७ वैशाख २०८१ शुक्रबार
अर्थ

चिया निकासीमा भारतको तगारो

सूर्याेदय नगरपालिकाको गोर्खा टी स्टेटमा तयारी चिया हेर्दै विदेशी चिया व्यापारी। तस्बिर : भीम/नागरिक

इलाम – अनेक बहाना गर्दै नेपाली कृषि उपज निर्यातमा अत्तो थापिरहेको भारतले यतिबेला तयारी चियालाई मुख्य निसाना बनाएको छ।

भारतमात्र नभई, त्यही बाटो भएर तेस्रो मुलुकसम्म पुग्ने नेपाली तयारी चियामा एकपछि अर्को प्रमाण र ग्यारेन्टीपत्र माग्दै भारतीय भन्सारले निकासी अवरोध गरेको हो। पूर्वी नेपालको सीमावर्ती पानीट्यांकीस्थित भारतीय कस्टमले तेस्रो मुलुक पठाइने चियाका लागि भारतीय अदालतको बन्ड पेपर (ग्यारेन्टीपत्र) समेत माग्न थालेको छ। उद्योगीहरूका अनुसार ‘नेपालबाट निकासी गर्न लागिएको चिया भारतमा बिक्री नगर्ने’ सर्तसहितको ग्यारेन्टीपत्र भारतीय कोटले दिएपछि मात्रै कस्टमले चिया छिराउने अनुमति दिने गरेको छ। चिया उद्योगी उदय चापागाईंले एकपछि अर्काे प्रमाण मागेर नेपाली चिया निकासीमा भारतीय पक्षले अवरोध जारी राखेको बताए।

‘सुरुमा कोलकातास्थित सेन्ट्रल फुड ल्याब (सिएफएल) को रिपोर्टमात्र मागिएको थियो, भारतीय कस्टमका कर्मचारीले आफैं नेपाली चियाको नमुना कोलकाता पठाएर यो रिपोर्ट आएपछि केही ट्रक छाडियो पनि,’ उनले भने, ‘पुनः भारतीय कोटको ग्यारेन्टीपत्र मागेर अर्काे लफडा सिर्जना गरिएको छ।’

भारतीय कस्टमले पछिल्लोपटक मागेको अदालती कागज सिलिगुडीस्थित अदालतबाट ल्याउनुपर्ने भएको उनले बताए। ‘मैले आफ्नो चिया निकासीका लागि यो पेपर नल्याई भएन,’ उनले भने, ‘एकपछि अर्काे गर्दै यसरी झन्झट दिनु नेपाली चिया निकासीमा राम्रो संकेत होइन ।’ उद्योगीले सिलिगुडी अदालतमा पुगेर निवेदन दिएपछि अदालतले ग्यारेन्टीपत्र दिने र त्यो पत्र कस्टममा बुझाएपछि मात्र आफ्नो चिया निकासी गर्न पाउने झन्झटिलो प्रावधान भारतले लागू गरेको हो।

यसअघि गत वैशाख तेस्रो साता भारतीय कस्टमले पानीट्यांकी पुगेको एक कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै सातासम्म रोकेर राखेको थियो। उसले सिएफएल परीक्षण गराएर मात्र नेपाली चिया भारत आयात गर्न दिने अडान राखेको थियो । भारतीय कस्टमले मागेको परीक्षण रिपोर्ट आएपछि केही ट्रक चिया निकासी पनि भएको थियो। तर, चिया निकासी गर्दैपिच्छे अनेक बहानामा कागजात खोज्न थालेपछि आफूहरू हैरान भएको उद्योगी बताउँछन्।

कस्टमले अहिले नेपालबाट तयारी चिया लिएर त्यहाँ पुगेका प्रत्येक गाडीबाट आफैं नमुना लिएर कोलकातामा परीक्षण गराउँदैछ । परीक्षणको रिपोर्ट आएपछि पनि अदालती बन्ड पेपेर हेरेर मात्रै ट्रक छिर्न दिने गरेको छ । यसअघिसम्म एकपटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो।

नेपालबाट एउटै ट्रकमा धेरैखाले चिया निकासी हुने गरेको भन्दै भारतले एउटा नमुनाले ६ महिनासम्म निकासी गर्न दिने व्यवस्था हटाएको कस्टमका कर्मचारीले आफूहरूलाई बताएको उद्योगीको भनाइ छ । तर, चियाको गुणस्तर नचिन्नेहरूले भ्रम फैलाउन मात्र यस्तो अफवाह रचेको उद्योगी बताउँछन् । ‘एउटा गुणस्तरको चिया प्रशोधन भइसकेपछि प्याकिङ गर्ने बेला माथिदेखि तलसम्म ४–५ वटा चाल्नो राखेर चालिन्छ, सबैभन्दा माथिल्लो चाल्नोमा खस्रो, त्योभन्दा तल्लो चाल्नोमा अलि मसिनो गर्दै अन्तिमको चाल्नोमा सबैभन्दा मसिनो चिया गे्रडिङ गरिन्छ,’ उद्योगी चापागाईंले भने, ‘यसरी चाल्दा चियाको चियाको गुणस्तर होइन, आकार मात्रै परिवर्तन हुन्छ । चिया नचिनेकाहरूले चाहिँ यसैलाई बेग्लाबेग्लै गुणस्तरको भन्ने हल्ला फैलाएपछि यो समस्या निम्तिएको हो।’

भारत र तेस्रो मुलुक पठाइने तयारी चियाका गाडी यसरी धमाधम रोकिएपछि आफूहरू समस्यामा परेको अर्का उद्योगी सूर्याेदय नगरपालिका–८ का भूपेन्द्र कट्टेलले बताए । द माउन्टेन टी गार्डेनका सञ्चालक कट्टेलले आफ्नो १० हजार किलो (२ गाडी) चिया निकै दिनदेखि भारतीय कस्टममै रोकिएको बताए । ‘विभिन्न कागजात मागेर चिया निकासी गर्न दिइएको छैन,’ उनले भने, ‘यस्तो कागजातको झन्झटिलो व्यवस्था खुकुलो गर्न सरकारले प्रावधान मिलाइदिनुपर्ने हो, सबै उद्योगीले भारतबाट कागजात ल्याएर आफ्नो उत्पादन बेच्न सम्भव हुँदैन ।’ उनले अहिले तयारी चिया भन्सारमा कम्तीमा ७–१० दिन कुरेर मात्र भारत छिर्न पाइरहेकाले चिया बिग्रिने सम्भावना बढेको बताए । ‘चिया बोकेका ट्रकलाई प्रत्येक दिनको भाडा १४ हजार रुपैयाँ बुझाउनुपर्छ,’ उनले भने, ‘ट्रक भन्सारमा रोकेर कागजात खोज्न धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले पहल गरोस् ।’ उनले भारतको अहिले गरिएकै व्यवस्था नेपाली उद्योगीले मान्नुपर्ने भए चिया भण्डारण र परीक्षण प्रयोगशाला पनि भन्सार परिसरमै स्थापना गर्नुपर्ने पनि बताए।

इलाम र झापाका विभिन्न चिया प्रशोधन कारखानाको चिया कोलकाता र तेस्रो मुलुकसम्म पु¥याउन पानीट्यांकीको बाटो प्रयोग हुने गरेको छ । भारतले यसअघि पनि विभिन्न समयमा नेपाली अदुवा, अलैंचीलगायतका नगदेबालीमा अघोषित प्रतिबन्ध गरेको थियो । पछिल्लो समय नेपाली तयारी चियाको लोगो लागू हुनु र तेस्रो मुलुकमा नेपाली चियाको माग बढेपछि निर्यातमा चाहिँ अवरोध हुनुले आफूहरूलाई निरास बनाएको व्यवसायी बताउँछन्।

‘नेपाल अहिले विश्वको सबैभन्दा बढी चिया निर्यात गर्ने देश भइसकेको छ,’ हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) का पूर्वअध्यक्षसमेत रहेका उद्योगी चापागाईंले भने, ‘नेपाली अर्गानिक चियाको बजार सम्भावना जर्मनीपछि चीनतिर बढ्दै गरेका बेला निकासी अवरोध हुनुलाई अर्थपूर्ण रूपमा पनि लिनुपर्छ ।’ उनले भारत दार्जिलिङका ८७ बगानमा उत्पादन भइरहेको ८५ लाख किलो तयारी चियामध्ये आधाभन्दा बढी भारतमै खपत हुने गरेको बताए ।

नेपालमा चाहिँ बर्सेनि ५५ लाख किलो तयारी अर्थाेडक्स चिया उत्पादन हुँदा आन्तरिक खपत ३ लाख किलोभन्दा कम छ । बाँकी सबै चिया भारत र तेस्रो मुलुक निर्यात हुने गरेको छ । ‘चीनमा पनि आन्तरिक खपत नै बढी हुने भएकाले नेपाल विश्वमा सबैभन्दा बढी चिया निर्यात गर्ने देश हुँदैछ,’ उनले थपे, ‘तर, हाम्रो चिया निर्यातको बाटोमा गम्भीरखाले बाधा–अवरोध आउन थालेकाले उद्योगीलाई गम्भीर बनाएको छ ।’ तेस्रो मुलुक पुग्ने नेपाली चिया पनि भारतकै बाटो भएर जाने भएकाले भारतीय कस्टमले चिया रोक्नेबित्तिकै यहाँको उत्पादनको बजार अन्योल हुने देखिएको छ । चियामा भएको अवरोधबारे उद्योगीले सरकारलाई पनि जानकारी गराइसकेका छन्।

इलाममा सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले चिया निकासीमा देखिएको अवरोधबारे सरकारलाई जानकारी गराइसकेको बताए । ‘हामीले चिया निकासीमा अवरोध भयो भनेर धेरैपटक वाणिज्य र परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘सरकारले कूटनीतिक पहल गरी निकासीको दीर्घकालीन समाधान खोज्ने आशा छ।’

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App