१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करको दायरा वढाउँंदै सूर्यविनायक

जिल्लाकै मुख्य बजारको रुपमा उदाउँदो सूर्यविनायक क्षेत्र । तस्बिर : नागरिक

भक्तपुर - नयाँ नगरपालिकाको रुपमा रहेको भक्तपुरको सूर्यविनायक नगरपालिकाले आन्तरिक राजस्व संकलनमा उलेख्य प्रगति गरेको छ । राजस्व संकलनको कुल लक्ष्य आठ करोड ४८ लाख ५० हजार रहेकोमा हालसम्म सात करोड १५ लाख रुपैयाँ संकलन भइसगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले आर्थिक वर्षको अन्तसम्ममा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन हुने निश्चित भएको जनाए । ‘यही हिसाबले राजस्व संकलन हुने हो भने लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन हुने निश्चित छ,’ प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले भने, ‘सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि बहाली भएपछि भएका केही प्रमुख उपलब्धिहरुमध्ये यो पनि एक हो ।’

तथापि स्रोत साधनको अभावमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको उनले जनाए । सूर्यविनायक नगरपालिकामा २०७४ जेठ १० गते निर्वाचित जनप्रतिनिधिले पद बहाली गरेको स्मरण गर्दै उनले डेढ दशकदेखि रिक्त स्थानीय तहहरुमा संविधानप्रदत अधिकार कार्यान्वयन गर्न स्थानीय सरकारका रुपमा निर्वाचित भएसँगै आमनगरबासीको समृद्धिको अपेक्षा बढिरहे पनि स्रोत साधनको अभावमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको जनाए।

उनले राजस्व वृद्धिका लागि नगरपालिकाले पसल व्यवसाय दर्ता अभियान सञ्चालन गरेको जनाए । यसका लागि सबै वडामा पसल व्यवसाय दर्ता घुम्ती सेवा सञ्चालन गरेको जानकारी उनले गराए । यसका लागि निर्वाचित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी परिचालित भएको उनले सुनाए । नगरपालिकाले राखेको तथ्यांकअनुसार अभियानपछि एक हजार थप पसल व्यवसाय राजस्वको दायरमा ल्याउन सफल भएका छन् ।

नगरपालिकाले एकीकृत सम्पति करको सुरुवात वडागत रुपमा भएको जनाएको छ । साथै जग्गा प्लानिङका कार्यबापत प्रतिआना १० हजारका दरले निर्णय गरी कार्यान्वयन गरिएको जनाइएको छ । साथै भूकम्पपीडितलाई प्रक्रिया पूरा गरी पेस भएका नक्सा पासबापत कुनै शुुल्क नलाग्ने व्यवस्था गरिएको जनाइएको छ।

नगरपालिकाले जनप्रतिनिधिहरु पदबहाली भएको एक वर्ष पुगेको अवसरमा भए–गरेका १७ बुँदे अभियान तथा उल्लेखनीय कार्यहरु पनि सार्वजनिक गरेको छ । त्यसमा आवश्यक ऐन, नियमावली एवं निर्देशिका बनाएको, आन्तरिक राजस्व, शिक्षा क्षेत्र, भौतिक पूर्वाधार निर्माण सुधार, नगर प्रोफाइल निर्माण कार्य प्रारम्भ, सूचना प्रविधि, स्वास्थ्य सुधारलगायत छन् । भक्तपुरमा चारवटा नगरपालिका रहेका छन् । तीमध्ये भक्तपुर र मध्यपुर थिमी पुराना र सूर्यविनायक र चाँगुनारायण नयाँ नगरपालिकाका रुपमा रहेका छन् ।

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App