशकौं लामो राजनीतिक अराजकताका बावजुद पनि असफल हुनबाट जोगिएको हो । आज हामी आर्थिक समृद्धिको जुन सपना देखिरहेका छौँ त्यो त्यतिबेलाकै आर्थिक सुधारको जगमा अडिएको छ,’ चौधरीले भने,  ‘यसका आधारमा आज २५ वर्षपछि म निर्धक्कका साथ के भन्न सक्छु भने एक पटकको असल नीतिले त्यो देशको आर्थिक नीतिलाई दशकौं दशक सकारात्मक बाटोमा हिँडाउन सम्भव हुने रहेछ। अहिले हामीले अगाडि बढाउन चाहिरहेको आर्थिक समृद्धिको मार्गदर्शक सिद्धान्त पनि यस्तै हुनुपर्छ । यदि आर्थिक नीतिलाई गलत बाटोतर्फ धकेलियो भने त्यसको नकारात्मक परिणाम सच्याउन पनि दशकौं दशक लाग्नेछ।’

२०४८ मा लिएको नीतिका कारण शिक्षा, स्वास्थ्य, जलविद्युत्÷उर्जा, बैंक तथा वित्तीय संस्था, हवाईस्थल यातायात र रियल स्टेट गरी ६ वटा क्षेत्रमा मात्रै निजी क्षेत्रबाट ३३ खर्ब लगानी भएको र कुल गार्हस्थ उत्पादनमा ३२ प्रतिशतको योगदान पुगेको तथ्यांक पनि उनले प्रस्तुत गरे । ‘२०४८ मा मुलुकको अर्थतन्त्र ६७ प्रतिशत कृषिमा आधारित थियो । अहिले घटेर २७ प्रतिशतमा आएको छ र त्यसको ठाउँ सेवा क्षेत्रको विस्तारले लिएको छ । यो सकारात्मक परिवर्तन मूलतः निजी क्षेत्रको लगानीमार्पmत् नै सम्भव भएको हो।’ सांसद चौधरीले भने, ‘त्यो लगानी २०४८ देखि २०५१ बीचमा सुरु गरिएका उदार आर्थिक नीतिहरुले नै सम्भव गराएको हो।’

आर्थिक समृद्धिको सपना देखेर मात्रै नहुने सपनालाई निरन्तर पछ्याउन सक्नुपर्ने भन्दै सांसद चौधरीले भने, राष्ट्रको आर्थिक समृद्धिको सपना सरकार पार्न यसलाई हामी सबैको एउटै राष्ट्रिय साझा सपना बनाउन सक्नुपर्छ।’

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App